सरकार शटडाउन समाप्त
प्रकाशित मिति : माघ १२, २०७५ शनिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन साताका लागि सरकार शटडाउन अन्त्य गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् । संसदका दुबै सदनबाट पारित उक्त विधयेकमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि सरकार शटडाउन अन्त्य भएको छ । अब फेबु्रअरी १५ सम्मका लागि सरकार शटडाउन नहुने भएको छ ।
विधेयकमा राष्ट्रपति ट्रम्पले पर्खाल निर्माणका लागि माग गर्दै आएको रकम भने समावेश छैन । तर फरबरी १५ सम्म सिमानामा पर्खाल लगाउने विषय समावेश गरेर सहमति कायम नभए फरबरी १५ पछि पुन सरकार शटडाउन हुनसक्ने ट्रम्पले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले सिमानामा पर्खाल निर्माणका लागि ५ दशमवल ७ बिलियन डलर नछुट्याएसम्म कुनै पनि विधयेकमा हस्ताक्षर नगर्ने अडान लिएका थिए । तर ३५ दिनसम्म पनि सरकार शटडाउन जारी भएपछि ट्रम्पले त्यसको अन्त्यका लागि सहमति जनाएका हुन् ।
सरकार शटडाउनको अन्त्यसँगै विदामा रहेका सबै संघीय कर्मचारीहरु काममा फर्कने भएका छन् । सरकार शटडाउनका कारण वेतलवी बनेका बेलाको समेत तलब उपलब्ध गराउने राष्ट्रपति ट्रम्पले आश्वासन दिएका छन् ।






