बेलायती प्रधानमन्त्रीको ब्रेक्जिट प्रस्ताव भारी मतले अस्वीकृत, प्रधानमन्त्री र बेलायतको भविश्य अन्यौलमा
प्रकाशित मिति : माघ १, २०७५ मंगलबार
युरोपियन युनियनबाट बाहिरिने ब्रेक्जिट सम्झौता प्रस्ताव बेलायती संसदबाट अस्वीकृत भएको छ । प्रधानमन्त्री टरिजा मेको प्रस्तावका विपक्षमा ४३२ मत खसेको छ भने पक्षमा जम्मा २ सय २ मतमात्र खसेको छ ।
२ सय ३० मतको भारी अन्तरले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत भएको छ । जसलाई बेलायती राजनीतिमा प्रधानमन्त्री टरिजा मेको भयानक पराजयका रुपमा हेरिएको छ । बेलायतको इतिहासमा नै सरकारका तर्फबाट ल्याएको प्रस्ताव यति ठूलो भारी मतान्तरले अस्वीकृत भएको यो पहिलो पटक हो ।
यस अगाडि सन् १९२४ मा सरकारी प्रस्ताव १६६ मतान्तरले अस्वीकृत भएको थियो । रोचक कुरा त के छ भने सत्तारुढ कन्जरभेटिभ पार्टीका १ सय १८ जनाले प्रधानमन्त्री मेको प्रस्ताव विरुद्ध मतदान गरेका छन् । जसलाई एउटा ठूलो बिद्रोहका रुपमा लिइएको छ ।
लेबर पार्टीका नेता जेरेमी कोर्बेनले प्रधानमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव समेत दर्ता गराएका छन् । प्रस्तावको सुनुवाई बुधबार हुनेछ । जसका कारण आम चुनावको समेत घोषणा हुनसक्ने जनाइएको छ ।






