अष्ट्रेलियामा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित, तापक्रम ४५ डिग्रीभन्दा माथि


प्रकाशित मिति : १ माघ २०७५, मंगलबार

अष्ट्रेलियामा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । अष्ट्रेलियाका केही क्षेत्रहरूमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ ।

न्यू साउथ वेल्स, साउथ अष्ट्रेलिया, पश्चिम अष्ट्रेलिया, भिक्टोरिया तथा तास्मानिया राज्यका केही क्षेत्रहरूमा केहीदिन तापक्रम अत्यधिक हुने यहाँस्थित तापक्रम मापन केन्द्रले पूर्वानुमान गरेको छ।

तापक्रम वृद्धिलाई लिएर यहाँका वातावरणविद्हरूले चिन्ता व्यक्त गरेका छन्। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले यो चिन्ताजनक इकोलोजिकल अवस्था भएको बताएका छन्।

अष्ट्रेलिया हरेक वर्ष प्रकृतिको फरक फरक समस्यामा पर्ने गरेको छ। हरेक वर्ष यहाँ बाढी, सुख्खा तथा आगोले समस्या सृजना गर्ने गरेको छ। विभिन्न राज्यहरूमा गर्मीको समयमा हरेक वर्ष आगलागीका घटनाहरू हुने गरेका छन्। आगलागीका कारण लाखौँ डलरको क्षति हुने गरेको छ। बाढीले पनि धेरै क्षति हुने गरेको छ। एकवर्षअघि मात्र सुख्खाका कारण सरकारले केही राज्यहरूमा सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्दै दसौँ लाख डलरको सहयोग दिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच अत्यधिक गर्मीका कारण न्यू साउथ वेल्स राज्यमा लाखौँ माछाहरू मरेका छन् । तापक्रम ४५ डिग्रीभन्दा माथि पुगेपछि न्यू साउथ वेल्सको मेनिन्डिमा १० लाखबढी माछाहरू मृत भेटिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

अत्यधिक गर्मीकै कारण यो समस्या अझ बढ्न सक्ने अष्ट्रेलियाका कृषिमन्त्री डेभिड लिटल प्राउडले बताएका छन्। लाखौँको सङ्ख्यामा माछाहरू मरेपछि सरकारले ५० लाख डलर (करिब ४० करोड रुपैयाँ) सहयोगको घोषणा गरेको छ। जुन मृत माछाहरू सफा गर्न र माछाहरूलाई पुनस्थापना गर्न प्रयोग गरिने बताइएको छ।

स्थानीय बासिन्दाहरूले मृत माछाहरू तत्काल नहटाइए यो समस्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com