जापानबाट नेपाल जाँदै हुनुहुन्छ ? के सामान लान पाइँन्छ, के पाइँदैन ?


प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार

जापानबाट नेपाल जाँदै हुनुहुन्छ ? फर्किँदा विगतको जस्तै टन्नै सामान लैजाने योजना छ भने अलि बिचार पुर्याउनुपर्ने भएको छ है । पछिल्ला दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भन्सारमा सामान जाँच कडा बनाएको खबर छ ।

तुलनात्मक रुपमा विदेशबाट ठूलो परिमाणमा रक्सी लैजाने क्रमलाई निरुत्साहित गर्न भन्सार जाँचमा कडाइ गरिएको विमानस्थल भन्सारले जानकारी दिएको छ । सामाजिक संजाल फेसबुकमा सेयर गरिएको एउटा तस्विरमा पनि विमानस्थलको आवागमन चेकजाँच कक्षमा रक्सिका प्याकहरु निकालेर राखिएको देख्न सकिन्छ ।

(विशेषगरि रक्सिमा कडाई)

सरकारको झिटिगुन्टा आदेशअनुसार मात्रै सामान लैजान र झिटीगुन्टा आदेशमा तोकिएको भन्दा बढी सामान ल्याए सीधै जफत गर्न थालिएको बताइएको छ ।

सरकारले विदेशबाट फर्किनेहरुले ल्याउने विभिन्न वस्तुमा भन्सार लाग्ने ब्यवस्था गरेको पनि छ । कतिपय सामान लैजानै पाइँदैन भने केही सामान भन्सार नतिरी पनि लैजान पाइन्छ । कतिपयको भन्सार तिर्नुपर्छ । त्यसैले एयरपोर्टमा गएर झन्झट ब्यहोर्नुभन्दा पहिले जानकारी लिइ सोहीअनुसारको सामान बोकेर जानुभयो भने समस्यामा पर्न वा सामान जफत वा बढि पैसा तिर्नुपर्ने वाध्यता हट्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्ला दिनमा परिमाण मिचेर रक्सी र अरु सामान ल्याउने क्रम बढ्दै गएपछि जफत गर्न सुरु गरिएको विमानस्थल श्रोतले जानकारी दिएको छ । ‘विदेशबाट घर जाँदा सामान लिएर फर्किने वा लगिदिने मन त सबैलाई हुन्छ नै कानुनअनुसार लगियो भने अनावश्यक झमेलाबाट बँचिन्छ ।

जापानबाट फर्किनेहरुमध्ये कतिले टिभी, मोबाइल, गहना लगायतका सामग्री लैजाने गर्दछन् । तोकिएको भन्दा बढी सामान लगेको खण्डमा सामान सीधै जफत हुने वा महंगो भन्सार तिर्नुपर्ने बाध्यता अबका दिनमा हुनसक्छ ।

के–केमा भन्सार लाग्दैन ?

विदेशबाट प्रायगरि महंगा र ब्राण्डेड रक्सी लैजाने प्रचलन छ । तर, धेरै परिमाणमा रक्सी बोक्नुभयो भने समस्या हुनेछ । विदेशबाट बढिमा १ लिटर मात्रै रक्सी लैजान पाइने नियम छ ।

यस्तै ल्यापटप–कम्प्युटर वा ट्यावलेट, घडी, क्यामेरा, भिडियो क्यामेरा, सेलुलर–मोबाइल फोन र पेन ड्राइभ १–१ थान लैजाँदा पूर्ण भन्सार छुट हुन्छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १–१ वटा लैजाँदा पनि कुनै भन्सार तिर्नुपर्दैन ।

वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन विना भन्सार शुल्क लैजान पाउँछन् । तर, अरु प्रयोजनले विदेशमा गएका र १ वर्ष नबिताएका हरुलाई भने यो सुविधा उपलब्ध छैन । यसको मतलब जापानमा घुम्न आएर फर्कनेहरुले यो सुविधा प्रयोग गर्न सक्नेछन्

नियमानुसार विदेशमा काम गरेर फर्किएकाहरुलाई १ थानसम्म नयाँ मोबाइल लैजान दिइन्छ । यसमा ब्यवहारिकता हेरेर खुकुलो गरिएको पाइन्छ । विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका आफ्नो पेशासँग सम्वन्धित सामानमा पनि भन्सार लाग्दैन ।

डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सामाग्री, संगीत क्षेत्रमा लागेकाहरुले गितार, हार्मोनियम लगायतका बाजा १–१ थान लैजाँदा भन्सार तिर्नुपर्दैन ।

निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना व्यक्तिगत प्रयोजनका सामग्री लैजान पनि भन्सार लाग्दैन । तर, तिनै सामानहरु ठूलो परिमाणमा भने लैजान पाइँदैन ।

औषधि उपचारका लागि जापान आएर फर्किएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि लैजाने सामग्रीमा पनि भन्सार छुट छ । सात किलोग्रामसम्म खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन ।

के–केमा भन्सार  तिर्नुपर्छ ?

विदेशबाट लगिने केही सामग्रीमा एकैपटक ४० प्रतिशतसम्म समदर भन्सार तिर्नपर्ने व्यवस्था छ । म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पंखा र रेडियो र १–१ थान लैजान सकिन्छ । तर, यसमा सरदरमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ । ३२ इन्चभन्दा ठूलो टिभी लगेमा इन्चअनुसार भन्सार महशुल तिर्नुपर्छ । तर, एक जना व्यक्तिले एउटाभन्दा बढी टिभी भन्सार तिरेरै पनि लैजान्छु भन्दा लैजान पाइँदैन ।

१० किलोग्रामसम्म खाद्य सामग्री लैजान पाइन्छ तर, यसमा तोकिएको भन्सार भने तिर्नुपर्छ । १५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका सामान पनि तोकिएको ४० प्रतिशतसम्म भन्सार तिरेर विमानस्थलबाटै लैजान सकिन्छ । घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाई मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २–२ थानसम्म लगेमा भन्सार तिर्नुपर्छ ।

व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले दक्षता वृद्धिका लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २–२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर लैजान सक्छन् ।

चुरोट दुई सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म पनि समदरमा ४० प्रतिशत भन्सार लाग्छ ।

सुनको व्यवस्था के छ त ?

विदेशमा काम गरेर फर्किने नेपाली कामदारले १०० ग्रामसम्म काँचो सुन लैजान पाउने नियम छ । पहिले केही समय काँचो सुन नै लैजान नपाउने नियम पनि थियो । २०७५ जेष्ठ १५ देखि संसोधित निजी गुन्टा, झिटी, भारी मा भएको थप २०७५ येन लागू भएपश्चात १०० ग्रामसम्म काँचो सुन लैजान पाउने तर त्यसका लागि कर भने तिर्नुपर्ने व्यवस्था ल्याइएको हो ।

५० ग्रामसम्म सुन लैजाँदा एक ग्रामको ५२० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार १० ग्रामको ५२ सय र ५० ग्रामको २६ हजार भन्सार लाग्छ ।

५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५० ग्रामबाट बढेर १० ग्राम बढी सुन लगेमा थप ६२ सय र ५० ग्राम लगेमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्छ ।

१०० ग्राम सुन लैजाने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ । सय ग्रामभन्दा बढी सुन लगे त्यो जफत हुन्छ । ठूलो परिमाणमा सुनको गहना लगाएर आउँदा पनि जफत गर्नसक्ने नियम छ।

त्यस्तै कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई लैजाने वा लैजाने प्रयत्न गरेमा त्यस्तो सामान जफत गरी प्रचलित कानून बमोजिम कारवाही गर्ने नियम छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com