जापान रोजगारी खुलेको होइनः वैदेशिक रोजगार विभाग


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

सरकारले जापानमा नेपाली कामदार पठाउने विषयमा कुनै औपचारिक प्रक्रिया सुरु नभएको स्पस्ट पारेको छ। वैदेशिक रोजगार आवद्ध केही संस्थाहरुले जापान रोजगारीका लागि श्रम अनुमति दिनसमेत थालेको विज्ञापन प्रकाशन गरेपछि वैदेशिक रोजगार विभागले यस्तो जानकारी दिएको हो।

विभागले पछिल्लो समय जापानले नेपाली कामदार लैजान चर्चासँगै वैदेशिक रोजगार सञ्चालनका लागि अनुमति पाएका संस्थाहरुबाटै जापानमा श्रम अनुमति खुलेको भन्दै विज्ञापन गरेकोप्रति आफ्ना ध्यानाकर्षण भएको समेत जनाएको छ ।

‘नेपालबाट जापानमा वैदेशिक रोजगारमा कामदारहरु पठाउने विषयमा हालसम्म नेपाल सरकारको कुनै पनि निर्णय भइ नसकेको र यस विषयको निर्णय पारदर्शि नै हुने हुँदा जापान पठाउने भनि संस्थागत-व्यक्तिगत-कम्पनीबाट गरिएका सबै क्रियाकलापहरु कानुन विपरीत देखिन आएकाले तत्काल यस्ता गतिविधिहरु नगर्न र नगराउन सूचित गरिन्छ’, विभागका निर्देशक तथा सूचना अधिकारी भोलानाथ गुरागाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विभागले यस्ता क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दे नरोकेमा वैदेशिक रोजगार ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ । सरकारले पछिल्लो समय सरकारी स्तरमा श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छलफल र संवाद मात्र गरिरहेको भन्दै विभागले युवालाई हल्लाको पछि नलाग्न आग्रह गरेको हो । सरकारले यस विषयमा केही आधिकारिक निर्णय नगरेको पनि विभागको भनाइ छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com