सन्दर्भ ११ सेप्टेम्बर : ‘७३ सहकर्मीले ज्यान गुमाए, म यसरी बाँचें’– शैलेश श्रेष्ठ
प्रकाशित मिति : भाद्र २६, २०७५ मंगलबार
म त्यतीबेला जुम्ल्याहा भवनको १०६ र १०७ औं तलामा काम गर्थें । त्यहाँ रहेको विन्डोज अन द वल्र्ड रेष्टुरेन्टमा थियो मेरो जागिर । म सधै विहान ६ बजेदेखि नै काममा पुग्थें । तर सेप्टेम्बर ११ का दिनमा भने मेरो दिउसो तीनबजेदेखि साँझको काम परेको थियो । त्यसैले म विहानभर घरमै बसेको थिएं ।
मैले घरमा नै बसेर जुम्ल्याहा भवनमा आक्रमणको खबर थाहा पाए“ । आक्रमणको खबर थाहा पाएपछि म निकै आत्तिएँ । आक्रमणमा मसँगै काम गर्ने ७३ जना साथीहरुको मृत्यु भयो । संयोगबश त्यसदिन मेरो भाग्य बलियो भएकाले होला, त्यसदिन बेलुकीको काम परेकाले म बाँच्न सफल भएँ । नत्र अरु ७३ जनासँगै मेरो पनि त्यहीं दिन अन्तिम दिन हुने थियो । तर दिन नआउदासम्म केही पनि नहुने रहेछ ।
आकासे भवनका ठूला एलिभेटर छिर्दा म हिजो आज सोफोकेसन भएको अनुभूती गर्छु । सकभर एक्लै चढ्न नपरे हुन्थ्यो भन्ने लाग्छ । यी आलिशान अग्ला आकासे महलहरु बनाउने होडबाजी नगरेपनि हुन्थ्यो जस्तो लाग्छ । तर मेरो भावनाले उनीहरुको ब्यापारलाई रोक्न सक्दैन । त्यो पनि मलाई थाहा छ ।
म मन बोल्छु र यो क्षण बोलिरहेको छु । तर मेरा सहकर्मी मित्रहरुको चिहानको आसपासमा धनको खोज र खेती हुन्छ । हामी भावना बोल्छौं तर उनीहरु ब्यापार गर्छन् । नेपाल या अमेरिकाको अन्य राज्यहरुबाट आफन्त या साथीसंगीहरु आउँदा उहाहरुको घुम्ने ठाउहरुको लिष्टमा प्रायजसो ग्राउण्ड जिरो अर्थात् पहिलोको वल्र्ड टे्रड सेन्टर पर्ने गर्छ । म निरन्तर बिलखबन्दमा पर्छु ।
खुलेर भन्न सक्दिन – ‘किन घुम्न जानु मेरा सहकर्मीहरुको चिहान ?’ मेरा साथी डाक्टर प्रदीप भट्टराईले सधै लेख्ने गर्छन् – ‘साथी बोनसको जीवन पाएका र बाचेका छौ । असल र अर्थपूर्ण काम गर है ।’ मेरी श्रीमति प्राय जसो सेप्टेम्बर ११ को मेमोरियल सेरेमोनीमा जान रुचाउदैनन् ।
उनी भन्ने गर्छिन् – ‘बुढा, तिमी मञ्चमा चढेर रुन्छौ मात्र । के हेर्नु पुरुषको आँशु ?’ आँशु आखिर आँशु नै हो । कहाँ रोकिदो रहेछ र ? जसको आँखाबाट वर्षिय पनि मन दुखेर या पग्लेर झर्ने आँशुको रंग शायद उस्तै हुन्छ होला ।’
खसोखास अर्काइभबाट