विश्वकप ट्रफी युरोपमै रहने निश्चित


प्रकाशित मिति : असार २३, २०७५ शनिबार

यस विश्वकप दक्षिण अमेरिकी टोलीहरुका लागि सम्झन लायक रहेन । दक्षिण अमेरिकाबाट पाँच टोली विश्वकपमा पुगे र क्वार्टरफाइनलका दुई खेल सकिँदा जारी विश्वकपमा युरोपेली टोली मात्र बाँकी छन् ।

उरुग्वेले फ्रान्ससँग पराजय ब्यहोरेको केही समयपछि नै पाँच पटकको विश्व विजेता ब्राजिल पनि बेल्जियमसँग २–१ गोलले पराजित हुँदै विश्वकपबाट बाहिरियो ।

यसपटकको विश्वकपमा दक्षिण अमेरिकाबाट अर्जेन्टिना, उरुग्वे, ब्राजिल, कोलम्बिया र पेरुले रुसको भ्रमण गरेका थिए । पेरु समूह चरणमा पराजित हुँदै बाहिरिएको थियो भने बाँकी चार टोलीले नकआउट चरणको यात्रा तय गरेका थिए ।

अन्तिम १६ मा अर्जेन्टिना र कोलम्बियाको यात्रा सकियो । अर्जेन्टिना फ्रान्ससँग ४–३ गोलले पराजित हुँदै अन्तिम १६ बाट बाहिरिँदा इंग्ल्याण्डसँग ४–३ गोलले हारेपछि कोलम्बिया पनि क्वार्टरफाइनलमा आउन सकेन ।

क्वार्टरफाइनलमा पाँच पटकको विश्व विजेता ब्राजिल र दुई पटकको विजेता उरुग्वे पुगेका थिए । तर, दुवैले हार ब्यहोरे । उरुग्वे फ्रान्ससँग निरीह बन्दा ब्राजिल बेल्जियमबिरुद्ध अभागी सावित बन्यो ।

विश्वकपको यसअघिका २० संस्करणमध्ये ११ संस्करण युरोपेली र ९ संस्करण दक्षिण अमेरिकी टोलीले जितेका छन् । यस संस्करणमा युरोपेली टोलीमा एउटा उपाधि थपिने भएको छ ।

विश्वकपमा अब फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड, स्विडेन, क्रोएसिया र आयोजक रुस बाँकी छन् । शनिबार हुने तेस्रो र चौथो क्वार्टरफाइनल खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ । बाँकी रहेका ६ टिममध्ये फ्रान्स र इंग्ल्याण्डले मात्रै यसअघि विश्वकपको उपाधि जितेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com