आइस एजेन्टले गर्भवती महिलालाई बरफले जमेको सडकमा लडाएर ढाडमा घुँडा टेकेपछि…


प्रकाशित मिति : पुस २, २०८२ बिहीबार

अमेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिस शहरमा अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स एन्फोर्समेन्ट (आइस)का एजेन्टहरूको कारबाहीलाई लिएर विवाद उत्पन्न भएको छ। सामाजिक सञ्जालमा फैलिएको एक भिडियोमा गर्भवती महिलालाई बरफले जमेको सडकमा पेटतिर फर्काएर लडाएर एक एजेन्टले उनको ढाडमा घुँडा टेकेको देखिएपछि मिनियापोलिस प्रहरी प्रमुखले नै उक्त घटनाको आलोचना गरेका हुन् ।

सोमबार साउथ मिनियापोलिसमा लक्षित अपरेसनका क्रममा WCCO की पत्रकार एस्मे मर्फीले उक्त दृश्य रेकर्ड गरेकी थिइन्। भिडियोमा स्थानीय बासिन्दाहरूले “उनी गर्भवती हुन्” भन्दै चिच्याइरहेको सुनिन्छ। पछि महिलालाई हत्कडी लगाएर एक हातले तानेर सडकमा लगिएको देखिन्छ।

पत्रकारहरूसँग कुरा गर्दै मिनियापोलिस प्रहरी विभागका प्रमुख ब्रायन ओ’हारा ले आइस एजेन्टहरूले अपनाएको रणनीति असुरक्षित र शंकास्पद भएको बताए। “यहाँ आएका अन्य संघीय एजेन्टहरूको रणनीतिमाथि हाम्रो नियन्त्रण हुँदैन,” उनले भने। उनले समुदायमा फैलिएको डर वास्तविक भएको समेत उल्लेख गरे।

यस्तै, डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भने ती महिलाले आइसको सवारीसाधनतर्फ हतारिँदै गई तोडफोड गर्ने प्रयास गरेको दाबी गरेको छ। होमल्यान्ड सेक्युरिटीका अनुसार एजेन्टहरूले महिलालाई नियन्त्रणमा लिँदा वरपरका मानिसहरूले आक्रमण गरेपछि परिस्थिती झन् तनावग्रस्त बनेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनाका क्रममा स्थानीय बासिन्दाहरू र संघीय एजेन्टबीच झडप भएको बताइएको छ। केही एजेन्टहरूले पेपर स्प्रे र टेजर प्रयोग गरेको र सञ्चारकर्मीहरू समेत त्यसको असरमा परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यस घटनापछि सामाजिक सञ्जालमा व्यापक आक्रोश देखिएको छ। कतिपयले यसलाई ‘निर्दय व्यवहार’ भनेका छन् भने मिनेसोटाको राज्य सिनेटका सदस्य ओमार फतेहले यस घटनालाई ‘आतङ्क’ को संज्ञा दिएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com