अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट
प्रकाशित मिति : पुस २, २०८२ बिहीबार
अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिकलाई डिपोर्ट भएका छन् । अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेमा ६९ पुरुष र ६ महिला रहेका छन् ।
अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरू बिहीबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको विभागले जनाएको छ । उनीहरू ओमनी इन्टरनेशन एयरको विमानबाट काठमाडौं उत्रिएका हुन् । डिपोर्ट भएकाहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेदेखि आप्रवासन नीतिलाई कडाइका साथ लागू गरिएको छ । वैधानिक कागजातबिना बसोबास गर्ने आप्रवासीहरूलाई लक्षित यस नीतिका कारण ठुलो सङ्ख्यामा नेपालीहरू देश निकालाको जोखिममा परेका छन्। यसअघि नोभेम्बर महिनामा ८० जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए । जसमा २ जना महिला र ७८ जना पुरुष रहेका थिए ।
अध्यागमन विभागको तथ्यांकअनुसार गत अक्टोबर महिनामा मात्रै अमेरिकाबाट ३८ जना नेपाली डिपोर्ट भएका थिए, जसमा ४ जना महिला र ३४ जना पुरुष थिए ।
गत जनवरीमा ट्रम्पले पदभार सम्हालेपछि ६ जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो । त्यस्तै, फेब्रुअरीमा १८ जना, मार्चमा ३२ जना, अप्रिलमा २६ जना, मेमा ५८ जना, जुनमा ४२ जना, जुलाईमा १७ जना, अगस्टमा १६ जना र सेप्टेम्बरमा ५३ जना नेपाली डिपोर्ट भइसकेका छन् ।





