घर ज्वाईं बस्ने रहर पलाएपछि …….


प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार

सृजना नामकी ३५ बर्षिया अँधवैंशे युवतीले बिहेका लागि केटो चाहिएको भन्दै उमेर र आम्दानीका स्रोत खुलाएर पत्रिकामा विज्ञापन प्रकाशन गरेकी थिइन् । एक चलेको दैनिक पत्रिकाको वर्गिकृत विज्ञापनमा उनको सम्पर्क नम्बर पनि थियो । र अफर थियो– काठमाडौंको कुनै ठाउँमा १ रोपनी जग्गामा बनेको घर र नगद एक करोड समेत चलाउन पाउने ।

अमेरिकामा बस्ने एक ३२ वर्षिय युवक जो मेडिकलमा पिएचडी गर्दैछन्, उनलाई २४ बर्षसम्मकी युवती बिहेका लागि चाहिएको छ । कम्तिमा ५ फिट २ इन्च उचाई भएकी बीबीए, बीएसी वा बीएसम्म अध्ययन गरेकी हुनुपर्ने अफर छ । सम्पर्क नम्बरसहित राखिएको विज्ञापनमा युवकको नाम खुलाइएको छैन ।

बढ्दो सहरीकरण र सम्बन्धका आयामहरू परिवर्तन हुन थालेपछि विदेशमा जस्तै नेपालमा पनि बिहेका लागि विज्ञापन गर्ने चलन बढ्न थालेको छ । परिवारका सम्पर्कसुत्र मार्फत हुने बिहे अहिले च्याउ उम्रेजसरी खुलेका ‘म्यारिज ब्युरो’का नाममा व्यावसायीक हुन थालेको छ । व्युरोहरूमार्फत नै यसरी पत्रपत्रिकामा विज्ञापन हुने गरेको छ ।

जस्तो  ‘घर ज्वाईं राख्न चाहनुहुनेले सम्पर्क……’ तर यो विज्ञापन घर ज्वाईं राख्न चाहनेले छापेको होइन, घर ज्वाईं बस्न चाहने पुरुषले चाहिँ छापेको हो । ‘मेरो दाई पर्ने मान्छेलाई घर ज्वाईं राख्न यो विज्ञापन छाप्नुपरेको हो’ सम्पर्क नम्बरमा फोन गर्दा आफूलाई रमेश पोखरेल भन्ने व्यक्तिले प्रतिक्रिया दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार काभ्रेका ४० वर्षीय विकास थापा क्षेत्री अहिले काठमाडौंमा बस्छन् । उनको यसअघि नै विवाह भैसकेको हो । तर श्रीमती अर्कैसँग गइन् । छोराछोरी पनि श्रीमतीसँगै हिँडे ।

‘श्रीमतीले छाडेपछि उनलाई घरमा गएर बस्न मन छैन, त्यसैले घर ज्वाईं बस्न खोजेका हुन्’ पोखरेलले भने, ‘अहिलेसम्म ६/७ जनाले सम्पर्क त गरेका छन् । तर घर ज्वाईं राख्छु चाहिँ भनेका छैनन् ।’

यस्तै खालको अर्को विज्ञापन पनि पत्रिकामा छापिएको छ । ‘घर ज्वाईंको लागि केटीहरुले सिधा सम्पर्क’ लेखिएको नम्बरमा फोन गर्दा चाहिँ फोन नै सम्पर्क हुन सकेन ।

सिक्किमकी एक युवतीको तस्बिरसहित बिहेका लागि इन्टरनेटमा विज्ञापन गरिएको छ । उनकी एक छोरी पनि छन् । सादी डटकममा राखिएकी नेपालीभाषी युवतीले विज्ञापनमा आफ्नी छोरी अध्ययनमा अब्बल रहेको भनी खुलाएकी छन् । चार सदस्य परिवारमा रहेको उल्लेख गरेकी उनले आफुसँग बस्नसक्ने युवकको चाहना राखेकी छन् ।

जीवनको उत्तरार्धको यात्रा लागेपछि जीवनसाथीको खोजी हुनु नयाँ कुरा हुन छाडेको छ । खासगरी विदेशी भुमिमा बस्ने महिला र पुरुषले मनमिल्ने जोडी, प्रेमी नपाउँदा, व्यस्त भई प्रेमका लागि समय निकाल्न नपाउँदा यसरी विज्ञापनमार्फत बिहेको प्रस्ताव गर्न थालेका छन् । सिक्किममा दुई पार्लर आफ्नै रहेको विवरण देखाएकी ३७ वर्षिया महिलाले ‘दुख सुखमा साथ दिने, माया गर्ने हेरचाह गर्ने’ पुरुषसँग बिहेको इच्छा राखेकी छन् । उनले विज्ञापनै गरेर यो विवरण राखेकी हुन् । नेपालीभाषी ति महिला नेपालीसँग बिहे गर्ने रहर राख्छिन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com