कोठी नम्बर ६४ बाट एक किशोरीको उद्धार


प्रकाशित मिति : बैशाख २६, २०७५ बुधबार

महिला खबर–

नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का निलम्बित वडा अध्यक्ष सुनबहादुर तामाङले भारतमा चलाएको कोठीबाट हिजो एक किशोरीलाई उद्धार गरिएको छ । दिल्लीस्थित जी.बी रोडमा वडा अध्यक्ष तामाङकी पत्नी राधा तामाङले संचालन गरेको कोठी नम्बर ६४ बाट नेपालगञ्ज घर भएकी १९ वर्षीया किशोरीलाई उद्धार गरिएको हो ।

के.आई. नेपालको पहलमा उद्धार गरिएकी किशोरीलाई आज नेपाल ल्याइदै छ । किशोरी बेचिएको कोठी नम्बर ६४ मा अन्य ३५ जना नेपालीहरु पनि के.आई. नेपालले जनाएको छ ।

पीडित महिला २ महिना पहिला बेचिएकी थिइन् । विवाहको नाटक गर्दै मुख्य दलाल सुनिल थापा, भारतीय दलाल रमेश ठाकुरले ३० र ३५ हजार रुपैयाँमा छुट्टाछुट्दै व्यक्तिसँग आफूलाई बेचेको ती किशोरीले बताइन् ।

के.आई. नेपालका निर्देशक इन्द्रराज भट्टराईका अनुसार तामाङले भारतका चार ठाउँमा कोठी सञ्चालन गरी २ सय ५० जना महिला तथा बालिकाहरुलाई बेचेर यौन धन्दामा लगाएका छन् ।

निर्देशक भट्टराईका अनुसार उद्धार गरिएकी किशोरीले भारतको विहारमा अनेकौ दुःखसँगै नशालु औषधीको सेवन गराइ एक महिनासम्म शारीरिक, मानसिक यातना दिई अन्त्यमा भारतको जी.बी रोडमा आफूलाई बेचेको बताएकी छन् ।

वडा अध्यक्ष तामाङ अहिले मानव बेचबिखन तथा ओसारपसार अभियोगमा कारागार जीवन भोगिरहेका छन् । उनलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा नुवाकोट जिल्ला अदालतले २०७४ साल वैशाख ७ गते ३७ वर्ष ६ महिना कैद र दुई लाख पचास हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

सोही सजाय वेरुजु रही फरार रहेका तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलिले सुन्धाराबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालत पेस गरेको थियो ।  जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि जगन्नाथदेवल कारागार चलान गर्न आदेश दिएको थियो । यसअघि तामाङलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com