सोमबार मन्त्रिपरिषद् विस्तार, एमाले र माओवादीबाट मन्त्री बन्नेको सूची


प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले  सोमबार मन्त्रिमण्डल विस्तार  गर्ने भएका छन्। एमालेका  थप ७ र माओवादीका ७ मन्त्रीसहित ओलीले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्।

त्यसका लागि आइतबार दुई दलले मन्त्रालयको भागबन्डा र मन्त्रीको नाम टुंग्याएका छन्। माओवादीका एक नेताका अनुसार  माओवादीले गृहसहित ७ मन्त्रालय पाएको छ। माओवादीका भागमा  गृह,  जलस्रोत तथा उर्जा, श्रम रोजगार महिला तथा सामाजिक सुरक्षा, कृषि तथा सहकारी, उद्योग वाणिज्य र आपूर्ति, सहरी विकास र वन तथा वातावरण मन्त्रालय परेका छन्।

ती मन्त्रालयमा माओवादीले रामबहादुर थापा ‘बादल’ नेतृत्वमा सात मन्त्री पठाउने भएको छ। थापासहित वर्षमान पुन, शक्तिबहादुर बस्नेत, मातृका यादव, गिरिराजमणि पोखरेल र बीना मगर मन्त्री बन्ने टु‌गो भएको छ। थप एक जनाको नाम भोलि बिहान टुंगो लाग्ने ती नेताले बताए।

अर्थ,  परराष्ट्र, रक्षा, भौतिक पूर्वाधारलगायत बाँकी सात मन्त्रालयमा एमालेले पनि भोलि नै मन्त्री  पठाउने छ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई र रवीन्द्र अधिकारी  (सोमबार) मन्त्री बन्ने भएका छन्।

त्यस्तै रघुवीर महासेठ,  हृदयश त्रिपाठी र नारदमुनि रानाको नाम पनि मन्त्रीका लागि टुंगो लागेको छ।

त्रिपाठीले गत चुनावमा सूर्य चिह्न लिएर चुनाव लडेका थिए भने रानाले कांग्रेस  सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी नेतृ आरजू देउवा राणालाई कैलाली ५ मा हराएका थिए।

नयाँ मन्त्रीको सपथका लागि सोमबार  दिउँसो ३ बजे  राष्ट्रपति कार्यालय शीतल निवासमा समय मागिएको स्रोतले बतायो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि एमालेबाट लालबाबु पण्डित र थममाया थापा मन्त्री भइसकेका छन्।

शुक्रबार बसको एमाले स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई दिएको थियो।

दुबै पार्टीका मन्त्रीहरूको मन्त्रालयको भने टुंगो लागि सकेको छैन।

मन्त्रालयको भागबन्डा टुंगिए पनि माओवादी केन्द्रका नेताहरूले गृहबाहेक सबै महत्वपूर्ण मन्त्रालय एमालेको भागमा परेको भन्दै असन्तुष्टि जनाएका छन्। यस विषयमा भोलि एमालेसँग बसेर छलफल गर्ने तयारी  रहेको माओवादीका ती नेताले सेतोपाटीलाई जानकारी दिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com