राष्ट्रियसभामा १७ उम्मेद्वार निर्विरोध, एमालेबाट सबैभन्दा धेरै ६ जना


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

माघ १०, राष्ट्रियसभामा १७ उम्मेद्वार निर्विरोध निर्वाचित भएका छन्। यद्यपि निर्वाचन आयोगले भने दाबी विरोध र मनोयन फिर्ताको समय कटेपछि मात्रै निर्विरोध घोषणा गर्ने जनाएको छ। आयोगका प्रवक्ता नवराज ढकालले १५ गते पछि मात्र निर्विरोध निर्वाचित घोषणा गर्न सक्ने बताए। १५ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको छ।

निर्विरोध हुनेमा सबैभन्दा धेरै एमालेका ६ जना छन्। कांग्रेसका ५ र माओवादी केन्द्रका ३ जना निर्विरोध भएका छन्। संघीय फोरमको २ र राजपाका १ उम्मेद्वार पनि निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश १ मा महिला समूह तर्फ ३ महिला निर्विरोध भएका छन्। कांग्रेस, एमाले र माओवादी केन्द्रका एकएक महिला निर्विरोध भएका हुन्।

त्यस्तै प्रदेश २ मा पनि ३ महिलासहित दलित र अपङ्गतारअल्पसंख्यक समूहका एकएक जना निर्विरोध भएका छन्। ३ महिलामा कांग्रेस, माओवादी केन्द्र र संघीय फोरमका एकएक रहेका छन्। त्यस्तै अल्पसंख्यकमा राजपा र दलितमा फोरमका उम्मेद्वार निर्विरोध भएका हुन्।

प्रदेश ३ र ४ मा भने कुनै पनि उम्मेद्वार निर्वरोध भएनन्।

प्रदेश ५ मा ३ महिला निर्विरोध भएका छन्। एमालेका २ र कांग्रेसकी १ महिला निर्विरोध भएका हुन्।

प्रदेश ६ मा कोही पनि निर्विरोध निर्वाचित भएनन्।

प्रदेश ७ मा ३ महिला र ३ अन्य समूहका निर्विरोध भएका छन्। तीन महिलामा २ एमालेका हुन् भने १ कांग्रेसकी हुन्। अन्य समूहमा कांग्रेस, एमाले र माओवादीका एकएक निर्वाचित भएका हुन्।

राष्ट्रियसभाको ५९ सिटमध्ये ५७ सदस्यका लागि हुन लागेको निर्वाचनमा ८३ जनाको उम्मेद्वारी परेको छ। जसमध्ये महिला तर्फ २६, अन्य समूहमा २८, दलित तर्फ १४ र अपाङ्गता र अल्पसंख्यक समूहमा १५ जनाको उम्मेद्वारी परेको हो।
राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुँदैछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com