आयआर्जनका लागि महिलाहरुलाई चर्खा वितरण
प्रकाशित मिति : मंसिर १४, २०७४ बिहीबार

मंसिर १४, चितवन पूर्वी चितवनको पदमपुरस्थित थाङखोला सामुदायिक वन क्षेत्रका महिलाहरुलाई आयआर्जनका लागि ‘चर्खा’ वितरण गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाले चर्चाबाट धागो काट्ने पेसा अंगाल्दै आएका चेतना चेली बहुउद्देश्सीय सहकारी संस्थामा आवद्ध ६५ जना महिलाहरुलार्इ चर्खा वितरण गरेको हो। कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले वनमा आश्रित हुन नपरोस् भनेर आयआर्जनका लागि उनीहरुलाई चर्खा उपलब्ध गराइएको बताए। यस्तै पदमपुरको चेतना चेली बहुउद्देश्यसीय सहकारी संस्थाको संस्थागत विकासका लागि झण्डै ३ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको भट्टराईले जानकारी दिए। यहाँ एक दशकदेखि महिलाहरु चर्खाबाट धागो काटेर आम्दानी गर्दै आइरहेका छन् । हराउन लागेको पेसाप्रति अन्य महिलाहरुलाई समेत आकर्षित गराई संरक्षणमा सहयोग गर्न थप चर्खा उपलब्ध गराइएको कोषका कार्यालय प्रमुख रामकुमार अर्यालले बताए। वनका उपोभोक्ताहरुले सञ्चालन गरेको चेतना चेली बहुउद्देश्यसीय सहकारी संस्थाका महिलाहरुलाई जिल्ला वन कार्यालय चितवनको अगुवाईमा राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत ऊन काट्ने काम सिकाइएको छ। स्थानीय बुद्धिमाया घले कोषको सहयोगले महिलाहरुलाई स्वरोजगार बनाएको बताउँछिन्।
स्रोतः थाहा खबर