हमासको नियन्त्रणमा रहेका विपिन जोशीको मृत्यु भएको पुष्टि, आजै शव फिर्ता गर्ने तयारी
प्रकाशित मिति : आश्विन २६, २०८२ सोमबार
विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । हमासले सोमबार बेलुका इजरायललाई चार जना मृत बन्दीहरूको शव फिर्ता गर्ने तयारी गरेको छ । जसमा नेपाली विद्यार्थी विपिन जोशीको शव पनि रहेको जेरुसेलम पोस्टले जनाएको छ ।
इजरायली रक्षा बल (आईडीएफ)का प्रमुख प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सोमबार यसबारे जानकारी गराएका हुन् । उनले भने, “हमासले आज चार जना मृत बन्दीहरू (गाइ इलौज, योसी साराबी, विपिन जोशी र ड्यानियल पेरेट्ज) को शव फिर्ता गर्नेछ।”
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको ७ अक्टोबर २०२३ मा हमासले गरेको आक्रमणपछि बेपत्ता थिए । हमासको नियन्त्रणमा रहेका उनको अवस्था अज्ञात रहेको थियो । सोमबार मात्रै हमासले फिर्ता गर्ने तयारी गरेको शवहरूमध्ये उनको शव पनि रहेको पुष्टि भएको हो।
विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा रहेका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।








