विषय विज्ञको काँधमा महत्वपूर्ण मन्त्रालय, यस्ता छन् तीन मन्त्रीका निर्णय
प्रकाशित मिति : भाद्र २९, २०८२ सोमबार
नेपालका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेसँगै मन्त्रालय पुगेर नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् ।
खनालले अर्थ मन्त्रालय, घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास र अर्यालले गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।
पदभारसँगै नवनियुक्त अर्थमन्त्री खनालले बजेट कार्यान्वयनका लागि आयोजना प्राथमिकिकरणका लागि तीन सदस्यीय कार्यदल गठन गरेका छन् । उनले बजेटको कार्यान्वयन गर्न आयोजना प्रथामिकिकरणका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् । उनले बजेटमा समावेश भए पनि पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय समेत गरेका छन् ।
यस्तै, गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री अर्यालले शोकमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेका हुन् । उनले आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काज किरिया खर्चबापत प्रति परिवार एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्याउने निर्णय गरेका छन् ।
ऊर्जा तथा जलस्रोतसँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका घिसिङले मुलुकलाई सामान्य अवस्थामा अवतरण गराउने गरी काम गर्ने बताए । उनले पुनः निर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै द्रुत गतिमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उज्यालो नेपाल अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने समेत उनले बताएका छन् ।
खनाल पूर्व अर्थ सचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल अधिवक्ता हुन् ।
‘जेनजी’ समूहको आन्दोलन र उत्पन्न परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।








