नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, राष्ट्रपतिको शुभकामना – ‘देश सफल होस्’
प्रकाशित मिति : भाद्र २६, २०८२ शुक्रबार
नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित एक समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् । उनले शपथ ग्रहणपछि शपथको ब्यहोरा लेखिएको पत्रमा हस्ताक्षर गरेकी थिइन् ।
शपथ ग्रहणसँगै राष्ट्रपति पौडेलले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले देश सफल होस् र जनता बचोस् भन्दै शुभकामना दिएका हुन् ।
राष्ट्रपति पौडेलले बधाई दिँदै भने, “बधाई छ धेरै धेरै शुभकामना । तपाईँ सफल हुनुहोस् । देश सफल होस् । जनता बचोस् ।”
यस्तै, शपथ ग्रहणमा उपस्थित उपराष्ट्रपति राम सहाय प्रसाद यादवलगायतका संवैधानिक तथा कूटनीतिक नियोगका उच्च अधिकारीले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । उनीमाथी ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गराउने जिम्मेवारी छ ।
उनलाई राष्ट्रपति पौडेलले शुक्रबार नेपालको संविधानको धारा ६१ अनुसार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । उनी नेपालको इतिहासमै प्रधानमन्त्री बन्ने पहिलो महिला हुन् ।
कार्कीले नेपालको पहिलो महिला प्रधानन्यायाधीश रूपमा इतिहास बनाइसकेकी छिन् । २०७३ साल असारदेखि २०७४ जेठसम्म उनले सर्वोच्च अदालतको नेतृत्व गरेकी थिइन् । कार्की न्यायपालिकामा भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताको लागि परिचित छिन्।








