‘सपनाको देश’बाट पीडाको यात्रा, मेक्सिको हुँदै अमेरिका छिरेकाहरू ‘बोरामा पीडा’ बोकेर फर्किए
प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार

अमेरिका अर्थात् सपनाको देश । थुप्रै नेपालीहरूको चाहना हुन्छ, अमेरिका पुग्ने र उतै जीवन बिताउने । यहीँ चाहनाका कारण धेरै नेपालीहरूले दलालहरूको भर पर्दै जोखिमपूर्ण यात्रा रोजिरहेका हुन्छन् ।
अमेरिका पुग्ने चाहनाले घर जमिन धितो राखेर, ऋण काढेर, लाखौँ रुपैयाँ तिरेर उनीहरू गैर कानुनी बाटोबाट अमेरिकाको सीमामा पुग्छन् । कोही लाखौँ त कोही करोडौँ तिरेर उनीहरूले आधा दर्जनभन्दा बढी देशको बाटो हुँदै अमेरिका पुग्ने चाह राखेका हुन्छन् । त्यो यात्रा शारीरिक मात्र होइन, मानसिक रूपमा पनि कठोर हुन्छ । विभिन्न देशका घना जङ्गल, नदी, र प्रहरीको त्रासबिच उनीहरू आफ्नो भविष्य खोज्दै अघि बढ्छन्।
तर, जब अमेरिका पुगेपछि उनीहरूसँग आधिकारिक कागजात हुँदैन, कानुनी मान्यता हुँदैन, अनि बाँच्न खोज्दा पनि प्रत्येक पाइलामा डर र अस्थिरता महसुस हुन्छ । कतिपयलाई पक्राउ गरेर डिपोर्ट गरिन्छ, कतिपय स्वयंले हार मानेर फर्किन्छन् । जब घर फर्किन्छन्, उनीहरूसँग सपना छैन, पैसा छैन, आत्मसम्मान छैन — छ केवल पीडा ।
यसरी नै आइतबार राती अमेरिकाबाट ३७ नेपाली स्वदेश फर्किए । अमेरिकाले आइतबार ३७ जना नेपालीलाई देश निकाला गरेर स्वदेश फर्काएको हो । अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली नागरिक बोकेको चार्टर्ड विमान आइतबार काठमाडौं अवतरण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार ३७ जना मध्ये ३२ पुरुष र ५ महिला रहेका छन् ।
अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइस) को चार्टर्ड विमानमार्फत डिपोर्ट गरिएका नेपाली नागरिकहरू अमेरिकामा बस्नका लागि कानुनी आधार नभएका हुन् । ओम्नी एयरलायन्सको ‘ओवाई ३१४६’ उडानबाट उनीहरूलाई बङ्गलादेशको ढाका हुँदै नेपाल फर्काइएको हो । राती ९ बजे विमानस्थलमा उत्रिएका उनीहरू कोही हातमा झोला त कोही बोरा बोकेर गन्तव्यतर्फ लागेका थिए ।
विमानस्थल अध्यागमन कार्यालयले उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाएको थियो । ब्यूरोका अधिकारीहरूले सोधपुछ गरेपछि उनीहरूलाई आफन्त तथा साथीभाइहरूको जिम्मा लगाएको थियो । प्रहरीका अनुसार उनीहरूमध्ये अधिकांश मेक्सिको हुँदै विना भिसा अमेरिका छिर्नेहरू रहेको पाइएको छ ।
आइतबार अमेरिकाबाट डिपोर्ट हुने ३७ जनाहरूमा एक जना डिभी परेर अमेरिका गएका समेत रहेको पाइएको छ भने एक जना विद्यार्थी भिसामा अमेरिका पुगेको पाइएको छ । ३७ जना नेपालीहरू मध्ये एक जनासँग मात्रै राहदानी रहेको र अन्य ३६ जना अमेरिकास्थित नेपाल राजदूतावासले बनाइएको ट्राभल डकुमेन्टका आधारमा नेपाल आएको पाइएको हो । प्रहरीले डिपोर्ट भएकाहरूसँग उनीहरू अमेरिका कसरी पुगेको ? लगायतका विषयमा सोधपुछ गरेको थियो । तर, उनीहरूले खासै जवाफ दिन चाहेनन् ।
अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेदेखि आप्रवासन नीतिलाई कडाइका साथ लागू गरिएको छ । अमेरिकाले यसअघि मे महिनामा मात्रै ५८ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको थियो । अध्यागमनका अनुसार मे महिनामा डिपोर्ट गरिएकाहरू सबै पुरुष रहेका थिए । ट्रम्प प्रशासन सुरु भइसकेपछि सन् २०२५ को जनवरी २० देखि मेसम्म अमेरिकाले कुल १४० जना नेपालीलाई नेपालमा डिपोर्ट गरेको हो । थप २ जना पानामा देश निकाला भएका थिए।
अमेरिकाले मार्च महिनामा ३० जना नेपालीहरूलाई डिपोर्ट गरेको थियो, जसमा ६ जना महिला र २४ जना पुरुष रहेका थिए । जनवरीमा ट्रम्पले पदभार सम्हालेपछि ६ जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो। फेब्रुअरीमा २० जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो। फेब्रुअरी ८ मा एकै दिन ६ जना नेपालीहरू अमेरिकाबाट डिपोर्ट भएर नेपाल पुगेका थिए।
यसरी डिपोर्ट गरिएका नेपालीहरू अधिकांश मेक्सिको हुँदै अमेरिका प्रवेश गरेकाहरू रहेका छन्, जसले अमेरिका प्रवेशका लागि १ लाख डलरसम्म खर्च गरेका पाइएको छ । सन् २०२४ मा जम्मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। सन् २०२४ को १२ महिनाको तुलनामा सन् २०२५ को ५ महिनामा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको सङ्ख्या झन्डै तीन गुणा बढी रहेको छ ।
सन् २०२३ मा २४, सन् २०२२ मा २२ र सन् २०२१ मा ३५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्याङ्कमा उल्लेख छ। सन् २०२१ को जनवरी १७ देखि सन् २०२४ को डिसेम्बर ३० सम्म एक सय ३३ नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए ।