टिकटक बिक्रीबारे ४ फरक समूहहरूसँग छलफलमा ट्रम्प प्रशासन
प्रकाशित मिति : फाल्गुन २६, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासन चार फरक समूहहरूसँग चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बिक्रीबारे छलफलमा रहेको खुलासा गरेका छन्। उनले आइतबार सबै विकल्पहरू राम्रो रहेको समेत बताएका छन्।
अमेरिकामा टिकटकको भविष्य अन्योलमा रहेको छ । अमेरिकामा चिनिया कम्पनी बाइटडान्सलाई राष्ट्रिय सुरक्षाका कारण बेच्नुपर्ने वा प्रतिबन्धको सामना गर्नुपर्ने कानुन जनवरी १९ देखि लागू भएको छ। ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गरेपछि उक्त कानुन कार्यान्वयनमा ७५ दिनको ढिलाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
राष्ट्रपति ट्रम्पले भने, ‘हामी चार फरक समूहहरूसँग छलफल गर्दैछौं र धेरैले यसमा रुचि देखाएका छन्… ती सबै राम्रो छन् ।’
टिकटक र यसको मूल कम्पनी बाइटडान्सले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
यस विवादबीच टिकटकमा लगानी गर्न धेरै सम्भावित खरिदकर्ताहरूले चासो देखाएका छन्। तीमध्ये लस एन्जलस डजर्सका पूर्व मालिक फ्र्याङ्क म्याककोर्ट पनि रहेका छन्। विश्लेषकहरूका अनुसार टिकटकको मूल्य करिब ५० बिलियन डलरसम्म हुनसक्छ।