अनुदार भनिएको अमेरिकाले नेपाललाई किन दियो ५० अर्ब सहयोग ?


प्रकाशित मिति : भाद्र ३१, २०७४ शनिबार

– चन्द्रशेखर अधिकारी

अमेरिकाले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको सन्देश दिंदै नयाँ उत्पादन मुलक विकास सहकार्यबाट अघि बढ्ने जनाएको छ । नेपाल–अमेरिका सम्बन्धको ७० औं बर्षगाँठको उपहार स्वरुप एकै पटक अहिले सम्मकै सबैभन्दा ठूलो सहयोग गरेलगत्तै अमेरिकाले त्यस्तो धारणा ब्यक्त भएको हो । अनुदार भनिएको राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्व सरकारको यस्तो सहयोगले नेपालको राजनीतिक अवस्था र विकास प्रक्रियामा सकारात्मक सन्देश गएको छ ।

अमेरिकाले दक्षिण एसियामा ‘रणनीतिक’ सारथीको रुपमा नेपाललाई सहकार्य गर्दै आएको छ । अमेरिकाले नेपाललाई भारतको आँखाबाट हेरेको भनिरहेको अवस्थामा एकै पटक योस्तरको सहयोगले नेपाल–अमेरिका सम्बन्ध र सहकार्य फरक शैलीमा अघि बढ्न लागेको संकेत पनि गरेको छ । अमेरिका र नेपालको सम्बन्ध सुमधुर र सहकार्य मुलुक रहेको भएपनि तिब्बती शरणार्थी र चिनियाँ सम्बन्धले गर्दा केही तलमाथि हुने गरेको थियो ।

अमेरिकाले नेपाललाई हेर्दा नेपाल–अमेरिका भन्दा पनि अमेरिकाले भारतसँगको आफ्नो सम्बन्ध र नेपाल–भारत सम्बन्धको आधारलाई हेर्ने गरेको आरोप थियो । उक्त आरोप अमेरिकीहरुले अस्वीकार गर्दै भन्ने गरेका थिए, ‘भारतबाट हेर्नु थियो भने किन यति ठूलो दूतावास हामीले नेपालमा स्थापना गथ्र्यौ ?’

अमेरिकी उपविदेश मन्त्री जोन जे सुलिभानले नेपाल र अमेरिका सम्वन्धमा नयाँ शिरा अर्थात विकास सहकार्यबाट अघि बढेको बताए । बिहीबार सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षरको साक्षी रहेका सुलिभानले नेपाल–अमेरिका सम्बन्ध उपलब्धी मुलक रहने बताएका हुन् ।

अमेरिकाले नेपाललाई दक्षिण एसियामा अग्रणी मुलुकको रुपमा लिंदै ५० अर्ब भन्दा बढी रुपैयाँ सहयोग गरेको हो । यति ठूलो दुईपक्षीय सहयोग गरेको अमेरिकाले नेपालमा पहिलो पटक हो भने नेपालमा अन्य मुलुकले पनि एकैपटक यो स्तरको सहयोग गरेको छैन् ।
एमसीसीबाट दक्षिण एसियामा पहिलो पटक यति ठूलो सहयोग अमेरिकाले गरेको हो । यसको स्पष्ट संकेत हो– अमेरिका नेपालसँग सहकार्य गरेर अघि बढ्न चाहेको छ । एक लाख भन्दा बढी भुटानी शरणार्थीलाई समेत अमेरिकामा पुर्नस्थापना गरेर नेपाल र भुटानी शरणार्थीलाई गुन लगाएको अमेरिकाले शरणार्थी कार्यक्रम सकिनै लाग्दा यो स्तरको दुईपक्षीय सहयोग गर्नु अमेरिकाले नेपाललाई प्राथमिकतामा राखेको स्पष्ट हुन्छ ।

उप विदेशमन्त्रीले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको दुईपक्षीय वार्तामा नेपाल निकै धेरै सम्भावना बोकेको राजनीतिक स्थायित्वबाट विकास प्रक्रियामा अघि बढेको मुलुक भएको बताएका हुन् । नेपालले राजनीतिक स्थायित्वसँगै असल शासन र विकास प्रक्रियामा गरेको सहकार्यमा अमरिकी साथको यो उदाहरण भएको बताए ।

मन्त्री कार्कीले नेपाल–अमेरिका सम्बन्धको उदाहरणमात्र होइन अमेरिकाले नेपालको विकासमा देखाएको सद्भावको प्रशंसा गर्दै भने, ‘हामी अब राजनीतिक स्थायित्व कायम गर्दै विकास प्रक्रियामा अघि बढेका छौ । अमेरिकाले गरेको यो सहयोग उपयोग गर्नेछौ । यो नेपालको विकासमा एक कोशेढुंगा साबित हुनेछ ।’

अर्थमन्त्रीले अमेरिकास्थित नेपाली दूतावास, अर्थमन्त्रालयको बैदेशिक सहयता हेर्ने महशाखाको सक्रियता र एमसीसीका अघिकारीहरुको सहायोगमा मात्र यो सम्भव भएको जानकारी समेत आफूले पाएको बताए ।

यो सहयोगले नेपाल राजनीतिक स्थायीत्वतर्फ अघि बढेको सन्देश अन्तराष्ट्रिय समुदायलाई दिएको उनले कान्तिपुरलाई बताए । ‘नेपालमा लगानी गर्ने वाताबरण बनेको भरपुर सन्देश अमेरिकी यो सहयोगबाट जानेछ’, कार्कीले भने, ‘वास्तविकता पनि नेपालको त्यही हो । राजनीतिक स्थायित्व कायम हुँदै गएको छ । ’

२०७२ को बैशाखमा गएको भूकम्पपछि नेपालमा अमेरिकाको संलग्नता बढेको भनिरहेको अवस्थामा यो सहयोग नेपालले प्राप्त गरेको हो ।
एमसीसी अमेरिकी सत्ता पक्ष र प्रतिपक्षको सहभागिता रहेको निकै शक्तिशाली नियोग कै रुपमा समेत चिनिने र यसले विकास सम्बन्धी सहकार्य रणनीतिक रुपमा अघि बढाउने गरेको छ ।

यसको बोर्ड सदस्यमा अमेरिकी विदेशमन्त्री, अर्थमन्त्री, अमेरिकी सहयोग नियोग यूएसएड प्रबन्धक, व्यापार प्रतिनिधिलगायत रहने हुनाले यसबाट जाने सहयोग र सहकार्य आफैंमा अर्थपूर्ण छ ।

विश्व राजनीतिको हब मानिएको अमेरिकाको सहकार्यले बहुराष्ट्रिय दातृ संस्था, लगानीकर्ता लगायत नेपालसँग आर्थिक र व्यापारिक सम्पर्क गर्न चाहनेलाई सकरात्मक सन्देश दिन पनि यो सहयोग उपयोगी रहेको छ ।

नेपालमा स्वदेशी र विदेशी लगानीकर्ताको उत्साह बढ्दै गएका बेला अमेरिकाले एकैपटक यस्तो सहयोग गरेर त्यस्तो सन्देश दिएको हो । ‘अमेरिकाले पत्याउनु आर्थिक सुधार प्रक्रियालाई नेपाल अघि बढेको छ भन्ने सन्देश जानु नै हो,’ अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले भने, ‘नेपालको आर्थिक सुधारमा प्रतिबद्धता बढी तर, कार्यान्वयन पक्ष कमजोर र सुस्त रहेका भनिरहेको अवस्थामा यो परीक्षणको कार्यक्रम हो । यो कार्यक्रमा पाँच बर्ष भित्र सकेर सन्देश दिन सकेको खण्डमा नेपालले विकास सहकार्यमा पछि फर्कनु नै पर्दैन ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com