नेपाल एसिया कपको लागि छनोट, मलेसियालाई हराउँदै फाइनलमा
प्रकाशित मिति : भाद्र ३१, २०७४ शनिबार

–
, काठमाडौंभाद्र ३१, २०७४-एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई पराजित गरेको छ । शनिबारको खेलमा नेपाल १० विकेटले विजयी रह्यो ।
टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले मलेसियालाई १ सय २१ रनमै अलआउट गर्यो । घरेलु टोलीका लागि ओपनर नालिन डे सिल्भाले सर्वाधिक ३९ रन जोड्दा कप्तान विरानदीप सिंहले २५ रनको योगदान दिए । यी दुई मिलेर दोस्रो विकेटका लागि सर्वाधिक ४९ रनको साझेदारी गरेका थिए । नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिए । पवन सर्राफले २ विकेट र रोहित कुमार पौडेल, शाहब आलम र सन्दिप लामिछानेले १/१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले सहजै लक्ष्य प्राप्त गर्यो । नेपालका ओपनरद्वय सन्दिप सुनार र आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई १० विकेटको जित दिलाए । सन्दिपले ७७ बलमा ८ चौकाको मदतले अविजित ५१ रन बनाए । आसिफले पनि अर्धशतकीय पारी खेले । उनले ६५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५० रन जोडे । नेपालले २४ औं ओभरमा लक्ष्य पुरा गरेको थियो ।
फाइनल प्रवेश गरेसँगै नेपाल एसिया कपको लागि छनोट भएको छ । अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेल्दैछन् ।