परिवारमा आधारित ग्रिनकार्डमा उल्झन आउन नदिन नीति अपडेट, के छ नयाँ नीतिमा?


प्रकाशित मिति : जेष्ठ ९, २०८१ बुधबार

परिवारमा आधारित ग्रिनकार्ड आई १३० आवेदनमा उल्झन आउन नदिन युएससीआईएसले आफ्नो नीतिमा अपडेट गरेको छ । नयाँ नीति अनुशार अब ग्रिनकार्ड पाउने व्यक्ति अमेरिकाभित्रै रहेको वा बाहिर रहेको प्रष्ट नपारेको खण्डमा तथा कन्सुलर प्रकृयामा जाने वा अमेरिकाभित्रै स्थिति समायोजन गर्ने भन्नेबारे आवेदकले प्रष्ट उल्लेख नगरेको खण्डमा युएससीआईएसले स्वीकृत आवेदन कन्सुलर प्रक्रियाको लागि नेशनल भिसा सेन्टरमा पठाउने वा स्थिति समायोजनको लागि युएससीआईएसमा राख्ने भन्नेबारे निर्णय गर्न विवेक प्रयोग गर्ने भएको छ ।

आवेदनमा लाभार्थीको ठेगाना सहित, लाभार्थीको सबैभन्दा पछिल्लो ठेगाना लगायतको प्रमाणको आधारमा युएससीआईएसले आवेदन युएससीआईएसमा राख्ने वा कन्सुलर प्रकृयाका लागि पठाउने भन्नेबारे निर्णय गर्ने जनाएको छ । यो नीति मे २२ बुधबारदेखि लागु हुनेछ । योभन्दा अगाडि कन्सुलर प्रकृयामा जाने वा अमेरिकाभित्रै स्थिति समायोजन गर्ने भन्नेबारे आवेदनमा प्रष्ट नभएको खण्डमा युएससीआईएसले त्यस्ता आवेदनहरु नेशनल भिसा सेन्टरमा नपठाई युएससीआईएसमा नै राख्ने गरेको थियो ।

अपडेट गरिएको मार्गदर्शनले आई १३० आवेदनमा त्रुटि सच्याउन वा पेन्डिङ वा स्वीकृत आवेदन अपडेट गर्नको लागि युएससीआईएसमा सम्पर्क गर्न सकिने विधिबारे पनि प्रष्ट पारिएको छ । लाभार्थीको ठेगाना अपडेट गर्ने, उनीहरु कन्सुलर प्रकृयाबाट जान चाहन्छन् वा अमेरिकामा नै स्थिति समायोजन चाहन्छन् भन्नेबारे संकेत गर्ने लगायतका सन्दर्भमा युएससीआईएसमा सम्पर्क गर्न सकिनेछ । नयाँ अपडेटले सान्दर्भिक सूचनाहरू सहित परिवारमा आधारित आप्रवासी याचिका स्वीकृत गर्ने वा अस्वीकार गर्ने भनेर युएससीआईएसले कसरी निर्णय गर्ने भन्नेबारे मार्गदर्शन समेत प्रदान गरेको छ ।

नयाँ अपडेटपछि आवेदकले कन्सुलर प्रकृयाबाट जान चाहन्छन् वा अमेरिकामा नै स्थिति समायोजन चाहन्छन् भन्नेबारे त्रुटी सच्याउन फारम ८२४ दायर गर्ने संख्यालाई घटाउने अपेक्षा गरिएको छ । किनभने अब युएससीआईएसले स्थीति समायोजनको लागि कम आवेदनहरु आफूसँग राख्नेछ । फर्म आई १३० भर्दा ग्रिनकार्ड पाउने व्यक्तिको ग्रिनकार्ड आवेदन अमेरिकाभित्रै प्रकृयामा लैजाने वा अमेरिकाबाहिरका अमेरिकी दूतावास तथा कन्सुलेटमा प्रकृयामा लैजाने भन्नेबारे आवेदकले उल्लेख नगर्दा परिवारमा आधारित ग्रिनकार्ड आई १३० आवेदनमा ढिलाई हुने गरेको छ ।

खासगरी फर्म आई १३० भर्दा ग्रिनकार्ड पाउने व्यक्तिको ग्रिनकार्ड आवेदन अमेरिकाभित्रै प्रकृयामा लैजाने वा अमेरिकाबाहिरका अमेरिकी दूतावास तथा कन्सुलेटमा प्रकृयामा लैजाने भन्नेबारे आवेदकले उल्लेख गर्नुपर्छ । कागजी फर्म भर्दा यी प्रश्नहरु ६१ र ६२ नम्बरमा रहेका छन् भने अनलाइनबाट फर्म भर्दा पनि यी प्रश्नहरु राखिएका छन् । फर्म भर्दा दुबै विकल्पहरु छनौट गर्न सकिने भएतापनि आवेदकले एउटमात्र विकल्प छनौट गर्नुपर्छ । ग्रिनकार्ड पाउने व्यक्ति अमेरिकाभित्रै भएको खण्डमा अमेरिकाभित्रै ग्रिनकार्ड प्रकृयामा लैजाने विकल्प छान्नुपर्छ भने अमेरिबाहिर भएको खण्डमा दूतावास वा कन्सुलेटमा ग्रिनकार्ड प्रकृयामा लैजाने विकल्प छान्नुपर्छ ।

यदि विदेशमा कन्सुलर प्रकृयामा लैजाने विकल्प छनौट गरिएको खण्डमा युएससीआईएसले आई १३० आवेदन स्वीकृत भइसकेपछि आवेदन नेशनल भिसा सेन्टरमा पठाउँछ । त्यसपछि सम्बन्धित दूतावास वा कन्सुलेटमार्फत आप्रवासी भिसा प्रकृया अगाडि बढाउनुपर्छ । यदि अमेरिकामै ग्रिनकार्ड प्रकृयामा लैजाने विकल्प छनौट गरेको खण्डमा युएससीआईएसले स्वीकृत भएको आई १३० आवेदन नेशनल रेकर्ड सेन्टरमा पठाउँछ । त्यसपछि ग्रिनकार्ड प्राप्त गर्ने व्यक्तिले भिसा करेन्ट हुन्जेल प्रतिक्षा गरेर ग्रिनकार्ड आवेदन आई ४८५ दिनुपर्छ ।

यदि आई १३० आवेदन युएससीआईएसमा नै पेन्डिङ रहेको अवस्थामा अमेरिकाभित्रै ग्रिनकार्ड प्रकृयामा लैजाने वा दूतावास तथा कन्सुलेटमार्फत प्रकृयामा लैजाने विकल्प परिवर्तन गर्नुपरेमा युएससीआईएसको सम्पर्क केन्द्रमा सम्पर्क गर्नुपर्छ । तर आई १३० आवेदन पहिले नै स्वीकृत भइसकेको छ भने फर्म आई ८२४ भरेर युएससीआईएसमा पठाउनुपर्छ । त्यसका लागि ५९० डलर शुल्क तिनुपर्छ भने उक्त आवेदनमा निर्णय आउन साढे ३ महिनादेखि साढे २२ महिनासम्म लाग्छ । त्यसपछिमात्र आवेदन नेशनल भिसा सेन्टरमा पठाइन्छ । र दूतावासबाट भिसा लिएर अमेरिका आउन सकिन्छ ।

यदि आवेदकले विदेशमा रहेका दूतावास वा कन्सुलेटबाट प्रकृया अगाडि बढाउनेगरी एउटामात्र विकल्प छनौट गरेको अवस्थामा समेत युएससीआईएसले आई १३० आवेदन स्वीकृत भएको २ महिनाभित्र आवेदन नेशनल भिसा सेन्टरमा नपठाएको खण्डमा त्यो युएससीआईएसको गल्तीका कारण हुनसक्छ । यो अवस्थामा भने शुल्क तिरेर आई ८२४ आवेदन दिनुपर्दैन । यो अवस्थामा ओम्बड्सम्यानमा सम्पर्क गरेर अनुरोध गर्नुपर्छ । त्यसो गर्दा पहिले भरेको आई १३० को कपी र युएससीआईएसमा सम्पर्क गरेर समस्या समाधानको प्रयास गरेको कागजात पठाउनुपर्छ ।

युएससीआईएससँग कुनै समस्या भएको खण्डमा नागरिकता र अध्यागमन सेवा ओम्बड्सम्यानको कार्यालयले आवेदक र रोजगारदातालाई सहयोगको प्रयास गर्छ । नागरिकता र अध्यागमन सेवा ओम्बड्म्यानको कार्यालयले युएससीआईएस र सेवाग्राहीबीच सम्बन्धको काम गर्छ । युएससीआईएससँग आवेदकको समस्या भएमा समाधानको प्रयास गर्नुका साथै युएससीआईसँग सेवाग्राहीको अनुभवहरु समेत सुन्ने काम गर्छ । अध्यागमन प्रणालीमा भएका समस्या पहिचान गरेर यो कार्यालयले युएससीआईएसलाई सिफारिस समेत गर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com