अब न्युयोर्क लगायतका ५ सिटीमा आउनेको एसाइलम १८० दिनमा टुंगो लगाउन नयाँ डकेट


प्रकाशित मिति : जेष्ठ ३, २०८१ बिहीबार

बाइडेन प्रशासनले मेक्सिकोको सिमाक्षेत्रबाट विना भिसा प्रवेश गरेर अमेरिकाका ५ प्रमुख सिटीहरुमा जाने कागजपत्रविहीन आप्रवासीहरूको लागि एसाइलम प्रकृया तीब्र पार्ने भएको छ ।

होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कस र एटोर्नी जनरल मेरिक गारल्याण्डले बिहीबार यसबारे घोषणा गर्दै रिसेन्ट अराइभल अर्थात् आए डकेटले एटलान्टा, बोस्टन, शिकागो, लस एन्जलस र न्युयोर्क सिटीमा आउने कागजपत्रविहीन आप्रवासीहरुलाई तुरुन्तै अध्यागमन अदालतमा पेश गरिने बताएका छन् ।

ती एसाइलमका दावीहरू १८० दिन भित्र समाधान गर्ने लक्ष्य लिइएको छ । यद्यपि आप्रवासीहरूलाई आवश्यक कानुनी प्रतिनिधित्व प्राप्त गर्नको लागि केही परिस्थितिहरूमा थप अवधिहरू पनि दिइने जनाइएको छ ।

मार्चसम्म अमेरिकामा ३५ लाख एसाइलमका मुद्दाहरु अदालतमा विचाराधिन रहेका छन् । त्यसमध्ये नेपालीका विचाराधिन एसाइलमका मुद्दाहरु झण्डै ८ हजार रहेका छन् । जसमध्ये न्युयोर्कका अदालतमा मात्र नेपालीका ३ हजार एसाइलमका मुद्दाहरु विचाराधिन रहेका छन् । नोटिस टु एपीयर जारी भएदेखि एसाइलमका मुद्दाको टुंगो लाग्न नेपालीका सन्दर्भमा न्युयोर्कमा औषतमा ८२५ दिन लाग्ने गरेको छ ।

 

गत वर्षको मेक्सिकोबाट विना भिसा टेक्सासमा प्रवेश गर्ने कतिपय आप्रवासीहरूलाई सन् २०३२ सम्म शिकागोको अदालतमा उपस्थीत हुनेगरी नोटिस टु अपियर दिइएको थियो । यो अवस्थाको अन्त्यका लागि बाइडेन प्रशासनले बिहीबार नयाँ प्रणालीको घोषणा गरेको छ । हालै अमेरिका मेक्सिको सीमा पार गरेका र अमेरिकाका पाँच प्रमुख शहरहरू मध्ये कुनै एकमा जाने मानिसहरूले यो प्रणाली अन्तरगत १८० दिनमा निर्णय पाउनेछन् ।

नयाँ नियमले होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसलाई हालै सीमा पार गरेका मानिसहरूका लागि नयाँ द्रुत डकेट सिर्जना गर्ने अधिकार दिन्छ । जसले गर्दा आफ्नो देशमा फर्कदा खतरा भएको प्रमाणित गर्न नसक्ने एसाइलम आवेदकको आवेदन छिटो अस्वीकार गर्न र देशनिकाला गर्न अनुमति दिन सक्छ। यी पाँच सिटीमा प्रवेश गर्ने एकल वयस्कलाई दु्रत गतिमा राख्न सकिनेछ ।

कति एसाइलम आवेदकहरु नयाँ डकेटबाट तुरुन्तै प्रभावित हुनेछन् भन्नेबारे केही प्रष्ट छैन । केही आप्रवासीहरूलाई सार्वजनिक सुरक्षा वा राष्ट्रिय सुरक्षा खतरा मानिएको खण्डमा उनीहरुको एसाइलम आवेदन द्रुत रूपमा अस्वीकार गर्ने नीति लगत्तै बाइडेन प्रशासनले नयाँ डकेट ल्याएको हो ।

यो बाहेक ह्वाइट हाउसले सीमा क्षेत्रमा थप आक्रमक योजनाहरु ल्याउने तयारी समेत गरेको छ । जसमा विनाभिसा सीमा पार गरेर एसाइलम खोज्नेहरूको संख्या बढेको खण्डमा सिमा बन्द गर्नसक्ने अधिकार हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com