बाइडेन प्रशासनको एसाइलमबारेको कडा नियम आज फेडरल रजिष्टरमा, के छ नियममा ?


प्रकाशित मिति : बैशाख ३१, २०८१ सोमबार

बाइडेन प्रशासनले एसाइलमबारे प्रस्तावित नयाँ नियम आज फेडरल रजिष्ट्ररमा प्रकाशित गरेको छ । फेडरल रजिष्ट्ररमा प्रकाशित हुने  यो प्रस्तावित नियमको उद्देश्य केही आप्रवासीहरूका लागि एसाइलम दावी प्रक्रियालाई गति दिनु रहेको छ । सीमा संकटको विषय अहिले मुख्य मुद्दा बनिरहेको सन्दर्भमा बाइडेन प्रशासनले एसाइलमबारे कडा नियम प्रस्ताव गरेको हो ।

यसले आपराधिक रेकर्ड भएका आप्रवासीहरूलाई वा अन्य तरिकाले शरणको लागि अयोग्य मानिनेहरूलाई तीब्र गतिको देशनिकालाको प्रकृयामा राख्नेछ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले बिहीबार घोषणा गरेको नियमले राष्ट्रिय सुरक्षा जोखिमहरू निम्त्याउनेहरुलाई निशाना बनाउने छ ।

एसाइलमका लागि अनुरोध गर्ने पहिलो चरण क्रेडिबल फियर अन्तर्वार्ता हो, जहाँ एक आप्रवासीले स्वदेश फिर्ता भएमा ज्यानको जोखिम भएको डरको घोषणा गर्नुपर्छ । नयाँ नियमले अधिकारीहरूलाई उक्त व्यक्ति राष्ट्रिय सुरक्षा खतरा भए नभएको निर्धारण गर्न राष्ट्रिय सुरक्षा र आपराधिक न्यायको डाटामा उनीहरुको विवरण क्रस चेक गर्न अनुमति दिनेछ ।

यदि खतरा देखिएमा उनीहरूलाई समीक्षा प्रक्रियाको प्रारम्भिक चरणमा नै देश निकाला गर्न सकिनेछ । यो प्रस्ताव औपचारिक रुपमा सार्वजनिक टिप्पणी अवधिमा गएको छ । सार्वजनिक टिप्पणीका लागि ३० दिनको समय तय गरिएको छ ।  अर्थात् यो नियममा जुन १२ सम्म कमेन्ट गर्न सकिनेछ । यसलाई अन्तिम रूप दिन केही समय लाग्नेछ।

हालको कानून अन्तर्गत सीमामा आइपुगेको आप्रवासीको क्रेडिबल फियर अन्तरवार्ताबाट प्रारम्भिक स्क्रीनिंग गरिन्छ । उनीहरूसँग आपराधिक पृष्ठभूमि भए पनि वा उनीहरुबाट सुरक्षा जोखि भएपनि प्रक्रिया जारी राख्न अनुमति दिइन्छ। अध्यागमन अदालतका न्यायाधीशले पछि त्यो आप्रवासी शरणको लागि योग्य भए नभएको निर्धारण गर्नेछन्।

नयाँ परिवर्तनले प्रारम्भिक स्क्रिनिङ चरणमा न्यायाधीशको निर्णय नपर्खी एक अधिकारीले नै देशनिकालाको प्रकृयामा लैजान सक्नेछन् । नयाँ प्रस्तावले आप्रवासीहरूको तुलनात्मक रूपमा सानो समुहलाई असर गर्ने जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com