आप्रवासीहरुलाई कागजात बनाइदिने भन्दै ५ हजार डलर माग्ने सिमा सुरक्षा अधिकारीलाई डेढबर्ष जेल


प्रकाशित मिति : बैशाख २८, २०८१ शुक्रबार

विना भिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरुलाई कागजात बनाइदिने भन्दै ५ हजार डलर माग्ने अमेरिकाका सिमा सुरक्षा अधिकारीलाई डेढबर्ष जेल सजाय सुनाइएको छ । टेक्सासको सीबीपी प्रोसेसिङ सेन्टरमा काम गर्ने सीमा गस्ती एजेन्टलाई घूस लिएको सार्वजनिक अपराधको आरोपमा दोषी ठहर गर्दै बिहीबार डेढ वर्षको जेल सजाय सुनाइएको हो ।

फर्नान्डो क्यास्टिलोलाई सन् २०२३ को संघीय आपराधिक मुद्दा अन्तरगत सजाय सुनाइएको हो । उनले ड्युटीमा रहेको बेला कागजपत्रविहीन आप्रवासीलाई अध्यागमन सुविधा दिने आश्वासन दिदै ५ हजार डलर घुस मागेको आरोप थियो।

अमेरिकी सीमा गस्ती एजेन्टको रूपमा एल पासोमा काम गर्ने ४२ वर्षीय क्यास्टिलोोले एल साल्भाडोर र मेक्सिकोका आप्रवासीसँग अमेरिकामा बस्न अनुमति दिने अध्यागमन कागजी कार्यको बदलामा घुस मागेका थिए । अभियोजकहरुका अनुशार उनले व्यक्तिको अध्यागमन फाइलमा झूटा विवरणहरु समावेश गर्नुका साथै जालसाजीपूर्ण कागजातहरु तयार पारेका थिए ।

व्यक्तिगत लाभको लागि पदको दुरुपयोग गर्ने संघीय अधिकारीले सरकारी अधिकारीहरूमाथिको जनताको विश्वासलाई चकनाचुर पार्ने सरकारी अधिवक्ता जैमे एस्पार्जाले एक विज्ञप्तिमा बताएका छन् । उनको अपराधले दिनदिनै समर्पणका साथ जनताको सेवा गर्ने इमानदार अधिकारीहरूलाई अनुचित रूपमा कलंकित गर्ने भएकाले उनीजस्ता अधिकारीहरूलाई जवाफदेही बनाउने विज्ञप्तिमा जनाइएको छ ।

उनीविरुद्ध सुरुमा लगाइएका मानव तस्करी र सेवाग्राहीलाई इमानदार सरकारी सेवाहरूको अधिकारबाट वञ्चित गर्ने धोकाधडीको अभियोग भने खारेज गरिएको थियो । जनवरीको मध्यमा क्यास्टिलोले घूसको लागि दोषी स्वीकार गरेका थिए । क्यास्टिलोको सजायमा एक वर्षको पर्यवेक्षण पनि समावेश छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com