मार्चमा भिजिटर भिसा पाउने नेपालीहरुको संख्या २०९८, के चालु आर्थिक बर्षकै कम हो?


प्रकाशित मिति : बैशाख १६, २०८१ आईतबार

मार्चमा कुल २ हजार ९८ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांकमा देखिएको छ । मार्चमा अमेरिकी दूतावास काठमाडौंलेमात्र १६९५ जनालाई भिजिटर भिसा जारी गरेको थियो । यो संख्या जनवरी र फेब्रुअरीको तुलनामा कम भएतापनि चालु आर्थिक बर्षका अन्य तीन महिनाको तुलनामा भने धेरै हो ।

फेब्रुअरी महिनामा नै भिजिटर भिसा पाउने नेपालीहरुको संख्यामा रेकर्ड ब्रेक भएको थियो, अर्थात् चालु आर्थिक बर्षमा सबैभन्दा धेरै फेब्रुअरीमा नै नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । फेब्रुअरीमा कुल २९९१ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए भने २५५४ जनालाई अमेरिकी दूतावास काठमाडौंले भिजिटर भिसा जारी गरेको थियो । जनवरीमा २३ सय ६७ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएकोमा अमेरिकी दूतावास काठमाडौंले १९५७ जनालाई भिजिटर भिसा जारी गरेको थियो ।

त्यस्तै डिसेम्बरमा १९०७ जना नेपालीहरुले अमेरिकाको भिजिटरभिसा पाएकोमा काठमाडौं दूतावासले १६१३ जनालाई भिजिटर भिसा जारी गरेको थियो । नोभेम्बरमा विश्वभरबाट भने १७७९ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए भने १४१९ जनालेमात्र अमेरिकी दूतावास काठमाडौंबाट भिजिटर भिसा पाएका थिए । चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा अमेरिकी दूतावास काठमाडौंले १६७५ जनालाई भिजिटर भिसा जारी गरेको थियो भने उक्त महिना विश्वभरबाट अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्या २०८१ रहेको थियो ।

आवेदकमध्ये ६९ प्रतिशत नेपालीलाई अमेरिकाको भिजिटर भिसा

आर्थिक बर्ष २०२३ मा कुल नेपाली आवेदकहरुमध्ये झण्डै ६९ प्रतिशतले अमेरिकाको भिजिटर भिसा पाएका छन् । अमेरिकी विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार भिजिटर भिसाका नेपाली आवेदकमध्ये जम्मा ३१ दशमलव ३ प्रतिशतकोमात्र भिसा अस्वीकृत गरिएको छ । यद्यपी भिसा स्वीकृत दर अघिल्लो आर्थिक बर्षको तुलनामा भने कम हो ।

आर्थिक बर्ष २०२३ मा १८ हजार २ सय ४५ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । यो बर्ष झण्डै २६ हजार ५ सय नेपालीले भिजिटर भिसाका लागि आवेदन दिएकोमा झण्डै ८ हजार ३ सय जनाको भिसा आवेदन अस्वीकृत भयो ।

आर्थिक बर्ष २०२२ मा अमेरिकाले कुल नेपाली आवेदकहरुमध्ये झण्डै ८० प्रतिशतलाई भिजिटर भिसा दिएको थियो । झण्डै २२ हजार ७ सय २९ जना नेपालीहरुले भिजिटर भिसाका लागि आवेदन दिएकोमा १८ हजार २ सय १४ जनालाई भिजिटर भिसा स्वीकृत गरिएको थियो ।

आवेदकमध्ये झण्डै ४५ सय १५ जना नेपालीहरुले भने भिसा पाएनन् । कुल भिजिटर भिसा आवेदक संख्याको १९ दशमलव ८५ प्रतिशतलेमात्र भिसा नपाएका हुन् । अमेरिकाले आर्थिक बर्ष २०२१ मा पनि झण्डै ८१ प्रतिशत नेपाली आवेदकहरुलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको थियो । विगत ३ बर्षदेखि अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिने नेपालीहरुमध्ये झण्डै ७० प्रतिशतभन्दा बढीले भिसा पाएका छन् ।

अमेरिकाले २०२१ मा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको र जम्मा १८ दशमलव ७२ प्रतिशतको मात्र भिजिटर भिसा अस्वीकृत गरेको थियो । भिजिटर भिसाका कुल ८ हजार ७ सय ७३ नेपाली आवेदकहरुमध्ये १६४५ जनालेमात्र अमेरिकाको भिसा पाएनन् ।

२०२१ मा कोरोना महामारीका कारण विना अन्तरवार्ता भिसा नविकरणको आवेदन दिनेहरु उल्लेख्य थिए । २०२१ मा नेपालीहरुलाई अमेरिकाको भिसा दिने दर ऐतिहासिक रुपमा उच्च बनेको थियो ।

त्यस अगाडि आर्थिक बर्ष २०२० मा आवेदकमध्ये झण्डै ५१ दशमलव ९ प्रतिशत नेपालीहरुलाई अमेरिकाले भिजिटर भिसा प्रदान गरेको थियो । यद्यपी सन् २०२० मा अमेरिकाको भिजिटर भिसा स्वीकृत हुने नेपालीहरुको प्रतिशत दर त्यस अगाडिका ३ बर्षको तुलनामा सबैभन्दा उच्च थियो ।

आर्थिक बर्ष २०२० को तुलनामा २०२१ मा भिसा स्वीकृतिको प्रतिशत दर बढेपनि संख्या भने घटेको थियो । २०२० मा ७ हजार ७ सय ५१ नेपालीहरुलाई अमेरिकाको भिजिटिर भिसा प्राप्त गरेकोमा २०२१ मा यो संख्या अझ घटेको थियो ।

आर्थिक बर्ष २०२० मा झण्डै १५ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसा आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार ७ सय ५१ जनाको भिजिटर भिसा स्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

नेपालीको भिजिटर भिसा अस्वीकृत दर आर्थिक बर्ष सन् २०१९ मा ५० दशमलव ७ प्रतिशत र २०१८ मा ५१ दशमलव ५ प्रतिशत रहेको थियो । आर्थिक बर्ष २०१७ मा भने अस्वीकृत दर ४६ दशमलव ४ प्रतिशतमात्र थियो ।

आर्थिक बर्ष २०१८ मा भने नेपालीहरुको भिजिटर भिसा अस्वीकृत दर सन् २०१२ पछिकै सबैभन्दा धेरै रहेको थियो । सन् २०११ मा भने त्योभन्दा पनि धेरै कुल आवेदकमध्ये ५९ दशमलव ९ प्रतिशत नेपालीहरुको भिजिटर भिसा अस्वीकृत भएको थियो । सन् २००६ देखि सन् २०११ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुभन्दा नपाउनेहरुकै प्रतिशतदर उच्च थियो ।

तर सन् २०१२ देखि २०१७ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुको प्रतिशत नपाउनेहरुको तुलनामा बढी थियो । सन् २०१४ मा त कुल भिजिटर भिसाका नेपाली आवेदकहरुमध्ये ६१ दशमलव ८ प्रतिशतले भिसा पाएका थिए । कुल आवेदकमध्ये जम्मा ३८ दशमलव २ प्रतिशत नेपाली आवेदकको भिजिटर भिसा अस्वीकृत भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com