परिवारमा आधारित ग्रिनकार्डका लागि लाग्ने अवधि ९ महिनासम्म कम, कुन कुन श्रेणीमा कति घट्यो ?


प्रकाशित मिति : चैत्र २९, २०८० बिहीबार

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सबाट प्रकाशित मे महिनाको भिसा बुलेटिनले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका अनुहारमा चमक ल्याएको छ । अब अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले दूतावासमा भिसा अन्तरवार्ताका लागि प्रतिक्षा गर्नुपर्ने अवधि झण्डै ३ बर्ष भन्दा कममा झरेको छ । अर्थात् सन् २०२१ को जुन २१ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले आगामी मे महिनामा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् ।

अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले दूतावासमा भिसा अन्तरवार्ताका लागि प्रतिक्षा गर्नुपर्ने अवधि ३ महिना घटेको छ । अर्थात् १ जनवरी २०१० भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले अब मार्चमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् ।

परिवारमा आधारित अरु श्रेणीका ग्रिनकार्ड वा आप्रवासी भिसा पाउन लाग्ने अवधि पनि घटेको छ । मे महिनामा अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुले भिसा पाउन लाग्ने अवधि पनि ५ महिना घटेको छ । अर्थात् ८ जुलाई २०१५ भन्दा अगाडि प्राथमिकता मिति भएकाले मे मा ग्रिनकार्ड पाउन सक्नेछन् ।

ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुका सन्दर्भमा १ अप्रिल २०१६ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले अब मे महिनामा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् । अर्थात् यो अवधि पनि झण्डै ४ महिना घटेको छ । अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीका सन्दर्भमा २२ जुलाई २००७ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले अप्रिलमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् । अर्थात् यो अवधि पनि झण्डै डेढ महिना घटेको छ ।

अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि गत अगस्तसम्म ग्रिनकार्ड फाइल गर्ने मिति करेन्ट रहदै आएकोमा सेप्टेम्बरदेखि भने करेन्ट छैन । अथात् सेप्टेम्बरदेखि अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले आई १३० पिटिसन र ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ फाइल गर्न पाउँदैनन् ।

सेप्टेम्बर १, २०२३ को प्राथमिकता मितिमा अहिलेसम्म टसमस नभएकाले सेप्टेम्बर १ पछि आई १३० पिटिसन दिएकाहरुले उक्त पिटिसन विचाराधिन भएकै अवस्थामा अहिलेसम्म पनि ग्रिनकार्ड आवेदन आई ४८५ आवेदन दिन पाएका छैनन् । जसले गर्दा उनीहरुलाई आफ्नो भिसा वा अध्यागमन स्टाटस जोगाउने झन्झट भएको छ । सेप्टेम्बर १ अगाडि आई १३० पिटिसन दिएकाहरुले भने सेप्टेम्बरदेखि नै ग्रिनकार्ड आवेदन आई ४८५ पेश गर्न पाइरहेका छन् । आई ४८५ पेश गरिसकेपछि भिसा वा अध्यागमन स्टाटस जोगाउने झन्झट नहुनसक्छ । अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा पनि अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा ३ महिना घटेको बाहेक अन्य श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने प्राथमिकता मिति अप्रिलको तुलनामा मे महिनामा टसमस भएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com