ग्रिनकार्डका लागि युएससीआईएसले अपनायो कला र विज्ञानमा डिपार्टमेन्ट अफ लेबरको परिभाषा


प्रकाशित मिति : चैत्र २८, २०८० बुधबार

युएससीआईएसले ग्रिनकार्ड आवेदनको प्रयोजनका सन्दर्भमा डिपार्टमेन्ट अफ लेबरबाटै गरिएको कला र विज्ञानको परिभाषालाई अपनाउनेगरी नीति निर्देशिका अपडेट गरेको छ । सामान्यतया कलेज र विश्वविद्यालयहरूले विज्ञान र कलाका सन्दर्भमा डिग्री हासिल गर्ने विशेष पाठ्यक्रमहरू प्रस्ताव गर्ने विषयलाई डिपार्टमेन्ट अफ लेबरले विज्ञान वा कलामा ज्ञान वा सीपका रुपमा मान्ने भएकाले सोही परिभाषालाई युएससीआईएसले पनि अपनाएको हो ।

अर्थात् कुनै पनि लाभग्राहीले कला र विज्ञानका क्षेत्रमा ज्ञान र सिपको असाधारण योग्यता पुष्टी गर्नका लागि उक्त विषयलाई युनिभर्सिटीहरुले पाठ्यक्रममा ज्ञान र सिपका लागि समावेश गरेको हुनुपर्छ । लाभग्राही योग्य हुनका लागि कलेज वा युनिभर्सिटीमा अध्ययन गरेको भने हुनुपर्दैन । उदाहरणका लागि कोही लाभग्राही कलाको क्षेत्र अन्तरगत फिल्म निर्माणमा ज्ञान र सिपका कारण असाधारण योग्यताको हुनसक्छ किनभने फिल्म स्कूलहरूले निर्देशन, सम्पादन, छायांकन, र पटकथा लेखनमा विशेष पाठ्यक्रमहरू प्रस्ताव गर्छन्, जसले फिल्म उद्योगमा क्यारियरहरूको नेतृत्व गर्दछ। तर फिल्म निर्माणमा असाधारण योग्यता पुष्टी गर्न लाभग्राही आफैले कलेज वा युनिभर्सिटीमा डिग्री लिएको हुनु पर्दैन ।

कला र विज्ञानमा असाधारण योग्यताबारे डिपार्टमेन्ट अफ लेबरको परिभाषा

कलेज र विश्वविद्यालयका असाधारण क्षमताका शिक्षकहरू सहित विज्ञान वा कलामा असाधारण क्षमता भएका विदेशीहरू जसले आवेदन दिन अघिको एक वर्ष भित्रमा आफ्नो विज्ञान वा कला अभ्यास गर्दै आएका छन् र जो अमेरिकामा आएपनि त्यही विज्ञान वा कला अभ्यास गर्न चाहन्छन्, उनीहरुले विज्ञान र कलामा आधारित असाधारण योग्यताको ग्रिनकार्ड प्राप्त गर्न सक्छन् । विज्ञान र कलाको यो परिभाषा अन्तरगत गायन, नृत्य जस्ता प्रदर्शन गर्ने कलाहरु भने पर्दैनन् ।

अमेरिकाका रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीका ग्रिनकार्डका लागि रोजगारदाताहरुले युएससीआईएसमा आई १४० आवेदन फाइल गर्नु अगाडि डिपार्टमेन्ट अफ लेबरबाट लेबर सर्टिफिकेशन प्राप्त गर्नुपर्छ । तर अनुसूची एमा रहेका केही पेशाका लागि भने डिपार्टमेन्ट अफ लेबरबाट लेबर सर्टिफिकेशन लिइरहनु पर्दैन । किनभने ती पेशाहरुमा सक्षम, इच्छुक, योग्य र उपलब्ध पर्याप्त अमेरिकी कामदारहरू नभएको डिपार्टमेन्ट अफ लेबरले पूर्वनिर्धारित गरिसकेको छ । ती पेशाहरूका लागि रोजगारदाताहरूले डिपार्टमेन्ट लेबरको समीक्षा बेगर नै सिधै युएससीआईएसमा लेबर सर्टिफिकेशन पेश गर्न पाउँछन् ।

हाल डिपार्टमेन्ट अफ लेबरले अनुसूची ए अन्तर्गत पेशाका दुई समूहहरू तोकेको छ । जसमा पहिलो समूहमा रजिष्टर्ड नर्सहरू र फिजिकल थेरापिष्टहरु पर्छन् भने दोश्रो समूहमा विज्ञान वा कलामा असाधारण क्षमता भएकाहरु पर्छन । त्यस्तै दोश्रो समुहको दोश्रो नम्बरमा प्रदर्शन कलामा असाधारण क्षमता भएकाहरु पनि पर्छन् । अर्थात् उनीहरुले ग्रिनकार्ड प्राप्त गर्नका लागि डिपार्टमेन्ट अफ लेबरबाट लेबर सर्टिफिकेशन लिइरहनु पर्दैन ।

युएससीआईएसले अनुसूची एमा रहेका पेशाहरूमा आधारित आवेदनहरुको निर्णय गर्दा डिपार्टमेन्ट अफ लेबरका नियमहरूलाई विचार गर्ने भएकोले अब डिपार्टमेन्ट अफ लेबरको विज्ञान वा कलाको नियामक परिभाषालाई नै युएससीआईएसले आफ्नो नीतिमा अपडेट गरेको हो । कलेज र विश्वविद्यालयहरूले ज्ञान वा सीपमा डिग्री हासिल गर्ने विशेष पाठ्यक्रमहरू प्रस्ताव गर्ने विषयलाईमात्र कला र विज्ञानको मान्यता दिइने भएकाले अब आवेदकहरुले सोही अनुशार नै आवेदन पेश गर्नुपर्नेछ । उपलब्ध गराइएका प्रमाणहरूको मात्रा र गुणस्तर दुवैको समीक्षा गरेर युएससीआईएसको भनाई छ ।

यो नीति निर्देशन प्रकाशन पछि तुरुन्तै प्रभावकारी भएको युएससीआईएसले जनाएको छ । साथै यो अपडेटले नीति वा सञ्चालनहरू परिवर्तन नगर्ने तथा यो नीति पुस्तिकामा डिपार्टमेन्ट अफ लेबरको परिभाषा समावेश गर्नको लागि अद्यावधिक गरिएको युएससीआईएसले प्रष्ट पारेको छ । कला र विज्ञानमा असाधारण योग्यताबारे डिपार्टमेन्ट अफ लेबरको परिभाषा पढ्न यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com