मे ९ पछि एसाइलम आवेदनमा लागु हुने प्रावधान: अनुचित रुपमा पेश गरे अस्वीकार


प्रकाशित मिति : चैत्र २७, २०८० मंगलबार

मे ९ देखि लागु हुनेगरी युएससीआईएसले सर्भिस सेन्टरहरुमा अनुचित रुपमा दायर गरिएका एसाइलम आवेदनहरु अस्वीकार गर्ने जनाएको छ । मे ९ देखि लागु हुनेगरी एसाइलम आवेदनहरु सर्भिस सेन्टरहरुमा नभई आफ्नो तोकिएको लकबक्समा पठाउनुपर्ने युएससीआईएसले प्रष्ट पारेको छ ।

युएससीआईएसले सन् २०२३ को मे ३१ मा एसाइलमका आवेदन पठाउने ठेगानाबारे घोषणा गरेको थियो । त्यसपछि एसाइलम आवदेनमा सम्बन्धित संशोधनलाई अन्तिम रूप गतबर्षको सेप्टेम्बर ५ मा दिइएको थियो । यो परिवर्तनले एसाइलम आवेदनबारे निर्णयलाई सुव्यवस्थित गर्न र कागजी फाइलिङहरू डिजिटलाइज गरेर निर्णय दक्षता सुधार गर्न मद्दत गर्ने युएससीआईएसले अपेक्षा गरेको छ ।

निश्चित बर्गका एसाइलम आवेदकहरूले भने आफ्ना आवेदनहरू सिधै एसाइलम भेटिङ सेन्टरमा पठाउन जारी राख्नुपर्छ। अध्यागमन अदालतमा प्रकृयामा रहेका अभिभावकविनाका बालबालिकाहरूले आफ्ना आवेदनहरू लकबक्समा मेल गर्नुपर्छ।

अध्यागमन अदालतको कारबाहीमा नभएका र एसाइलम भेटिङ सेन्टरमा आफ्नो आवेदन बुझाउनु नपर्ने एसाइलम आवेदकहरूका लागि अनलाइन फाइलिङ पनि उपलब्ध छ। आफ्नो आवेदन कहाँ पठाउने भन्नेबारे जानकारी पाउन यो टुलको प्रयोग गर्न सक्नुहुनेछ ।

एसाइलम आवेदकहरुलाई युएससीआईएसले ८ वटा फाइलिङ टिप्सहरु दिएको छ । युएससीआईएसले हाल कागजी रुपमा भरिएका एसाइलम आवेदन आई ५८९ बढ्दो संख्यामा प्राप्त गरिरहेको उल्लेख गर्दै अपूर्ण वा अनुचित रूपमा दायर गरिएका आवेदनहरु अस्वीकार गर्ने चेतावनीसहित फाइलिङ टिप्सहरु दिएको हो ।

फाइलिङ अस्वीकृत हुनबाट जोगिन र युएससीआईएसद्वारा एसाइलम आवेदनको समयमै स्वीकृति सुनिश्चित गर्न, पूर्ण र हस्ताक्षर गरिएको आवेदन सही रूपमा पेश गर्नु महत्त्वपूर्ण रहेको युएससीआईएसको भनाई छ। फाइलिङ आवश्यकताहरूमा थप जानकारीको लागि ८ वटा फाइलिङ सुझावहरू र अनलाइन स्रोतहरू ध्यानपूर्वक समीक्षा गर्न सुझाव दिइएको छ ।

पहिलो, आवेदकदले आफु, आफ्नो पति वा पत्नी र छोराछोरीको लागि योग्यता आवश्यकताहरूको लागि फारम आई ५८९ मा रहेका निर्देशनहरूको समीक्षा गर्न सुझाव दिइएको छ । दोश्रो, अनलाइन फाइल गर्न सकिने नसकिनेबारे निर्धारण गर्न फाइलिङ निर्देशन उपकरण प्रयोग गर्न सुझाव दिइएको छ । तेश्रो, नयाँ संस्करण मितिको फारम आई ५८९ पेश गर्न सुझाव दिइएको छ । आवेदकले फारम र निर्देशनहरूमा पृष्ठको तलमा संस्करण मिति फेला पार्न सक्छन् ।

चौथो, आवेदकले फारम आई ५८९ को सबै पृष्ठहरू समावेश गर्नुपर्छ। पाँचौं, फारम संस्करण मिति र पृष्ठ नम्बरहरू सबै पृष्ठहरूको तल देखिने सुनिश्चित गर्नुपर्छ भने सबै पृष्ठहरू एउटै फारम संस्करणका हुनुपर्छ । यदि फारमको कुनै पनि पृष्ठहरू हराइरहेका छन् वा फरक फारम संस्करणबाट छन् भने आवेदन अस्वीकार हुन सक्नेछ । छैठौं, आवेदकले पृष्ठ ९ को भाग ८ मा फारममा हस्ताक्षर गर्नुपर्छ।

सातौं, आवेदकले फारममा स्पष्टीकरण क्षेत्रहरूमा विवरण उल्लेख गर्नुपर्छ भने फारम अंग्रेजीमा भर्नुपर्छ। आठौं, फारम पेश गर्दा पासपोर्ट शैलीको फोटो, फारमको धेरै प्रतिहरू, वा सर्पोटिङ कागजातहरूको धेरै प्रतिलिपिहरू पेश नगर्न सुझाव दिइएको छ । थप फाइलिङ सुझावहरूको लागि फारम आई ५८९ पृष्ठको फाइलिङ सुझावहरू खण्ड हेर्न सकिनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com