अब अमेरिकी नागरिकता आवेदन दिंदा नै सोसल सेक्युरिटी नम्बरको रेकर्ड अपडेट गर्न सकिने


प्रकाशित मिति : चैत्र १५, २०८० बिहीबार

अब अमेरिकी नागरिकता आवेदन दिंदा नै सोसल सेक्युरिटी नम्बरको रेकर्ड अपडेट गर्न सकिने भएको छ । अप्रिल १ देखि नयाँ संस्करणको नागरिकता आवेदन एन ४०० भर्दा नै सोसल सेक्युरिटी नम्बर अनुरोध गर्न, पुनस्थार्पनाका लागि अनुरोध गर्न र युएससीआईएसलाई अमेरिकी नागरिकको रूपमा सोसल सेक्युरिटी नम्बरमा आफ्नो अध्यागमन स्थिति अद्यावधिक गर्ने अधिकार दिन सकिने भएको छ ।

सोसल सेक्युरिटी नम्बर अपडेटको अनुरोध गर्न नागरिकता आवेदन फारम एन ४०० मा थप प्रश्नहरू भर्ने विकल्प उपलब्ध हुनेछन् । फारम एन ४०० मा सोसल सेक्युरिटी कार्ड अपडेटको विकल्प छनोट गर्नाले धेरैजसो नयाँ नागरिकहरूलाई सोसल सेक्युरिटी कार्ड अपडेट गर्नका लागि सोसल सेक्युरिटी फिल्ड अफिसमा गएर अमेरिकी नागरिकता लिएको प्रमाणित गर्ने कागजात उपलब्ध गराउने बाध्यता हट्नेछ । तर आवश्यकता भएमा सोसल सेक्युरिटी प्रशासनले थप जानकारी अनुरोध गर्नसक्ने जनाइएको छ ।

सोसल सेक्युरिटी कार्ड अनुरोध वा अपडेट गर्ने विकल्प नागरिकता आवेदनको अप्रिल १ , २०२४ को संस्करणमा मात्र उपलब्ध हुनेछ । एन ४०० आवेदनका विगतका संस्करणहरुमा यो सुविधा उपलब्ध छैन । अमेरिकी नागरिकता आवेदन दिंदा सोसल सेक्युरिटी नम्बर अपडेटको विकल्प छनौट नगर्ने वा पूरानै फर्म प्रयोग गर्नेहरुले अमेरिकी नागरिकता लिइसकेपछि सोसल सेक्युरिटी कार्यालयमा गएर सोसल सेक्युरिनी नम्बर अपडेट गर्नुपर्छ ।

अमेरिकी नागरिकताको आवेदन अनलाइनमार्फत दिनेहरुका सन्दर्भमा अप्रिल १ पछि यो विकल्प अनलाइन आवेदनमा स्वत उपलब्ध हुनेछ । अनलाइनबाट नागरिकता आवेदन पेश गर्नका लागि आवेदनकले युएससीआईएसमा अनलाइन एकाउन्ट खोल्नुपर्नछ । अप्रिल १ बाट अमेरिकी नागरिकता आवेदन शुल्क ७६० डलर तिर्नुपर्नेछ । तर अनलाइनबाट फाइल गर्नेहरुले ५० डलर डिस्काउन्ट पाउनेछन् अर्थात् ७१० डलर शुल्क तिरे पुग्नेछ ।

तपाईले अमेरिकी नागरिकता लिनुभन्दा अगाडि नै सोसल सेक्युरिटी नम्बर प्राप्त गर्नुभएको थियो भने तपाईले  अमेरिकी नागरिकता लिइसकेपछि सोसल सेक्युरिटी रेकर्ड अपडेट गर्नुपर्छ । तर तपाईले नयाँ सोसल सेक्युरिटी नम्बर भने लिनु पर्दैन । तपाईको पूरानै नम्बरमा रेकर्ड अपडेट गर्न आवश्यक छ ।

नागरिकता आवेदन दिंदा नै अपडेट अनुरोध नगर्नेहरुले  नागरिकता लिइसकेपछि  कम्तीमा १० दिन पछाडि सोसल सेक्युरिटी अफिसमा गएर आफ्नो विवरण अपडेट गर्नुपर्छ । नागरिकता लिइसकेपछि सपथग्रहण समारोह भएको कम्तीमा १० दिन प्रतिक्षा गर्न युएससीआईएसले सुझाव दिएको छ । नागरिकता लिइसकेपछि नागरिकताको प्रमाणपत्र वा पासपोर्ट लिएर जानुपर्छ ।

जागिरका लागि, सोसल सेक्युरिटी सुविधा लिन र अन्य सरकारी सुविधा प्राप्त गर्नका लागि तपाईको सोसल सेक्युरिटी रेकर्ड ठीकठाक हुन आवश्यक छ । तपाईलाई काममा लगाइसकेपछि रोजगारदाताले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको वेवसाइटमा आधारित प्रणालीमा तपाईको सोसल सेक्युरिटी हालेर तपाई काम गर्न योग्य भए नभएको निर्धारण गर्न सक्छन् ।

यदि तपाईको सोसल सेक्युरिटी रेकर्ड अपडेट नभएको खण्डमा रोजगारदाताले प्राप्त गर्ने कामको योग्यता सम्बन्धि विवरणमा फरक पर्नसक्छ । किनभने अमेरिकामा कतिपय कामका लागि अमेरिकी नागरिकता हुनसमेत अनिवार्य हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com