आजदेखि ग्रिनकार्ड लगायतका आवेदनमा शुल्कबृद्धि, अनलाइन फाइल गर्दा ५० डलर डिस्काउन्ट


प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार

युएससीआईएसले  अप्रिल १ देखि ग्रिनकार्ड लगायतका विभिन्न आवेदनहरुमा नयाँ शुल्क लागु गरेको  छ । नयाँ नियमले कामदार भिसा एचवान बीको लोटरीमा समावेश हुनका लागि लाग्ने शुल्क समेत १० डलरबाट बढाएर २१५ डलर बनाएको छ भने अन्य प्रकारका कामदार भिसाका पनि आवेदन शुल्कमा उल्लेख्य बृद्धि गरेको छ । यो नियम अप्रिल १ बाट लागु भएकाले यसपटक कामदार भिसा एचवान बीका लागि दर्ता गर्नेहरुले १० डलर नै तिरेका छन् भने अर्कोपटकदेखि २१५ डलर तिर्नुपर्नेछ ।

त्यो बाहेक अब थोरै अपवादबाहेक बायोमेट्रिक शुल्क छुट्टै लिइनेछैन । चेक फिर्ता भएमा लाग्ने ३० डलर जरिवाना हटाइएको छ भने ग्रिनकार्ड आवेदन, ट्राभल डकुमेन्ट र वर्क परमिट एकसाथ फाइल गरेपनि छुट्टाछुट्टै शुल्क तिर्नुपर्नेछ । आवेदकलाई अनलाइनबाट आवेदन दिन प्रोत्साहन गरिएको छ भने अनलाइनबाट आवेदन दिनेहरुले कागजीरुपमा फाइल गर्नेहरुको तुलनामा ५० डलर कम शुल्क तिर्नेछन् । प्रस्तावित नियमको तुलनामा अन्तिम नियममा शुल्कबृद्धिमा हेरफेर समेत गरिएको छ ।

कैयन आवेदनहरु अनलाइनबाट फाइल गर्दा कम शुल्क लिइने छ भने कागजी रुपमा फाइल गर्दा बढी शुल्क लिइनेछ । ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्दा अहिलेको ११४० डलरबाट ३ सय डलर शुल्कबृद्धि गरेर १४४० डलर बनाइएको छ । तर ८५ डलर बायोमेट्रिक शुल्क भने लिइनेछैन । अर्थात् अहिले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्दा बायोमेट्रिक शुल्कसहित १२२५ डलर तिर्नेले अब बायोमेट्रिक सेवा आवश्यक परेको खण्डमा समेत १४४० डलरमै हुनेछ । १४ बर्षभन्दा कम उमेरका आवेदकका सन्दर्भमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्दा अहिलेको ७५० डलरबाट २ सय डलर बढाएर ९ सय ५० डलर बनाइएको छ ।

ग्रिनकार्ड प्रतिस्थापनका लागि अनलाइनबाट आवेदन दिंदा ४१५ डलरमात्र लाग्नेछ, जुन अहिलेको शुल्कको तुलनामा ४० डलर कम हो । अहिले बायोमेट्रिक शुल्कसहित ग्रिनकार्ड प्रतिस्थापनका लागि अनलाइनबाट आवेदन दिंदा ५४० डलर लाग्ने गरेकोमा अब बायोमेट्रिक शुल्क लिइनेछैन भने आवेदकलाई १२५ डलर सस्तो पर्नेछ । तर कागजीरुपमा ग्रिनकार्ड प्रतिस्थापनका लागि आवेदन दिनेहरुले भने अप्रिल १ देखि ४६५ डलर तिर्नुपर्नेछ ।

कामदार भिसा एचवानबीका लागि आई १२९ फर्म भर्दा ७८० डलर लिइनेछ । यो शुल्क अहिले ४६० डलर रहेकोमा ३२० डलर बढाइएको छ । तर गैर नाफामुलक र साना रोजगारदाताका सन्दर्भमा भने ४६० डलर नै लिइनेछ । इन्ट्राकम्पनी ट्रान्सफर एल श्रेणीको कामदार भिसाका लागि आई १२९ आवेदनमा अहिलेको शुल्क ४६० बाट ९२५ डलर बढाएर अप्रिल १ देखि १३८५ डलर लागु गरिनेछ । साना रोजगारदाता र गैर नाफामुलक कम्पनीले भने ९२५ डलर तिरे पुग्नेछ ।

परिवारमा आधारित ग्रिनकार्डका लागि फाइल गरिने आई १३० पिटिसन अनलाइनबाट फाइल गर्दा अहिलेको तुलनामा ९० डलर बढी अर्थात् ६२५ डलर तिर्नुपर्नेछ भने कागजी रुपमा फाइल गर्दा अहिलेको तुलनामा १४० डलर बढी अर्थात् ६७५ डलर तिर्नुपर्नेछ । ट्राभल डकुमेन्टका लागि बायोमेट्रिक सहित आई १३१ आवेदन दिंदा ६६० डलर लाग्दै आएकोमा बायोमेट्रिक शुल्क हटाइएकाले ६३० डलरमात्र लाग्ने भएको छ । अर्थात अहिलेको तुलनामा ३० डलर कम लाग्नेछ । रोजगारमा आधारित ग्रिनकार्ड आवेदनका लागि आई १४० पिटिसन फाइल गर्दा अहिलेको शुल्क ७ सय डलर रहेकोमा १५ डलर बढाएर अप्रिल १ बाट ७१५ डलर लागु हुनेछ ।

गैर आप्रवासी भिसाको स्थीति परिवर्तन वा भिसा थपका लागि बायोमेट्रिक शुल्क सहित ४५५ डलर लाग्दै आएकोमा अब अनलाइनबाट फाइल गर्दा ४२० र कागजी रुपमा फाइल गर्दा ४७० डलर लाग्ने भएको छ । वर्क परमिटको शुल्क बायोमेट्रिक शुल्क सहित ४९५ डलर रहेकोमा अब अनलाइनबाट फाइल गर्दा ४७० डलर र कागजी रुपमा फाइल गर्दा ५२० डलर लाग्नेछ । अमेरिकी नागरिकताका लागि एन ४०० फाइल गर्दा बायोमेट्रिक शुल्क सहित ७२५ डलर लाग्दै आएकोमा अब अनलाइनबाट फाइल गर्दा ७१० डलर र कागजी रुपमा फाइल गर्दा ७६० डलर लाग्नेछ ।

त्यस्तै युएससीआईएसको इमिग्रयान्ट शुल्क पनि २२० डलरबाट २३५ डलर बनाइएको छ । नयाँ शुल्कहरूसँगै अप्रिल १, २०२४ देखि लागू हुनेगरी कैयन आवेदन फर्म पनि युएससीआईएसले संसोधन गरेको छ । केही आवेदनका सन्दर्भमा जुन ३ सम्म फर्मका पुरानै संस्करण पनि स्वीकार गरिने भएतापनि शुल्क भने नयाँ तिर्नुपर्नेछ । तर फर्म आई १२९, आई १२९ डब्ल्यु, आई १४०, आइ ६०० र आई ६०० एको नयाँ संस्करण भने अनिवार्य रुपमा अप्रिल १ बाटै लागु हुनेछ । यी आवेदनका सन्दर्भमा अप्रिल १ पछि फर्मको पुरानो संस्कण पठाएमा आवेदन अस्वीकार गरिनेछ ।

कुन आवेदनमा कति शुल्कबृद्धि? विस्तृतमा थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com