६ सयभन्दा बढीको जीवन बचाएर आफूले अमेरिकामा आत्मदाह गरेका मैनालीको दाहसंस्कारका लागि फण्डरेज


प्रकाशित मिति : फाल्गुन १, २०८० मंगलबार

रक्तदानमार्फत ६ सयभन्दा बढीको जीवन बचाएर र सामाजिक सेवामा डोनेशनबाटमात्र ५० हजार डलरभन्दा धेरै नगद खर्चेर आफूले अमेरिकामा आत्मदाह गरेका मैनालीको दाहसंस्कारका लागि गोफण्डमीमा फण्डरेज सुरु गरिएको छ । ग्रेटर शार्लोट नेपलिज एसोसिएसनले सुरु गरेको फण्डरेजमा अहिलेसम्म ८ हजार डलर संकलन भएको छ ।

कठिन समयमा मैनालीको परिवारलाई अन्त्येष्टि खर्च र थप सहयोगको लागि फण्डरेज सुरु गरेको एसोसिएसनले जनाएको छ । मैनालीको विरासतलाई सम्मान गर्न र प्रियजनहरूलाई सान्त्वना दिनको लागि आर्थिक योगदानको आव्हान गरिएको छ । मैनालीको परिवारलाई सहयोग गर्न र उनको जीवनको गहिरो प्रभावलाई सम्झेर एकताबद्ध बन्न सबैलाई आग्रह गरिएको छ ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

१ लाख भन्दा बढी मिलिलिटर रक्तदान गरेर ६ सयभन्दा बढीको जीवन बचाएका अमेरिका निवासी चर्चित रक्तदाता अर्जुन मैनालीले आइतबार साँझ अमेरिकामा भयानक मृत्यु रोजेका थिए  । सामाजिक सञ्जाल फेसबुकमा जलेर आत्मदाह गर्न लागेको सन्देश पोष्ट गरेर बेपत्ता भएका मैनालीको शव त्यसको केही घण्टामा नर्थ क्यारोलिनाको लाटा नेचर प्रिजर्भको क्वेष्ट पार्कमा भेटिएको थियो । भाडामा लिएको गाडीभित्र उनको शव भेटिएको थियो ।

मैनालीले सामाजिक सञ्जालमा आफूले आत्मदाह गर्न लागेको सन्देश पोष्ट गरेपछि स्थानीय प्रहरीलाई खबर गरिएको थियो । स्थानीय प्रहरी केहीबेरमा नर्थ क्यारोलिनामा रहेको मैनालीको निवासमा पुगेको थियो । त्यसपछि उनको फोन ट्रयाक गर्दा लाटा नेचर प्रिजर्भ क्षेत्रमा भएको पत्ता लागेको थियो । नेपाली समुदायका व्यक्तिसहित प्रहरी उक्त क्षेत्रमा पुगेको थियो । त्यहाँ पुग्दा मैनालीले विभत्स मृत्यु रोजेको प्रहरीले फेला पारेको थियो । उनको शरीर जलेको अवस्थामा भेटिएको थियो ।

अमेरिकामा रहेका नेपालीहरुले मैनालीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । मैनालीले सामाजिक सञ्जालमा नोट पोष्ट गरेर बेपत्ता भएपछि बेचैन बनेको अमेरिकाको नेपाल समाज उनको मृत्युको खबरले स्तब्ध भएको छ ।

मैनालीले विश्वका २० देशमा २ सयभन्दा बढीपटक रक्तदान गरेर ६ सयभन्दा बढीको ज्यान बचाएका थिए । उनले अमेरिकामा रहेको नेपाली समाज र विश्वभर रहेका नेपालीहरुलाई रक्तदानको लागि प्रेरित गर्दै आएका थिए । रक्तदानमात्र नभएर मैनालीले अन्य सामाजिक क्षेत्रमा पनि उल्लेख्य योगदान दिदै आएका थिए । अमेरिकादेखि नेपालसम्म समस्यामा परेका विभिन्न व्यक्तिलाई दानका लागि पनि उनी सधै अगाडि सर्थे ।

मैनालीको सम्मानमा न्युयोर्कको ओएस्टर बे टाउनले सन् २०१९ डिसेम्बर २२ लाई अर्जुन मैनाली डे घोषणा गरेको थियो । सन् १८१८ को डिसेम्बर २२ मा पहिलोपटक मानवमा रक्त प्रत्यारोपण गरिएको इतिहास छ । त्यही इतिहासलाई मध्यनजर गरेर २०१९ को डिसेम्बर २२ लाई विश्व रक्तदाता अर्जुन मैनाली डे घोषणा गरिएको थियो ।

सन् १९६८ मा काभ्रेको सिपाली ९ मा जन्मिएका थिए अर्जुन प्रसाद मैनाली । बुबा पदम केशर मैनाली र माता सावित्री मैनालीका छोरा अर्जुन मैनालीले सन् १९८७ को अगस्त २० मा काठमाडौंको विशाल बजार लायन्स क्लबमा गरिएको रक्तदान कार्यक्रममा पहिलोपल्ट रक्तदान गरेपछि लगातार रक्तदान गर्दै आएका थिए ।

रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम पालेकाहरुलाई मैनालीले सचेतनाको पाठ समेत पढाउदै आए ।  यस्तो भ्रम रहेको थाहापाएपछि उनले आफैले भ्रम चिर्न अभियान नै चलाए । सन् १९९० मा १६ औं पटक रक्तदान गरेको एक घण्टापछि उनी भक्तपुरबाट देशब्यापी साइकल यात्रामा निस्किएका थिए । रक्तदान गरेको एकघण्टापछि नै साइकलमा देशव्यापी भ्रमण गर्न सकिने भएपछि कमजोर भइन्छ भन्ने भ्रम हटाउन सहयोग पुगेको थियो ।

सन् २००० मा अमेरिका आएपछि उनले अमेरिकाका ब्लड बैंकहरुको पनि भ्रमण गरे । अनि थाहा पाए, हरेक २ सेकेन्डमा कोही न कोही बिरामीलाई रगतको जरुरत पर्दो रहेछ । त्यो थाहा पाएदेखि मैनालीले मौका मिलेसम्म वर्षको ६ पटक रक्तदान गर्दै आएका थिए । कोरोना महामारीमा त उनले २२ पटक रक्तदान गरेका थिए ।  अमेरिका आउदाका सुरुका वर्षमा उनी एक्लै ब्लड बैंकमा जान्थे । पछि विस्तारै अरुलाई पनि लिएर जान थाले । पछि अमेरिकामा रहेका नेपाली संस्थाहरुलाई पनि रक्तदान कार्यक्रम गर्न प्रोत्साहित गरे ।

ब्लड डोनेशनमा आफ्नो जीवन समर्पित गरे बापत उनले पाएका प्रशंसापत्र, प्रमाणपत्र र अवार्डहरुको  ठूलै चाङ छ । अर्जुन मैनाली रक्तदानमा मात्र होइन, नगद दानमा पनि निकै दानी थिए । २०४६ सालमा हुलाकमा मुखिया हुंदा उनले मासिक तलब ६४५ रुपैया पाउथे । तलब पाएकै दिन उनले रेडक्रशमा गएर ५ सय रुपैया चन्दा दिएका थिए । अमेरिकामा पनि उनले आफ्नो कमाइको ठूलो रकम समाजसेवामा खर्च गर्दै आएका थिए । मैनालीले ५० लाख भन्दा धेरै नगद रकम  समाजसेवामा खर्च गरेका थिए ।

उनी न्युयोर्कको हिक्सभिलमा श्रीमति तारा मैनाली र छोरी अमून र छोरा अमितका साथ लामो समय बसेका थिए ।  कोरोना महामारीपछि परिवारका साथमा उनी नर्थ क्यारोलिना बसाई सरेपछि पनि रक्तदान र सामाजिक कार्यमा सकृय रहदै आएका थिए । ११ भाषामा उनको बायोग्राफी लेखिएको पुस्तक समेत प्रकाशित गरिएको थियो ।

 

(If you are in crisis, please seek help immediately. 

USA: National Suicide Prevention Lifeline: 800-273-8255

UK : If you feel like you might attempt suicide, or may have seriously harmed yourself, you need urgent medical help. Please call 999 for an ambulance. 

Nepal: Patan Mental Hospital’s National-level toll-free 24-hour helpline 1166 operates 24 hours.

The Transcultural Psychosocial Organization (16600102005) provides helpline services between Monday to Friday from 9:30 am to 4:30 pm. BPKIHS Helpline: 9805316785, 9802331176 from 8:30 am to 5 pm everyday.)  

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com