बाढीपीडितका लागि सहयोग जुटाउँदै शिव र समीक्षाको अमेरिका टुर, अक्टोबर ४ मा न्यूयोर्कमा
प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार
गायक शिव परियार र गायिका समीक्षा अधिकारी अमेरिकामा सांगीतिक यात्रामा । फोटो: बद्री थापा
न्यूयोर्क — नेपाली संगीतका स्थापित गायक शिव परियार र नयाँ पुस्ताकी गायिका समीक्षा अधिकारी यसपटक अमेरिकामा सांगीतिक यात्रामा छन्। “दशैं–तिहार धमाका यूएसए टुर” अन्तर्गत उनीहरू अमेरिकाको पूर्वी तटदेखि पश्चिम तटसम्म करिब एक दर्जन कार्यक्रममा सहभागी हुने योजनामा छन्।
भर्जिनियास्थित थ्री-ई इन्टरटेनमेन्टको आयोजनामा भइरहेको यो टुर करिब डेढ महिनासम्म चल्नेछ। परियार र अधिकारी दुवै जना अमेरिकामा व्यावसायिक सांगीतिक प्रस्तुति दिन पी–३ भिसा अन्तर्गत आएका हुन्।
अमेरिकी विदेश मन्त्रालयको कन्सुलर मामिला ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०२६ को पहिलो पाँच महिनामा २९ जना नेपालीले पी–३ भिसा प्राप्त गरेका छन्। सोही अवधिमा एक जना नेपालीले पी–४ भिसा पाएका छन्।
नेपाली कलाकारका लागि अमेरिकामा व्यावसायिक सांगीतिक यात्राको प्रमुख भिसा श्रेणीका रूपमा पी–३ प्रयोग हुँदै आएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२५ मा ४१ जना नेपालीले पी–श्रेणीका भिसा प्राप्त गरेका थिए। आर्थिक वर्ष २०२४ मा यो संख्या ६७ थियो।
त्यसअघि आर्थिक वर्ष २०२३ मा १३ र २०२२ मा सात जना नेपालीले पी–श्रेणीका भिसा पाएका थिए। कोभिड–१९ महामारीका कारण सांगीतिक कार्यक्रम र अन्तर्राष्ट्रिय यात्रा प्रभावित भएका बेला २०२१ मा कुनै पनि नेपालीलाई पी–श्रेणीको भिसा जारी भएको थिएन भने २०२० मा एक जनाले मात्र यस्तो भिसा पाएका थिए। यसअघि २०१९ मा १४, २०१७ मा ४२ र २०१६ मा ३२ जना नेपालीले पी–श्रेणीका भिसा प्राप्त गरेका थिए। यो तथ्यांकमा खेलाडीहरुको संख्या समेत समावेश छ ।
पी–३ भिसामा अमेरिका आएका शिव र समीक्षा
युएससीआईएसका अनुसार पी–३ भिसा सांस्कृतिक रूपमा विशिष्ट कार्यक्रमअन्तर्गत अमेरिकामा अस्थायी रूपमा प्रस्तुति दिने, सिकाउने वा प्रशिक्षण दिने कलाकार तथा मनोरञ्जनकर्मीका लागि हो।
यसले नेपाली कलाकारहरूलाई अमेरिकामा पारिश्रमिक लिएर व्यावसायिक सांगीतिक कार्यक्रम गर्न कानुनी बाटो उपलब्ध गराउँछ। नियमित पर्यटक वा व्यावसायिक भिसा भने पारिश्रमिक लिएर सांगीतिक प्रस्तुति दिनका लागि प्रयोग गर्न मिल्दैन। अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले यात्रुको भिसा, यात्रा उद्देश्य र अन्य उपलब्ध सूचनाका आधारमा अमेरिका प्रवेशको क्रममा थप जाँच गर्न सक्छ।
विगतमा पर्यटक भिसामा अमेरिका आएका केही नेपाली कलाकारहरू व्यावसायिक कार्यक्रममा सहभागी हुने उद्देश्य देखिएपछि विमानस्थलबाटै फर्काइएका घटनाहरू सार्वजनिक भएका थिए। त्यस्ता घटनाले नेपाली कलाकारका लागि उपयुक्त भिसाको महत्त्वलाई थप स्पष्ट पारेको कानुन व्यवसायीहरु बताउँछन्।
बाढीपीडितका लागि प्रत्येक कार्यक्रमबाट सहयोग
परियार र अधिकारीको अमेरिका टुर नेपालमा अगस्ट २६ मा आएको विनाशकारी बाढी तथा पहिरोको पृष्ठभूमिमा भइरहेको छ।
परियारका अनुसार टुरको योजना करिब एक वर्षअघि नै बनेको थियो। तर नेपालमा आएको प्राकृतिक विपत्तिपछि कार्यक्रमबाट राहतका लागि योगदान गर्ने निर्णय गरिएको हो।
“हाम्रो कार्यक्रमको योजना पहिल्यै बनेको थियो। तर नेपालमा आएको प्राकृतिक विपत्तिले परिस्थिति फरक बनायो,” परियारले भने। “हामीले आफ्नो ठाउँबाट सक्ने सहयोग गर्ने निर्णय गरेका छौँ।”
थ्री इन्टरटेनमेन्टका अध्यक्ष सुरेश सापकोटाको पहलमा प्रत्येक कार्यक्रमबाट ५०० डलरसम्म रकम प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरिएको उनले बताए।
“यो सहयोगलाई हामीले प्रचारको माध्यम बनाउन खोजेका छैनौँ,” परियारले भने। “दुःखमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो ठाउँबाट साथ दिने प्रयास हो।”
अगस्ट २६ को बाढी तथा पहिरोले भोटेकोशी–त्रिशूली जलाधार क्षेत्रसहित नेपालका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको थियो। बाढीपछि १४५० भन्दा बढीको शव भेटिएको छ भने ५ हजारभन्दा धेरै अझै बेपत्ता छन्।
“जसले आफ्ना परिवारका सदस्य गुमाउनु भएको छ, जो घरबारविहीन हुनुभएको छ, उहाँहरूको पीडा हामीले हटाउन सक्दैनौँ,” उनले भने। “तर सरकारको राहत र पुनर्स्थापना अभियानमा एउटा सानो अंश भए पनि साथ दिने प्रयास हाम्रो कार्यक्रमबाट हुनेछ।”
अक्टोबर ४ मा न्यूयोर्कमा कार्यक्रम
शिव परियार र समीक्षा अधिकारीको न्यूयोर्क कार्यक्रम अक्टोबर ४ मा द प्यालेसमा आयोजना हुँदैछ।
उनीहरू अक्टोबर २ मा एक्रोन र अक्टोबर ३ मा कोलम्बसमा कार्यक्रम गरेपछि न्यूयोर्क आउनेछन्। न्यूयोर्कमा दुवै कलाकारले करिब एक–एक घण्टाको सांगीतिक प्रस्तुति दिनेछन्।
“न्यूयोर्कमा रहेका सम्पूर्ण नेपाली संगीतप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भएर दशैं–तिहारको शुभकामना आदानप्रदान गर्दै सांगीतिक मनोरञ्जन लिन हार्दिक निमन्त्रणा गर्दछु,” परियारले भने।
अमेरिका आएपछि परियार र अधिकारीको पहिलो कार्यक्रम सेप्टेम्बर २६ मा न्यू ह्याम्पसायरमा आयोजना गरिएको “दशैं–तिहार फेस्ट” थियो।
कार्यक्रम बाहिरी स्थानमा गर्ने तयारी भए पनि वर्षाका कारण इनडोरमा सार्नुपरेको थियो। मौसमका कारण केही चुनौती आए पनि दर्शकको उपस्थितिमा कमी नआएको परियारले बताए।
“पानीका कारण कार्यक्रमको स्वरूप परिवर्तन गर्नुपर्यो। तर दर्शकहरूमा अत्यन्तै उत्साह थियो,” उनले भने। “नेपाली समुदायले हामीलाई अत्यन्तै माया र साथ दिनुभयो।”

शिव परियार: लामो सांगीतिक यात्राका स्थापित गायक
शिव परियार नेपाली आधुनिक संगीतका स्थापित गायक तथा पार्श्व गायक हुन्। सर्लाहीमा जन्मिएका परियारले सानै उमेरदेखि संगीतमा रुचि राख्दै सांगीतिक यात्रा सुरु गरेका थिए।
रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा सफलता पाएपछि उनी नेपाली संगीत क्षेत्रमा थप स्थापित भएका हुन्। आधुनिक, पप, गजल र चलचित्रका गीतमा आफ्नो स्वर दिएका परियारका “कहाँ थियौ तिमी”, “धेरै चोटी मरेँ म त” र “अलिकति नजर तिम्रो” लगायतका गीत श्रोतामाझ लोकप्रिय छन्।
उनले नेपालबाहेक बेलायत, अष्ट्रेलिया, जापान, युरोप तथा मध्यपूर्वका विभिन्न देशमा प्रस्तुति दिइसकेका छन्। अमेरिकाको यो यात्रा उनको छैटौँ अमेरिका यात्रा हो। तर यसपटकको यात्रा उनका अघिल्ला भ्रमणभन्दा फरक छ।
“पहिले म साथीभाइ भेट्न, समुदायका कार्यक्रममा सहभागी हुन आउँथेँ,” परियारले भने। “तर यसपटक व्यावसायिक कलाकारका रूपमा दर्शकलाई निमन्त्रणा गर्दै आएको छु।”
उनले थ्री इन्टरटेनमेन्टका अध्यक्ष सुरेश सापकोटा र संयोजक प्रकाश सापकोटालाई यो अवसरका लागि धन्यवाद दिए।
समीक्षा अधिकारीको पहिलो अमेरिका टुर
समीक्षा अधिकारीका लागि भने यो पहिलो अमेरिका यात्रा हो।
चलचित्र “नाइँ नभन्नू ल ४” को “बालापनको उमेर” गीतबाट व्यापक रूपमा चिनिएकी अधिकारी पछिल्लो पुस्ताकी चर्चित नेपाली गायिका हुन्। आधुनिक गीत तथा चलचित्रका पार्श्व गीतमार्फत उनले छोटो समयमै नेपाली संगीतमा आफ्नो पहिचान बनाएकी छन्।
परियारका लागि समीक्षा अधिकारीसँग एउटै टुरमा सहभागी हुनु नयाँ पुस्ताबाट सिक्ने अवसर पनि हो।
“समीक्षा बहिनी अहिलेको नयाँ पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ,” उनले भने। “अहिलेको पुस्ताको सोच, संगीतप्रतिको रुचि र मनोरञ्जनको शैली बुझ्ने अवसर पाइरहेको छु।”
उनका अनुसार नयाँ पुस्तासँग सहकार्य गर्दा आफूलाई पनि समयअनुसार अपडेट गर्ने अवसर मिलेको छ।
“हामी जहिले पनि समयसापेक्ष रूपमा अपग्रेड हुनुपर्छ,” उनले भने। “नयाँ पुस्ताबाट सिक्ने र आफ्नो अनुभव बाँड्ने दुवै अवसर यो टुरले दिएको छ।”
पी–३ कलाकारका लागि करसम्बन्धी दायित्व
अमेरिकामा पी–३ भिसामा व्यावसायिक कार्यक्रम गर्ने कलाकारहरूले अमेरिकी करसम्बन्धी नियम पनि पालना गर्नुपर्छ।
न्यूयोर्कस्थित सीपीए तथा कर विशेषज्ञ बिराज रिजालका अनुसार पी–३ भिसामा आएका कलाकारले अमेरिकामा प्राप्त गरेको आम्दानीमा लागू हुने कर दायित्व पूरा गर्नुपर्छ।
कार्यक्रम आयोजकले गैरआवासीय कलाकारको भुक्तानीबाट सामान्यतया ३० प्रतिशतसम्म कर रोक्का गर्न सक्ने र कलाकारले आवश्यक कर विवरण बुझाएर बढी रोक्का भएको रकम फिर्ता दाबी गर्न सक्ने उनले बताए।
पी–३ भिसा धारकले सामाजिक सुरक्षा नम्बरका लागि आवेदन दिन सक्छन्। त्यस्तो नम्बर नभए कर विवरण बुझाउन आवश्यकताअनुसार करदाता पहिचान नम्बर प्रयोग गर्नुपर्ने हुन सक्छ।
रिजालका अनुसार अमेरिकामा कलाकारले प्राप्त गरेको आम्दानीको कर विवरण नबुझाउँदा भविष्यमा भिसा तथा अमेरिकी यात्रासम्बन्धी समस्या आउन सक्छ।
अमेरिकी कर नियमअनुसार अमेरिकामा प्रस्तुति दिएर आम्दानी गर्ने गैरआवासीय कलाकारका लागि छुट्टै विथहोल्ड र रिपोर्ट व्यवस्था रहेको छ।

पी–३ भिसा बढेसँगै नियम पालना गर्न चेतावनी
नेपाली कलाकारहरूको अमेरिका यात्रा बढ्दै गएसँगै उनीहरूले पी–३ भिसाका सर्त पालना गरे–नगरेको विषयमा पनि कानुन व्यवसायीहरूले सावधानी अपनाउन आग्रह गरेका छन्।
न्यूयोर्कका कानुन व्यवसायी केशव राज सेढाईंका अनुसार पी–३ भिसा सामान्यतः निश्चित रोजगारदाता वा संस्थासँग सम्बन्धित हुन्छ। अर्थात् कलाकारले भिसा आवेदनमा उल्लेख गरिएको रोजगारदाता, प्रतिनिधि वा स्वीकृत कार्यक्रमअन्तर्गत मात्र काम गर्न पाउँछन्।
“पी–३ भिसा निश्चित रोजगारदातासँग सम्बन्धित हुन्छ,” सेढाईंले भने। “मूल आवेदनमा उल्लेख नभएको व्यक्ति वा संस्थाबाट पारिश्रमिक लिनु भिसाका सर्तको उल्लंघन हुन सक्छ।”
उनका अनुसार कुनै नयाँ संस्था वा आयोजकबाट कानुनी रूपमा पारिश्रमिक लिनुपरेमा नयाँ रोजगारदाताले अमेरिकी नागरिकता तथा आप्रवासन सेवामा आई–१२९ निवेदन दायर गरी स्वीकृति लिनुपर्छ। यस्तो स्वीकृति प्राप्त नभएसम्म नयाँ संस्थाका लागि काम गर्न वा त्यसबाट पारिश्रमिक लिन नहुने उनले बताए।
कानुन व्यवसायी बाशु फुलाराले पनि पी–३ भिसामा रहेका कलाकार तथा उनीहरूसँग सम्बन्धित आवश्यक सहयोगी कर्मचारीले आफ्नो स्वीकृत निवेदनका सर्तहरू कडाइका साथ पालना गर्नुपर्ने बताए।
उनका अनुसार नयाँ वा थप रोजगारदाताका लागि काम सुरु गर्नु वा त्यसबाट कुनै प्रकारको भुक्तानी लिनुअघि सम्बन्धित रोजगारदाताका लागि छुट्टै आई–१२९ निवेदन अमेरिकी नागरिकता तथा आप्रवासन सेवाबाट स्वीकृत हुनुपर्छ।
“स्वीकृति आउनुअघि काम गर्नु अनधिकृत रोजगारी मानिन्छ र यसले व्यक्तिको आप्रवासन स्थिति तथा भविष्यमा प्राप्त हुन सक्ने आप्रवासनसम्बन्धी सुविधामा असर पार्न सक्छ,” फुलाराले भने।
पी–३ कलाकारका लागि समस्या रोजगारदातामा मात्र सीमित हुँदैन। सेढाईंका अनुसार कलाकारले आफ्नो स्वीकृत आवेदनमा उल्लेख नभएको स्थानमा कार्यक्रम गर्नु वा तोकिएको कार्यक्रमबाहिर पारिश्रमिक लिएर प्रस्तुति दिनु पनि भिसाका सर्त उल्लंघन हुन सक्छ।
पछिल्ला वर्षहरूमा नेपाली कलाकारहरू निजी पार्टी, रेस्टुरेन्ट तथा अन्य अनौपचारिक कार्यक्रममा प्रस्तुति दिएको देखिने फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका घटनापछि कानुनी विज्ञहरूले कलाकारहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्। उनीहरूका अनुसार कुनै कार्यक्रम मूल स्वीकृत निवेदन वा स्वीकृत कार्यक्रम तालिकामा समावेश नभएको अवस्थामा त्यहाँ पारिश्रमिक लिएर प्रस्तुति दिनुअघि आवश्यक स्वीकृति लिनुपर्छ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका नियमअनुसार पी–३ कलाकारले स्वीकृत निवेदनमा उल्लेख गरिएका सर्तअनुसार मात्र काम गर्न पाउँछन्। यदि अमेरिकी प्रतिनिधिले कलाकारका लागि एकभन्दा बढी रोजगारदाता वा कार्यक्रम समेटेर निवेदन दायर गरेको छ र ती सबै कार्यक्रम स्वीकृत कार्यक्रम तालिकामा समावेश छन् भने त्यही दायराभित्र काम गर्न सकिन्छ।
तर मूल आवेदनमा उल्लेख नभएको पूर्ण रूपमा नयाँ रोजगारदाताका लागि काम गर्नुपरेमा नयाँ निवेदन आवश्यक पर्न सक्छ। नयाँ निवेदन स्वीकृत हुनुअघि त्यस्तो रोजगारदाताका लागि काम सुरु गर्नु वा पारिश्रमिक लिनु कानुनी जोखिमको विषय बन्न सक्छ।





