ट्रम्प प्रशासनद्वारा पहिलोपटक दर्जनौँ अफगान शरणार्थीलाई पाकिस्तान देशनिकाला गर्ने तयारी
प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार
Photo: Veer Mickey Shah/ Unsplash
ट्रम्प प्रशासनले दर्जनौँ अफगान आप्रवासी तथा शरणार्थीहरूलाई पहिलोपटक विशेष उडानमार्फत पाकिस्तान देशनिकाला गर्ने तयारी गरिरहेको छ। एक वरिष्ठ प्रशासकीय अधिकारीका अनुसार, मानवअधिकारवादी तथा आलोचकहरूले यो कदमले उनीहरूको ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्।
अझै सार्वजनिक नगरिएको उक्त सम्भावित देशनिकाला उडान अधिकारकर्मी तथा बन्दीका परिवारजनका अनुसार आगामी सोमबार नै हुन सक्नेछ।
देशनिकालाको जोखिममा परेकाहरूमा २० वर्ष लामो युद्धमा अमेरिकी सेनालाई सहयोग गरेका अफगान नागरिकका नातेदारहरू समेत रहेका छन्। तालिबान पुनः सत्तामा आइसकेको अवस्थामा पाकिस्तानले उनीहरूलाई अफगानिस्तान नै फिर्ता पठाएमा गम्भीर परिणाम भोग्नुपर्ने जोखिम बढेको छ।
युद्ध र राजनीतिक अस्थिरताका कारण विस्थापित अफगानहरूलाई अमेरिकाले दशकौँदेखि स्वागत गर्दै आएको थियो। सन् २०२१ मा अमेरिकी सेना फिर्ता भएपछि हजारौँ अफगानहरू अमेरिका पुगेका थिए। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि व्यापक अध्यागमन कडाइको हिस्सास्वरूप अफगान तथा अन्य शरणार्थीको प्रवेशमा रोक लगाएका थिए।
ट्रम्प प्रशासनले गैर-नागरिकहरूलाई उनीहरूको आफ्नै देशबाहेक अन्य तेस्रो मुलुकहरूमा देशनिकाला गर्दै आएको छ। अध्यागमन वकीलहरूका अनुसार, शरणार्थीहरूलाई उनीहरू भागेर आएको देशमा फिर्ता पठाउन नपाइने अन्तर्राष्ट्रिय कानुनलाई पन्छाउन यसो गरिएको हो। यस्ता तेस्रो-देश देशनिकाला सम्झौताहरूको वैधानिकताबारे डिसेम्बरमा सर्वोच्च अदालतमा बहस हुने तय भएको छ।
पाकिस्तानसँग अमेरिकाको कस्तो औपचारिक सम्झौता छ भन्ने स्पष्ट छैन, तर ती वरिष्ठ अधिकारीका अनुसार पाकिस्तानी सरकारको जानकारी र स्वीकृतिबिना अमेरिकी चार्टर उडान त्यहाँ अवतरण हुन सक्दैन।
अधिकारवादी संस्था ‘अफगानइभ्याक’का अध्यक्ष शन भानडाइभरका अनुसार पछिल्ला दिनहरूमा कम्तीमा ८० जना अफगानहरूलाई अमेरिकाभरिका ३४ वटा अध्यागमन केन्द्रहरूबाट लुजियाना सारिएको पुष्टि भएको छ, जसमध्ये १९ जनासँग कुनै कानुनी प्रतिनिधि छैनन्।
पाकिस्तान पठाइएका अफगानहरू त्यहाँ लामो समय सुरक्षित रहने सम्भावना कम छ। पाकिस्तानले सन् २०२३ देखि अफगान शरणार्थीहरूमाथि व्यापक धरपकड सुरु गर्दै लाखौँलाई देश छाड्न दबाब दिएको छ र धेरैलाई जबर्जस्ती फिर्ता पठाएको छ।
यता, तालिबानको कठोर शासन, महिला अधिकारमाथिको अंकुश, सैन्य द्वन्द्व र गम्भीर मानवीय संकटबाट गुज्रिरहेको अफगानिस्तानमा उनीहरूलाई फिर्ता पठाउनु अत्यन्त जोखिमपूर्ण मानिएको छ। भानडाइभरका अनुसार अमेरिकाबाट पठाइएका कुनै पनि अफगान नागरिकलाई तालिबानले शंकाको नजरले हेर्नेछ र उनीहरू जेल वा ज्यानकै जोखिममा पर्नेछन्।
तथापि, ह्वाइट हाउसका लागि यो मुख्य चिन्ताको विषय नदेखिएको ती अधिकारीले नाम नछाप्ने सर्तमा बताएका छन्। “प्रशासनको स्पष्ट अडान छ- ‘यी व्यक्तिहरूसँग हाम्रो देशमा बस्ने कानुनी हैसियत छैन, त्यसैले उनीहरूलाई के हुन्छ भन्नेमा हामीलाई सरोकार छैन, ती अधिकारीले भने।
अधिकारकर्मीहरूले यसरी अफगान सहयोगीहरूप्रति गरिएको व्यवहारले भविष्यमा अन्य देशका मानिसहरूलाई अमेरिकी सेनासँग काम गर्न निरुत्साहित गर्ने र यसले दीर्घकालमा अमेरिकी राष्ट्रिय सुरक्षामा गम्भीर असर पार्ने चेतावनी दिएका छन्।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले सुरक्षा कारण देखाउँदै यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ भने विदेश मन्त्रालयले कुनै नयाँ घोषणा गर्ने योजना नरहेको बताएको छ। पाकिस्तानको परराष्ट्र मन्त्रालय र वासिङ्टनस्थित दूतावासले पनि यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।





