सय लिटरभन्दा बढी रक्तदानबाट सयौंको जीवन बचाएका अर्जुन मैनालीले अमेरिकामा रोजे भयानक मृत्यु


प्रकाशित मिति : माघ २९, २०८० सोमबार

१ लाख भन्दा बढी मिलिलिटर रक्तदान गरेर ६ सयभन्दा बढीको जीवन बचाएका अमेरिका निवासी चर्चित रक्तदाता अर्जुन मैनालीले अमेरिकामा भयानक मृत्यु रोजेका छन् । सामाजिक सञ्जाल फेसबुकमा जलेर आत्मदाह गर्न लागेको सन्देश पोष्ट गरेर बेपत्ता भएका मैनालीको शव त्यसको केही घण्टामा नर्थ क्यारोलिनाको लाटा नेचर प्रिजर्भको क्वेष्ट पार्कमा भेटिएको हो । भाडामा लिएको गाडीभित्र उनको शव भेटिएको हो ।

मैनालीले सामाजिक सञ्जालमा आफूले आत्मदाह गर्न लागेको सन्देश पोष्ट गरेपछि स्थानीय प्रहरीलाई खबर गरिएको थियो । स्थानीय प्रहरी केहीबेरमा नर्थ क्यारोलिनामा रहेको मैनालीको निवासमा पुगेको थियो । त्यसपछि उनको फोन ट्रयाक गर्दा लाटा नेचर प्रिजर्भ क्षेत्रमा भएको पत्ता लागेको थियो । नेपाली समुदायका व्यक्तिसहित प्रहरी उक्त क्षेत्रमा पुगेको थियो । त्यहाँ पुग्दा मैनालीले विभत्स मृत्यु रोजेको प्रहरीले फेला पारेको थियो । उनको शरीर जलेको अवस्थामा भेटिएको थियो ।

अमेरिकामा रहेका नेपालीहरुले मैनालीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । मैनालीले सामाजिक सञ्जालमा नोट पोष्ट गरेर बेपत्ता भएपछि बेचैन बनेको अमेरिकाको नेपाल समाज उनको मृत्युको खबरले स्तब्ध भएको छ ।

मैनालीले विश्वका २० देशमा २ सयभन्दा बढीपटक रक्तदान गरेर ६ सयभन्दा बढीको ज्यान बचाएका थिए । उनले अमेरिकामा रहेको नेपाली समाज र विश्वभर रहेका नेपालीहरुलाई रक्तदानको लागि प्रेरित गर्दै आएका थिए । रक्तदानमात्र नभएर मैनालीले अन्य सामाजिक क्षेत्रमा पनि उल्लेख्य योगदान दिदै आएका थिए । अमेरिकादेखि नेपालसम्म समस्यामा परेका विभिन्न व्यक्तिलाई दानका लागि पनि उनी सधै अगाडि सर्थे ।

मैनालीको सम्मानमा न्युयोर्कको ओएस्टर बे टाउनले सन् २०१९ डिसेम्बर २२ लाई अर्जुन मैनाली डे घोषणा गरेको थियो । सन् १८१८ को डिसेम्बर २२ मा पहिलोपटक मानवमा रक्त प्रत्यारोपण गरिएको इतिहास छ । त्यही इतिहासलाई मध्यनजर गरेर २०१९ को डिसेम्बर २२ लाई विश्व रक्तदाता अर्जुन मैनाली डे घोषणा गरिएको थियो ।

सन् १९६८ मा काभ्रेको सिपाली ९ मा जन्मिएका थिए अर्जुन प्रसाद मैनाली । बुबा पदम केशर मैनाली र माता सावित्री मैनालीका छोरा अर्जुन मैनालीले सन् १९८७ को अगस्त २० मा काठमाडौंको विशाल बजार लायन्स क्लबमा गरिएको रक्तदान कार्यक्रममा पहिलोपल्ट रक्तदान गरेपछि लगातार रक्तदान गर्दै आएका थिए ।

रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम पालेकाहरुलाई मैनालीले सचेतनाको पाठ समेत पढाउदै आए ।  यस्तो भ्रम रहेको थाहापाएपछि उनले आफैले भ्रम चिर्न अभियान नै चलाए । सन् १९९० मा १६ औं पटक रक्तदान गरेको एक घण्टापछि उनी भक्तपुरबाट देशब्यापी साइकल यात्रामा निस्किएका थिए । रक्तदान गरेको एकघण्टापछि नै साइकलमा देशव्यापी भ्रमण गर्न सकिने भएपछि कमजोर भइन्छ भन्ने भ्रम हटाउन सहयोग पुगेको थियो ।

सन् २००० मा अमेरिका आएपछि उनले अमेरिकाका ब्लड बैंकहरुको पनि भ्रमण गरे । अनि थाहा पाए, हरेक २ सेकेन्डमा कोही न कोही बिरामीलाई रगतको जरुरत पर्दो रहेछ । त्यो थाहा पाएदेखि मैनालीले मौका मिलेसम्म वर्षको ६ पटक रक्तदान गर्दै आएका थिए । कोरोना महामारीमा त उनले २२ पटक रक्तदान गरेका थिए ।  अमेरिका आउदाका सुरुका वर्षमा उनी एक्लै ब्लड बैंकमा जान्थे । पछि विस्तारै अरुलाई पनि लिएर जान थाले । पछि अमेरिकामा रहेका नेपाली संस्थाहरुलाई पनि रक्तदान कार्यक्रम गर्न प्रोत्साहित गरे ।

ब्लड डोनेशनमा आफ्नो जीवन समर्पित गरे बापत उनले पाएका प्रशंसापत्र, प्रमाणपत्र र अवार्डहरुको  ठूलै चाङ छ । अर्जुन मैनाली रक्तदानमा मात्र होइन, नगद दानमा पनि निकै दानी थिए । २०४६ सालमा हुलाकमा मुखिया हुंदा उनले मासिक तलब ६४५ रुपैया पाउथे । तलब पाएकै दिन उनले रेडक्रशमा गएर ५ सय रुपैया चन्दा दिएका थिए । अमेरिकामा पनि उनले आफ्नो कमाइको ठूलो रकम समाजसेवामा खर्च गर्दै आएका थिए । मैनालीले ५० लाख भन्दा धेरै नगद रकम  समाजसेवामा खर्च गरेका थिए ।

उनी न्युयोर्कको हिक्सभिलमा श्रीमति तारा मैनाली र छोरी अमून र छोरा अमितका साथ लामो समय बसेका थिए ।  कोरोना महामारीपछि परिवारका साथमा उनी नर्थ क्यारोलिना बसाई सरेपछि पनि रक्तदान र सामाजिक कार्यमा सकृय रहदै आएका थिए । ११ भाषामा उनको बायोग्राफी लेखिएको पुस्तक समेत प्रकाशित गरिएको थियो ।

अमेरिका निवासी नेपाली जनसम्पर्क समिति अमेरिकामा सभापति आनन्द बिष्टले मैनालीको मृत्युप्रति दुख्य व्यक्त गर्दै लेखेका छन् – ‘आत्मिय मित्र अर्जुन मैनालीजी २ दसक भन्दा लामो हाम्रो मित्रता र सामाजिक सहकार्यलाई आज पूर्ण बिराम लगायर यो संसार बाट बिदा लिनु भयो भन्ने दुस्खद खबर सुन्दा यो मन भक्कानियको छ । संसार लाई बचाउने मान्छे आज आफुले किन यस्तो कठोर निर्णय लिनु भयो ? विश्वभर रक्तदान अभियानको जनचेतना जगाउने तपाईं आज किन यो यात्रा लाई यही ठप्प पार्नु भयो ? तपाईंले जिबनकाल भरी गरेको सामाजिक कार्यको संसारभर सदा स्मरण रहीरहने छ । अमेरिकाको नेपाली समुदायमा मात्र नभयर विश्वभरका रक्तदाताहरुको माझ तपाईंको कमी सदा खड्की रहने छ १ अलबिदा अर्जुनजी सदा बैकुण्ठ बास होस । भाउजु, छोरा, छोरी लगायत परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछु ।’

त्यस्तै न्युयोर्क निवासी गीतकार, लेखक तथा व्यवसायी पासाङ शेर्पाले सामाजिक सञ्जालमा लेखेका छन् – ‘सयौं पटक रक्तदान गरेर हजारौंको जीवनदान गर्ने अर्जुन जी आफै मृत्युको बाटो रोजेको खबरले अत्यन्तै मर्माहत भएको छौ। यस दुखको घडीमा दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै शोकसन्तप्त परिवारजनप्रति गाहिरो सहामुभूति प्रकट गदै हार्दिक समवेदना व्यक्त गर्दछौ।’

(If you are in crisis, please seek help immediately. 

USA: National Suicide Prevention Lifeline: 800-273-8255

UK : If you feel like you might attempt suicide, or may have seriously harmed yourself, you need urgent medical help. Please call 999 for an ambulance. 

Nepal: Patan Mental Hospital’s National-level toll-free 24-hour helpline 1166 operates 24 hours.

The Transcultural Psychosocial Organization (16600102005) provides helpline services between Monday to Friday from 9:30 am to 4:30 pm. BPKIHS Helpline: 9805316785, 9802331176 from 8:30 am to 5 pm everyday.)  

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com