धेरै आप्रवासीहरू मेक्सिकोबाट विनाभिसा अमेरिका छिर्न चाहनुका तीन कारण


प्रकाशित मिति : माघ २४, २०८० बुधबार

राष्ट्रपति जो बाइडेनको प्रशासनको समयमा मेक्सिकोको सीमाबाट कागजपत्रविहिन आप्रवासी अमेरिका प्रवेशमा उच्च रेकर्ड कायम भएको छ । चुनाव अघि बाइडेनको लागि यो ठूलो राजनीतिक टाउको दुखाइ बनेको छ । सर्वेक्षणहरुका अनुशार सिमा सुरक्षाको मुद्दालाई ह्यान्डल गर्न बाइडेन असफल भएको दुई तिहाई अमेरिकीहरुको बुझाई छ ।

बाइडेन प्रशासन अन्तरगत झण्डै साढे ६ मिलियन आप्रवासीहरू गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्नेक्रममा हिरासतमा परेका छन् । यो संख्या ट्रम्प, ओबामा वा जर्ज डब्लु बुशको शासनकालको तुलनामा धेरै हो।

(Photo by Alfredo ESTRELLA / AFP)

महामारीमा रोकिएकाहरुको छाल

मुख्यतया मध्य अमेरिकीहरूले सामूहिक हिंसा, गरिबी, राजनीतिक दमन र प्राकृतिक प्रकोपहरू सहित जटिल संकटहरूको श्रृंखला सामना गर्दा सन् २०१८ देखि विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्नेहरुको संख्यामा बृद्धि हुन थालेको थियो । तर मेक्सिको र ग्वाटेमालाले बढाएको कारवाहीका कारण सन् २०१९ को समरमा यो संख्यामा केही गिरावट आएको थियो ।

सबैभन्दा ठूलो गिरावट सन् २०२० को शुरुमा भएको थियो । कोरोना महामारी कालिन प्रतिबन्धहरूले त्यस वर्ष मार्च र अप्रिलको बीचमा ५३ प्रतिशत भन्दा बढीको गिरावट आयो । २०२१ को सुरुमा कोरोनाकालिन प्रतिबन्धहरु हटाइएपछि विनाभिसा अमेरिका छिर्नेहरुको संख्या निरन्तर बढ्दै गएको छ । डिसेम्बर २०२३ मा यो संख्या ३ लाख २ हजार नाघेको थियो, जुन अहिलेसम्मकै उच्च हो ।

आप्रवासीहरू अहिले पश्चिम अफ्रिका, भारत र मध्य पूर्व जस्ता टाढाका देशबाट पनि आउँछन्। अमेरिकी महादेश बाहिरबाट आउने आप्रवासीमध्ये सबैभन्दा बढी चीनबाट आउँछन् । गत वर्ष अमेरिका मेक्सिको सीमामा ३७,००० भन्दा बढी चिनियाँ नागरिकलाई हिरासतमा लिइएको थियो, जुन दुई वर्ष अघिको संख्याभन्दा ५० गुणा बढी हो।

विश्वव्यापी आप्रवासन प्रवृत्ति

अमेरिका र मेक्सिको सिमानामा विगत केही वर्षमा देखिने आप्रवासी संख्यामा भएको बृद्धि यस्तो समयमा आएको छ जब विश्वभर धनी देशहरूमा बसाइँ सर्नेको संख्या अहिलेसम्मकै उच्च छ। आर्थिक सहयोग र विकास संगठनको तथ्याङ्क अनुशार ६ दशमलव १ मिलियन नयाँ स्थायी आप्रवासीहरू सन् २०२२ मा यसका ३८ सदस्य राष्ट्रहरूमा बसाई सरेका छन् जुन सन् २०२१ को तुलनामा २०२६ प्रतिशत र सन् २०१९ को तुलनामा १४ प्रतिशत बढी हो ।

भेनेजुएला, निकारागुआ र क्युबाबाट आएका आप्रवासीहरूले ठूलो हिस्सा सहित सन् २०२२ मा अमेरिकाले शरण दिने व्यक्तिहरूको संख्या दोब्बर भएको थियो । मानवीय आप्रवासनको स्तरमा अमेरिका जर्मनीपछि दोस्रो स्थानमा छ। अहिले इतिहासमा कहिल्यै नभएको स्तरमा विश्वभर बसाई सर्ने क्रम बढेको छ ।

 (AP Photo/Christian Chavez)

बाइडेनलाई सहज ठानेपछि

२०२१ मा ट्रम्पले ह्वाइट हाउस छाड्ने र बाइडेन प्रवेश गर्ने स्थीतिले पनि आप्रवासीहरु विनाभिसा अमेरिका छिर्न प्रयास गर्ने क्रम बढेको छ । ट्रम्पले सिमानामा पर्खाल लगाउने र देशनिकाला बढाउने वाचा गरेका थिए । हिरासतमा परेका अभिभावकहरूबाट बालबालिकालाई छुटाउने जस्ता समाचारहरुले गर्दा अमेरिकाले आफ्नो सीमा बन्द गरिरहेको भन्ने धारणा आप्रवासीहरुमा उत्पन्न भयो । जसले गर्दा उनीहरु अमेरिका आउन हच्किएका थिए ।

तर राष्ट्रपति बाइडेनको नेतृत्वमा आप्रवासीबारेको बोली र नीतिमा परिवर्तन भयो। देशनिकाला घट्यो भने मेक्सिको र अमेरिकाको सिमाक्षेत्रमा आएका आप्रवासीहरूलाई तीब्र गतिको देशनिकाला हटाइयो । सिमानामा पर्खाल निर्माणको नीति पनि समाप्त भयो । आप्रवासीहरूलाई अध्यागमन अदालतको मिति पर्खनका लागि अमेरिका भित्र नै प्रवेश दिन थालियो । आप्रवासीहरुले अमेरिका प्रवेश गर्न र बस्न सजिलो हुने ठाने भने मानव तस्करहरूले पनि आप्रवासीहरूलाई हतार हतार सिमाबाट अमेरिका छिराउने प्रयत्नहरु थाले ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com