रुस–युक्रेन युद्धपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पहिलो नाटो भ्रमण


प्रकाशित मिति : आश्विन २४, २०८० बुधबार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार सहयोगी राष्ट्रहरूलाई हतियार अपूर्ति बढाउन आग्रह गर्नुभएको छ । रुसले युक्रेनविरुद्ध चौतर्फी आक्रमण सुरु गरेपछि सैन्य गठबन्धन (नाटो) को मुख्यालयको आफ्नो पहिलो भ्रमणका क्रममा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो ।

हमासले इजराइलमा गरेको आक्रमणबाट आफ्नो मुलुकको द्वन्द्वमा मुख्य सहयोगी अमेरिका विचलित हुने त्रासका बीच राष्ट्रपति जेलेन्स्कीले हवाई प्रतिरक्षा, लामो दूरीका मिसाइल र गोलाबारुद लागि आग्रह गर्नुभयो ।

“अर्को जाडोमा कसरी बाँच्ने भन्ने कुरा हाम्रा लागि ठूलो हो”, गठबन्धनका रक्षामन्त्रीहरूसँग भेट गर्नुअघि नाटो प्रमुख जेन्स स्टोलनबर्गसँग मिडियालाई सम्बोधन गर्दै जेलेन्स्कीले भन्नुभयो, “हामीले तयारी गरिरहेका छौँ, हामी तयार छौँ, अहिले हामीलाई गठबन्धनका नेताहरूबाट केही सहयोगको खाँचो छ, त्यसैले आज म यहाँ छु ।”

रुसबाट हुनसक्ने शीतकालीन हमलाबाट बचाउन युक्रेनको जवाफी हमलालाई बढाउन र हवाई प्रतिरक्षा उपलब्ध गराउने विषयमा ध्यान केन्द्रीत गर्दै किएभको अन्तर्राष्ट्रिय समर्थकहरू युक्रेनलाई हतियार उपलब्ध गराउने विषयमा विचार विमर्श गरिरहेका थिए ।

“हामी युक्रेनलाई सहयोग गर्न तपाईँँसँग उभिने छौँ किनकी यो समग्र नाटोका लागि महत्वपूर्ण छ”, स्टोलनबर्गले जेलेन्स्कीसँग भन्नुभयो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले इजराइलमा देखिएको सङ्कटले आफ्नो मातृभूमिमा चलिरहेको युद्धबाट ध्यान विचलित हुनसक्नेतर्फ चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले गत वर्ष रुसी आक्रमणपछि युक्रेनको पक्षमा देखाएजस्तै इजराइली जनताको पक्षमा एकजुट हुन र इजराइललाई ‘तिमी एक्लो छैनौ’ भन्ने देखाउन पश्चिमा राष्ट्रहरूलाई आग्रह गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com