अब युएससीआईएसमा अनलाइनबाट सहजै अप्वाइन्टमेन्टको अनुरोध गर्न सकिने, अप्वाइन्टमेन्टमा के के लैजाने?


प्रकाशित मिति : चैत्र ८, २०८० बिहीबार

अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएसमा अनलाइनबाट सहजै अप्वाइन्टमेन्टको अनुरोध गर्न सकिन्छ । युएससीआईएसले सेवाग्राहीहरु, वकिलहरू, र मान्यता प्राप्त प्रतिनिधिहरूका लागि युएससीआईएसको सम्पर्क केन्द्रमा फोन नगरीकन स्थानीय फिल्ड अफिसमा अप्वाइन्टमेन्टका लागि अनुरोध गर्न सकिने व्यवस्था गरेको हो ।

यो अनलाइन अप्वाइन्टमेन्ट अनुरोध फारमले व्यक्ति वा कानुनी प्रतिनिधिहरूलाई ग्रिनकार्डको सट्टामा काम गर्ने एडीआईटी स्ट्याम्प लगाउन, इमर्जेन्सी एड्भान्स परोल कागजात लिन, अध्यागमन न्यायाधिसको स्वीकृति लगायतका विषयमा फिल्ड अफिसमा अप्वाइन्टमेन्ट अनुरोध गर्न अनुमति दिन्छ। यो आफै अप्वाइन्टमेन्टको मिति र समय तय गर्ने टुल भने होइन । अर्थात् सेवाग्राहीले आफै अप्वाइन्टमेन्टको मिति र समय सिधै तय गर्न भने सक्दैनन् ।

सेवाग्राहीले अप्वाइन्टमेन्ट अनुरोध फारम पेश गरेपछि युएससीआईएसको सम्पर्क केन्द्रले पेश गरिएका फारमहरू समिक्षा गर्नेछ । त्यसपति सम्बन्धित फिल्ड अफिसमा अप्वाइन्टमेन्ट उपलब्धत भए नभएको हेर्नेछ । सेवाग्राहीले अप्वाइन्टमेन्टका लागि एक निश्चित मिति र समय अनुरोध गर्न सक्छन् । त्यसपछि युएससीआईएसले अनुरोध गरिएको अप्वाइन्टमेन्ट मिति उपलब्ध भए नभएको जानकारी दिनेछ ।

युएसीआईएसले मागेकै मिति र समय दिने ग्यारेन्टी नभएपनि सेवाग्राहीलाई आवश्यक परेको खण्डमा अप्वाइन्टमेन्ट मिति र समयको लागि समयतालिका दिनेछ। युएससीआइएसले सेवाग्राहीको अनुभव सुधार गर्ने आशामा नयाँ पहलहरू ल्याई सरकारमा विश्वासको पुनर्निर्माण गर्न संघीय ग्राहक अनुभव र सेवा प्रवाहलाई रूपान्तरण गर्ने बाइडेनको कार्यकारी आदेशलाई समर्थन गर्ने प्रतिबद्धता जारी राखेको र यसै क्रममा यो व्यवस्था गरिएको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनलाइन अप्वाइन्टमेन्ट अनुरोध फारमले आवश्यक जानकारी अग्रिमरुपमा सङ्कलन गरेर र युएससीआईएसको सम्पर्क केन्द्रसँग कुनै थप संलग्नता बिना अनुरोध गरिएको अप्वाइन्टमेन्टको समयतालिका बनाएर सेवाग्राहीको अनुभव राम्रो बनाउने अपेक्षा गरिएको छ। युएसीआईएस सम्पर्क केन्द्रले सेवाग्राहीलाई कारण र अत्यावश्यकताको आधारमा अप्वाइन्टमेन्टबारे फोन वा इमेल मार्फत सम्पर्क गर्नसक्छ ।

अनलाइनबाट अप्वाइन्टमेन्ट अनुरोध गर्न यहाँ क्लीक गर्नुहोला ।

ठगहरुबाट आउने फोनकलबाट बच्नका लागि अप्वाइन्टमेन्ट अनुरोध फारम पेश गर्दाको रेफरेन्स नम्बर आफुसँग सुरक्षित राख्नुपर्छ । किनभने युएससीआईएसले फोन वा इमेल गर्दा उक्त रेफरेन्स नम्बरको प्रयोग गर्छ । फोनमा युएससीआईएसका अधिकारीहरुले बताउने नम्बरसँग आफ्नो नम्बर मेल खाएमा मात्र कुराकानी गर्नुपर्छ । नत्र कहिलेकाँही ठगको फन्दामा पनि पर्न सकिन्छ ।

अप्वाइन्टमेन्टमा के के लैजाने?

एडीआईटी स्ट्याम्पले कानूनी स्थायी बासिन्दालाई सीमित परिस्थितिमा जारी गर्न सकिने कानूनी स्थायी बासिन्दा स्थितिको अस्थायी प्रमाण प्रदान गर्दछ। यसले धारकलाई अमेरिकामा काम गर्न र देश बाहिरको यात्रा पछि अमेरिकामा पुन फर्किन अधिकार दिन्छ। यो छाप सामान्यतया आवेदकको म्याद नसकिएको पासपोर्टमा लगाइन्छ । यदि पासपोर्ट नभएमा वा म्याद सकिएको भएमा आई ९४ आगमन प्रस्थान रेकर्डमा यो छाप लगाइन्छ । पासपोर्टको म्याद सकिएको वा पासपोर्ट नभएको अवस्थामा अप्वाइन्टमेन्टमा जाँदा २ वटा पासपोर्ट साइजका फोटोहरु पनि लैजानुपर्छ ।

यदि तपाईंलाई ग्रिनकार्ड नविकरणका लागि फाइल गरेपछि एक्स्टेन्सन सूचना जारी गरिएको थियो र तपाईंको म्याद समाप्त भएको ग्रिन कार्डको साथमा ग्रिनकार्डको म्याद थपिएको रिसिप्ट पनि छ भने यी दुबै कागजात एकसाथ राखेर म्याद सकिएको ग्रिनकार्डमा पनि यात्रा गर्न सकिनेछ । यदि तपाइँको म्याद समाप्त भएको ग्रिनकार्ड पनि तपाईसँग छैन र म्याद थपिएको रिसिप्टको अवधि पनि समाप्त भइसकेको छ भने एडीआईटी स्ट्याम्पका लागि फिल्ड अफिसमा अप्वाइन्टमेन्ट लिनुपर्छ ।

त्यस्तै युएससीआईएसका फिल्ड अफिसहरुले कहिलेकाहीँ आपतकालिन एड्भान्स परोलका लागि अनुरोधहरू प्राप्त गर्छन्। आपतकालिन एड्भान्स परोल कागजातको लागि अनुरोध स्वीकार गर्ने वा नगर्ने कुराको यात्राको आवश्यकता कत्तिको इमर्जेन्सी छ भन्नेमा निर्भर गर्दछ। आपतकालीनको अर्थ अप्रत्याशित रूपमा उत्पन्न अवस्था हो । यदि तपाईंले अत्यन्तै इमर्जेन्सी अवस्थाको अनुभव गरिरहनुभएको छ भने तपाईंले आफ्नो स्थानीय फिल्ड अफिसमा आपतकालिन एड्भान्स परोल अपोइन्टमेन्ट अनुरोध गर्न सक्नुहुन्छ। तपाईंले आफ्नो अपोइन्टमेन्टमा भरेर हस्ताक्षर गरेको आई १३१ फर्म, अद्यावधिक पासपोर्ट, उचित आई १३१ शुल्क, आपतकालिन अनुरोधलाई प्रमाणित गर्ने मेडिकल कागजात वा मृत्युदर्ता प्रमाणपत्र, पासपोर्ट साइजका २ वटा फोटो लैजानुपर्छ ।

एसाइलम आवेदकहरू, एसाइलम लिएकाहरु, शरणार्थीहरू र एसाइलम वा शरणका आधारमा ग्रिनकार्ड लिएकाहरु अमेरिका बाहिर यात्रा गर्ने सम्बन्धमा विशेष नियमहरूको अधीनमा हुन्छन् । उनीहरुले अमेरिका बाहिर यात्रा गर्दा जुन देशमा जानका लागि आफूलाई खतरा भएको उल्लेख गरेर एसाइलम आवेदन दिएका छन् वा एसाइलम स्वीकृत भएको छ वा त्यसका आधारमा ग्रिनकार्ड लिएका छन्, सोही देशको यात्रा गरेको खण्डमा विभिन्न परीस्थीतिको सामना गर्नुपर्ने हुनसक्छ ।

त्यस्तै जब एक आवेदकलाई अध्यागमन न्यायाधीश वा बोर्ड अफ इमिग्रेसन अपीलद्वारा ग्रिनकार्ड वा शरण स्वीकृत गरिन्छ, युएससीआईएसले आवेदकहरूको ग्रिनकार्ड उत्पादन गर्न वा स्थितिको प्रमाण उपलब्ध गराउन जिम्मेवार हुन्छ। सामान्यतया आवेदकले ग्रिन कार्ड उत्पादन सुरु गर्न वा स्थितिको प्रमाण प्राप्त गर्न स्थानीय फिल्ड अफिसमा जान आवश्यक छ। त्यसका लागि आवेदकले अन्तिम आदेशको प्रतिलिपिका साथै तपाइँको अपोइन्टमेन्टको लागि फोटो सहितको परिचयपत्र पासपोर्ट साथमा लैजानुपर्छ । अध्यागमन न्यायाधिसबाट एसाइलम स्वीकृति पाएकाहरुले २ वटा पासपोर्ट साइजको फोटो पनि लैजानुपर्छ । त्यस्तै अध्यागमन न्यायाधिसबाट ग्रिनकार्ड स्वीकृत भएका पासपोर्ट नहुनेहरुले पनि २ वटा पासपोर्ट साइजको फोटो अप्वाइन्टमेन्टमा लैजानुपर्छ । फाइलमा मान्य फिंगरप्रिन्टहरू नभएका आवेदकहरूलाई ग्रिन कार्ड उत्पादन गर्नको लागि एप्लिकेसन सपोर्ट सेन्टरमा फिंगरप्रिन्ट अपोइन्टमेन्टको लागि समय तय गर्न सकिन्छ।

यी बाहेक नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरू पाउन पनि फिल्ड अफिसमा अनलाइनबाट अप्वाइन्टमेन्ट अनुरोध गर्न सकिन्छ । यदि विदेशी सरकारलाई अमेरिकामा नागरिकताको प्रमाणको रूपमा स्वीकार गर्नको लागि नागरिकता वा नागरिकता प्रमाणपत्र प्रमाणित गर्न आवश्यक भएमा अप्वाइन्टमेन्ट लिन सकिन्छ । त्यसका लागि आवेदकहरू स्थानीय फिल्ड अफिसमा उपस्थित हुनुपर्दछ। मृतक अमेरिकी नागरिकको लागि प्रमाणित प्रतिलिपि अनुरोध गर्ने परिवारको सदस्यले पनि अनुरोध गर्न सक्छन् ।

हराएको अध्यागमन भिसा प्याकेटहरूका सन्दर्भमा पनि अनलाइनबाट अप्वाइन्टमेन्ट अनुरोध गर्न सकिन्छ । यदि तपाईं आप्रवासीको रूपमा अमेरिकामा आउनुभएको थियो र तपाईंले आप्रवासी शुल्क तिरेको तीन महिना बितिसक्दा पनि ग्रिनकार्ड आएन भने यो बिधिबाट अप्वाइन्टमेन्ट लिएर फिल्ड अफिसमा जानुपर्छ । तपाईंको भिसा प्याकेट सीबीपीबाट युएससीआईएसमा आउने क्रममा ट्रान्जिटमा हराएको सम्भावना हुनसक्छ ।

यदि तपाईको युएससीआईएसको अनलाइन एकाउन्ट लक भएको र पासवर्ड बिर्सनुभएको खण्डमा साथै आफै पासवर्ड रिसेट इमेल प्राप्त गर्ने कुनै उपाय छैन भने पनि अप्वाइन्टमेन्टका लागि अनुरोध गर्न सकिन्छ । त्यस्तै टी, यु र भावाका विषयमा सोधपुछ गर्न पनि अप्वाइन्टमेन्ट अनुरोध गर्न सकिन्छ । सुचिकृत नभएका विषयमा अप्वाइन्टमेन्ट लिनुपरेमा भने युएससीआईएसमा फोनमार्फत नै सम्पर्क गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com