एकै परिवारका चारजना मृत्यु प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान
प्रकाशित मिति : श्रावण ७, २०७४ शनिबार

–
श्रावण ७, २०७४- एकै परिवारका चारजना मृत फेला परेको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले अनुसन्धान थालेको छ । डिएसपी अरुण पौड्याल नेतृत्वमा चिकित्सकसहितको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको हो । घटनास्थलमा आफन्त र स्थानीयको भीड लागेको छ । पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल लाने तयारी भए पनि आक्रोशित आफन्तले घटना शंकास्पद भएको भन्दै शव उठाउन मानेका छैनन् । भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरिरहेको छ ।
शुक्रबार बनेपा पुरानो बसपार्कस्थित गौतम भोजनालयमा एकै परिवारका चारजना मृत फेला परेका थिए । ३२ वर्षीय राजाराम दाहाल, उनका ६५ वर्षफय बाबु हरिभक्त, ६० वर्षीय आमा हरिमाया, २५ वर्षीय बहिनी रञ्जना होटलमा नै मृत अवस्थामा फेला परेका हुन् । दुवैतर्फको ढोकाभित्रैबाट बन्द गरिएको अवस्थामा सटर फोरेरभित्र पस्दा चारैजना मृत फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए । सटर बन्द भए पनि सीसा फुटेको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट प्रहरीले सेलफस नामको विषको भाँडो फेला परेको थियो । थप अनुसन्धान अघि बढाइएको एसपी थापाले बताए ।
बनेपा २ टुकुचा नालाका स्थायी दाहालले ८/९ वर्षदेखि बनेपामा होटल सञ्चालन गर्दै आएका थिए । राजारामका दुई परिवार छन् । जेठी श्रीमती कमला, छोरा सुरज र छोरी मनिका टुकुचा नाला नै बस्दै आएका छन् । कान्छी श्रीमती पूजा र छोरा पुजन बनेपास्थित घरमा बस्दै आएका छन् । हरिभक्तका ८० वर्षीय सानीआमा छलमाया पनि उनकै साथमा बस्दै आएका थिइन् । २०७२ सालको भूकम्पपछि बनेपामा घर बनाएर परिवार बस्दै आएको थियो ।