जो गरिबीबाट उठेर अर्बपति बने


प्रकाशित मिति : श्रावण ७, २०७४ शनिबार

– दिनेश यादव

श्रावण ७, २०७४- तपाईंलाई कसैले सोध्यो– भाग्य ठूलो कि कर्म ठूलो? अल्छीहरूले भाग्यलाई ठूलो ठान्लान्। तर, यो सत्य होइन। कर्मले मानिसको भाग्य परिवर्तन गर्न सकिन्छ। यही शिक्षा हामीले धार्मिक ग्रन्थ महाभारतबाट लिन सक्छौं। त्यहाँ एक ठाउँमा लेखिएको पनि छ, ‘भाग्यरेखालाई कर्मले परिवर्तन गर्न सकिन्छ।’ हो, विश्वमा धेरै यस्ता व्यक्तित्वहरू छन्, जसले आफ्नो कर्मबाटै जीवनमा आमूल परिवर्तन ल्याएका छन्। अझ तिनीहरू अर्बपति नै बनेका छन्। त्यसरी अर्बपति बनेकाहरूमा स्टेफेन बिस्किओट्टी, अलान गेरी, कार्ल बर्ग र सेल्डोन एडेल्सन रहेका छन्। यी चारजना अमेरकी नागरिकको संघर्षपूर्ण जीवन हाम्रा लागि प्रेरणाको स्रोत बन्न सक्छ। पर्याप्त धन थिएन तर कर्म र संघर्षको बलमै उनीहरू सफल भएका छन्।

स्टेफेन बिस्किओट्टी आठ वर्षका छँदा उनको बुबाको निधन भएको थियो। आमाले उनीसहितका तीन सन्तानलाई दु:ख र कष्ट झेलेर पालेकी हुन्। घरमा काम गर्ने नभएपछि परिवारको आर्थिक अवस्था कमजोर हुन पुग्यो। सानैदेखि अभावमा बाँचेका बिस्किओट्टी अलिक बुझ्ने भएपछि परिवारका लागि सानातिना काम गर्न थालेका थिए। साथीभाइ विद्यालय गएको देख्दा उनलाई पनि पढ्ने रहर जागेर आयो। तर, परिवारलाई दुई छाक टार्नै समस्या भएको उनले आफैं भोगेको र देखेका थिए। तर, पनि पढ्न आँट गरे। केही घण्टा बढी काम गरी उनले स्कुलको शुल्क तिर्ने रकमसमेत जम्मा गर्न थाले।

प्रारम्भिक शिक्षा जसातसो हासिल गरेपछि उनी म्यारिल्यान्डस्थि स्लालिब्युरी स्टेट विश्वविद्यालयमा भर्ना भए। त्यहाँ पनि कमजोर आर्थिक अवस्थाले उनलाई खुबै गाँजेको थियो। तर, अस्थायी प्रकृतिको हेल्प बिजनेस सुरु गरी कलेजका लागि आवश्यक शुल्क जुटाउन उनी सफल भए। उनले लिबरल आर्ट विषयमा स्नातक गरे। २३ वर्षको लक्का जवान भएपछि उनले
आफ्ना भतिजसँग मिलेर हाई–टेक टेम्प एजेन्सी खोले। उक्त कम्पनीले पहिलो वर्षमै डेढ मिलियन अमेरिकी डलरको व्यापार गर्‍यो। पछि उनले त्यो कम्पनीलाई ‘एलिजिस समूह’ का रूपमा सञ्चालनमा ल्याए। हाल उक्त कम्पनी अमेरिकाकै सबैभन्दा ठूलो स्टाफिङ फर्म (कर्मचारी/कामदार) आपूर्ति गर्ने कम्पनी बनेको छ। उनको कम्पनीमा हाल १५ हजार आन्तरिक कर्मचारी, १ लाख २० हजार करारका कामदार रहेका छन् भने चारवटा महादेशमा आफ्नै कार्यालयसमेत खोलिसकेका छन्। सन् २००४ मा उनले बाल्टिमोर र्‍याभेन्स नेसनल फुटबल लिग टिम खरिद गर्नसमेत भ्याएका थिए। उनी वर्किङ क्लास इटालेली–अमेरिकी परिवारमा जन्मेका हुन्। उनी हुर्कंदै गर्दा खेलखुदमा रुचि बढ्यो। किनभने उनका बुबाले बालबालिकाहरूलाई बाल्टिमोरमा लगेर विभिन्न खेल खेलाउँथे। यसो त उनी सेभेर्ना पार्क हाई स्कुलमा फुटबल टिममा सहभागी भएका थिए।

स्नातक गरेको एक वर्षपछि उनले जिम ड्याभिससँग मिलेर एरोटेक कम्पनी सुरु गरे। उक्त कम्पनीले एरोस्पेस र प्रविधि क्षेत्रमा कामदार आपूर्ति गथ्र्यो। त्यही एरोटेक कम्पनी एलिजिस ग्रुपमा परिणत भएको हो। पछि बिस्किओट्टी खेलकुद व्यापारमा हात हाले। आफ्नो कार्यस्थलबाट बाहिर जाँदा बिस्किओट्टी गल्फिङ र बोटिङमा रमाउँछन्। बाल्टिमोर र्‍याभेन्सका मालिक स्टेफेनको कुल सम्पत्ति ३.९ अर्ब अमेरिकी डलर रहेको छ।

जिरोबाट हिरो बनेका अर्का अर्बपति हुन् अलान गेरी। यिनको जीवन पनि संघर्षपूर्ण रहेको छ। अलान विद्यालयबाट ‘ड्रप आउट’ भएका थिए। घरको आर्थिक अवस्था ठीक नभएकाले उनी आफ्नो पढाइ बीचैमा छाड्न बाध्य भए। पढाइ छाडेपछि उनी हजाजमा नोकरी गर्न थाले। पछि उनले टेलिभिजन मर्मत गर्ने व्यापार सुरु गरे। तर यो व्यापार थाल्नुअघि उनले जीआई बिलमार्फत प्रशिक्षण लिएका थिए। सन् १९५६ मा उनले थालेको पहिलो व्यापारबाट १५ सय अमेरिकी डलर बचाउन सफल भएका थिए। पछि उनले त्यसमा केही रकम थपेर एउटा केबल कम्पनी सञ्चालनमा ल्याए। आफ्नो व्यापारलाई बडो सावधानीका साथ उनले बढाएका थिए। सन् १९९६ मा उनले टाइम वार्नर केबुल (टीडब्लूसी) बेचे। त्यस्ताका उनको केबलभिजन उद्योग अमेरिकाकै सबैभन्दा बढी केबल ग्राहक उपलब्ध गराउने कम्पनीहरूमध्ये आठौं स्थानमा दरियो। उनले कम्पनीमा २५ सय कर्मचारी र १० लाख ३० हजार ग्राहक बनाइसकेका थिए। ‘मैले आवश्यकता महसुस गरेको थिएँ,’ उनले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘टेलिभिजनका लागि मानिसहरू निकै भोका थिए। त्यसैले त यो व्यापार मेरा लागि सफलताको खुड्किलो बन्न पुग्यो।’ ‘फोब्र्स’ पत्रिकाका अनुसार अलानको कुल सम्पत्ति १.४९ अर्ब अमेरिकी डलर रहेको छ। यो वर्षको अर्बपति सूचीमा उनी १ हजार ३ सय ७६ औं स्थानमा रहेका छन्।

यसैगरी अर्का अर्बपति हुन्, कार्ल बर्ग। १० वर्षको छँदा उनको बुबाको निधन भएको थियो। उनकी आमा एउटा विद्यालयकी शिक्षिका थिइन्। न्यु मेक्सिकोको ग्रामीण क्षेत्रमा रहेर आमाले उनलाई हुर्काएकी थिइन्। स्थानीय विद्यालयमा पढाइ सकेपछि उनी कलेजमा भर्ना भए। कलेजको शुल्क तिर्न उनले भेन्डिङ मेसिनको मर्मत गर्ने काम थालेका थिए। त्यहाँ एउटा कलर्कका रूपमा उनले काम गरेका थिए, त्यो पनि रात्रिकालीन सेवामा। सञ्चार माध्यमहरूका अनुसार उनी राति त्यहीँ बस्थे।

त्यहाँको आफ्नो बसाइको अनुभव उनले एउटा अन्तर्वार्तामा यसरी साटेका छन्, ‘मेरा लागि त्यो कार्यालय सहरकै सबैभन्दा राम्रो होटल थियो।’ काम गर्न बिल्कुलै अल्छी नगर्ने स्वभावका भएकाले उनलाई स्थानीय कार्यालयमा काम गर्ने प्रस्ताव आयो। त्यो प्रस्तावलाई उनले सहजै स्वीकार गरे। किनभने उनी फुर्सदको सबै समय काममै खर्चिन चाहन्थे। किनभने त्यसले उनको आम्दानी नै बढ्यो। पछि उनले सिलिकन भ्यालीमा आफ्नो लगानी गरे। उनले न्यु मेक्सिको विश्वविद्यालयबाट कलामा स्नातक गरे। सन् २०१३ मा फोब्र्स पत्रिकाको अर्बपति सूचीमा १ हजार २ सय ६८ औं स्थानमा सूचीकृत भएका थिए। आफैंले सञ्चालन गरेको व्यापारकै कारण उनी त्यो वर्ष अमेरिकी धनाढ्यहरूको सूचीमा ४ सय ८ औं स्थानमा दरिए। त्यसअघि सन् २०१० मा फोब्र्सको ४ सयजना धनाढ्यको सूचीमा उनी ३ सय ८ औं स्थानमा सूचीकृत भएका थिए। हाल उनको सम्पत्तिको स्रोत रियल इस्टेट रहेको पत्रिकाले जनाएको छ।

सुरुमा घरको आर्थिक अवस्था जर्जर रहे पनि विश्वकै अर्बपति बन्न सफल भएका अर्का धनाढ्य हुन्, सेल्डोन एडेल्सन। अमेरिकाको बोस्टनमा बस्ने सेल्डोन क्याब ड्राइभरका छोरा हुन्। उनले १२ वर्ष उमेरमै अखबारहरू बेचेर आफ्नो र परिवारका लागि रकम जुटाउँथे। उनले आफ्नो काकाबाट २ सय डलर सापटी लिएर व्यापार थालेका थिए। पछि कलेजमा भर्ना भएर पढ्न थाले।

तर, आर्थिक अवस्था अत्यन्तै दयनीय भएकाले उनी कलेजबाट ड्रप आउट भएर कोर्टको रिपोर्टर भएर काम गरेका थिए। केही समयका लागि उनी सेनामा समेत भर्ना भएका थिए। ‘द न्युयोर्क टाइम्स’ का अनुसार एडेल्सनले शौचालयका समानसमेत बेचेका थिए। त्यसले पनि नपुगेपछि बन्धक दलालीसमेत गर्न थालेका थिए। पछि उनले एउटा वार्षिक कम्प्युटर व्यापारको प्रदर्शनी गर्ने ‘कोमडेक्स’ खोले, त्यसैबाट उनी धनाढ्य बनेको बताइन्छ। उनको सम्पत्तिको स्रोत ट्रेड सो र क्यासिनो भएको हो। फोब्र्सका अनुसार सेल्डोन लस भेगास स्याड्सका अध्यक्ष र सीईओ हुन्। उनको कुल सम्पत्ति ३५ अर्ब अमेरिकी डलर रहेको छ। सन २०१६ मा उनले ट्रम्पलाई चुनावका लागि ५ मिलियन अमेरिकी डलर सहयोग गरेका थिए। यो वर्षको अर्बपतिहरूको सूचीमा उनी २० औं र अमेरिकामा १४ औं स्थानमा छन्। अघिल्लो वर्ष विश्वकै शक्तिशाली व्यक्तित्वहरूमा उनी ७२ औं स्थानमा थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com