कतार वार्ताको लागि तयार : अमिर


प्रकाशित मिति : श्रावण ७, २०७४ शनिबार

– होम कार्की

श्रावण ७, २०७४- नाकाबन्दी गरेको झन्डै डेढ महिनापछि कतारी अमिर शेख तमिम विन हमाद अल–थानीले संकटलाई हटाउनको लागि कतार वार्ताको लागि तयार भएको घोषणा गरेका छन् ।

चार लाख नेपाली कार्यरत रहेको कतारलाई साउदी अरबको नेतृत्वमा युएई, बहराइन र इजिप्टले जुन ५ तारिख कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दे नाकाबन्दी गरेको थियो । कतारी अमिर तमिमले शुक्रबार जनताको नाममा सम्बोधन गर्दै आफ्नो देशको सार्वभौमिकतालाई सम्मान गर्दै संकटलाई समाधान गर्न तयार भएको बताए । नाकाबन्दी गरेलगत्तै जनतालाई सम्बोधन गर्न खोजेका थिए । कुवेतले समस्या समाधान गर्न मध्यस्थता गर्ने बताएपछि कुवेतको आग्रहमा अमिर तमिमले त्यतिखेर आफ्नो सम्बोधन रोकेका थिए । ‘कतारको सार्वभौमिकतालाई सम्मान हुने गरी हामी वार्ताको माध्यमबाट समस्या समाधान गर्न खुल्ला छौं’, उनले भने ।

अमिर तामिमले कतारविरुद्धको अभियान योजनाबद्ध रुपमा रहेको बताउँदै कतारको विदेश नीति र स्वतन्त्रपूर्वक बोल्न पाउने अधिकारलाई चार देशले कमजोर बनाउने कोसिस गरेको बताए । उनले समस्या समाधानको लागि कुवेतले मध्यस्थता गरिरहेको र त्यसमा अमेरिका, टर्की र जर्मनीको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
उनले टर्कीले आधारभूत आवश्यकता तुरुन्तै आपूर्ति गरेर सहयोग गरेको भन्दै धन्यवाद दिए ।

अमिर तमिमले कतारमा बस्ने सबै नागरिक र आप्रवासी कतारको प्रवक्ता भएको भन्दै संकटको बेला सबै एकठाँउमा उभिएको बताए । ‘कतारलाई बदनाम गराउने अभियानविरुद्ध कतारी जनताले अभूतपूर्व रुपमा उच्च नैतिकता कायम गरेको देखाउँदा मानिसहरु अचम्ममा परेका छन्’, उनले भने,‘वास्तवमा यो नैतिकताको परीक्षण पनि थियो । हाम्रा जनता यसमा पास भए । यसलाई निरन्तरता दिन आव्हान गर्छु ।’

कतारी अमिर तमिमले आंतकवादविरुद्ध कतार उभिएकोप्रति जोड दिए । ‘कतार कसैसँग सम्झौता नगरी आतंकवादविरुद्ध लडिरहेको छ । कतारको भूमिकाबारे अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान छ,’ उनले भने ।

साउदी नेतृत्वको समूहले अलजजिरा टेलिभिजन बन्द, इस्लामिक समूहसँगको सम्बन्ध विच्छेद, इरानसँग सीमित सम्बन्ध राख्नुपर्ने, टर्की सेनालाई कतारबाट हटाउनुपर्नेलगायत १३ बुँदे माग राखेको थियो । त्यसलाई कतारले स्वीकार नगरेपछि आतंकवादलगायत क्षेत्रीय विषयमा ६ वटा विषयमा कतार सहमति हुनुपर्ने एजेन्डा अगाडि सारेको छ ।

नाकाबन्दी भएपछि नेपाली कामदारको दैनिक जीवन र रोजगारीमा ठूलो असर परेको हालसम्म देखिएको छैन । खुद्रे पसलमा पहुँच भएका कामदार भने महँगीको मारमा परेको छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com