भारत–चीन आमने सामने भएको अवस्थामा प्रधानमन्त्री भ्रमण कति उचित ?


प्रकाशित मिति : श्रावण ७, २०७४ शनिबार

श्रावण ७, २०७४- भारत र चीनबीच तनाव उत्पन्न भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्न हुने या नहुने बहस कूटनीतिक संयन्त्रमा सुरु भएको छ । परराष्ट्र मन्त्रालयका केही अधिकारीले वर्तमान समयमा दुवै छिमेकमा भ्रमण गर्ने विषयमा गम्भीर विचारविमर्श गर्नुपर्ने औंल्याएका छन् । प्रधानमन्त्री देउवा भारत भ्रमणको गृहकार्यसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणको तयारी पनि छ । भारत र चीन आमने सामने भएको यो समयमा दुवै मुलुकको भ्रमण त्यो तहबाट गर्न हुन्छ या हुँदैन भन्ने विषयमा कूटनीतिक निष्कर्ष आउन सकेको छैन ।

भारत र चीन सीमा विवादलाई लिएर ‘वाकयुद्ध’ गरिरहेको अवस्थामा भ्रमण गर्न उचित हुन्छ या हुदैन भन्ने विषय बहसमा आएको हो । भुटानसँगको चीनको सीमाको विषयमा सुरु भएको विवादमा भारत समेत मिसिएपछि अहिले भारत–चीन सम्बन्धमा तनाव उत्पन्न भएको छ । भुटान र चीनको दुईपक्षीय मामिलामा भारत प्रवेश गरेपछि यो अवस्था आएको बताइएको छ । दोक्लम क्षेत्रमा सडक निर्माणको विषयमा भुटान चीनबीच विवाद भएको र भारतीय सेना त्यो क्षेत्रमा पुगेपछि सेना नहटेसम्म चीनले बार्ता नै नगर्ने बताएपछि समस्या बढो छ । दुवै तर्फका सेनाहरु सीमामा  तैनाथ छन ।

यस्तो अवस्थामा प्रधानमन्त्री र उपप्रधानमन्त्री स्तरबाट छिमेकमा भ्रमण गर्न हुने या नहुने भन्ने प्रश्न चिन्ह खडा भएको छ । भारत र चीनबीचको सम्वन्धमा नेपाल पर्न नहुने भएकाले अहिले त्यो भ्रमण गर्नु राम्रो हुदैन भन्ने सुझाव यस क्षेत्रका विज्ञहरुको छ । भ्रमण नै गर्नु पर्ने भए विशेष दूत पठाएर बुझ्न राम्रो हुने उनीहरुको सुझाव छ । अवस्था अध्ययन गर्ने र यस्तै सम्वन्ध रहे भ्रमण गर्दा असर नगर्ने तर विग्रदै गएमा यसलाई बुझ्न र अध्ययन गर्न चुक्न नहुने सुझाव यस क्षेत्रका विज्ञहरुको छ ।

सन् १९६२ मा भारत र चीनबीच युद्ध हुँदा नेपालले दूत पठाएर आफ्नो तटस्थता स्पष्ट पारेको थियो । त्यसबेला दुवै मुलुकले नेपालमा आफ्ना दूतहरु पठाएर आफ्नो पक्षमा नेपाललाई तान्न खोजेका थिए । तर, नेपाल तटस्थ बसेको थियो । त्यसबेला नेपालको कूटनीतिक चातुर्यको प्रशंसा भएको थियो । अहिले पनि परम्परावादी भ्रमण सोचलाई थाति राखेर नेपालले त्यही प्रकारको कूटनीतिक चार्तुयता देखाउन पर्ने सुझाव एकथरीको छ । प्रधानमन्त्री देउवा असोज २ गतेको तेस्रो चरणको स्थानीय तह निर्वाचन अगावै भारत जानेगरि तयारी अघि बढेको छ ।

पूर्व राजदूत सुन्दरनाथ भट्टराई यो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमण हँुदा अर्को छिमेकीले कुन अर्थ लगाउँछ भन्ने कुरा सरकारले सोच्नु पर्ने बताउछन् । ‘सम्वन्ध आ(आफ्नै प्रकारका हुन्छन् तर दुवै छिमेकी हुनाले संवेदनशील अवस्थामा सरकारका कार्यकारी आफै घोत्लिन पर्ने हुन्छ’ चीन अध्ययन केन्द्रका कार्यकारी प्रमुख समेत रहेका भट्टराईले भने, ‘चीनतर्फ जाँदा भारतले र भारत तर्फ जादा चीनले हेर्ने दृष्टिकोणलाई विचार गर्न आवश्यक छ ।’ चीन र भारतको अडान हेर्दा त्यो समस्या सजिलै सल्टिने देखिदैन । यस्तो अवस्थामा नेपाल सिधा पर्न नहुने भन्दै ख्याल गरेर अघि बढ्न आवश्यक रहेको उनले बताए ।

परराष्ट्र मन्त्रालयले दुवैतर्फको भ्रमणको तयारी थालिसकेको छ । मन्त्रालयले पछिल्लो अवस्थाको बारेमा विश्लेषणभन्दा पनि भ्रमण गरिहालौं भन्ने सोचाईले यसमा सही सुझावसमेत नमिलेको परराष्ट्रकै केही अधिकारी बताउँछन । यसमा परराष्ट्र मन्त्रालय भित्र पनि बहस हुनुपर्ने केही अधिकारीहरुको धारणा छ । पूर्व परराष्ट्रमन्त्री तथा माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ भ्रमण गर्न सकिने भए पनि यो समस्या कसरी अघि बढ्छ भन्नेलाई नजिकबाट नियाल्नु आवश्यक रहेको बताउछन् । ‘भारत र चीनको दुईपक्षीय मामिलामा नेपाल पर्न हुँदैन । त्यसमा हामी ‘न्युट्रल’ नै बस्ने हो । यो विषय बाहिर हल्ला गरेर होइन भित्र बुझेर अघि बढ्न सक्नुपर्छ । कूटनीतिक निकाय यसमा चनाखो हुन जरुरी छ,’ श्रेष्ठले भने, ‘उनीहरु बीच समस्या समाधान हुने तर्फ अघि नबढे हामीले पुर्नविचार गर्नपर्छ । तर अहिले नै जानै हुँदैन म भन्दिनँ ।’

संसदको अन्तराष्ट्रिय मामिला तथा श्रम समितिका सदस्य लालबाबु यादव सरकारले यस्तो विषयमा बहस गर्नुपर्नेमा वेवास्ता गरेको बताउछन् । ‘संसदको समिति मिनी संसद हो । तर परराष्ट्र मन्त्रालयले त्यसको उपेक्षा गर्दै आएको छ । भ्रमण हुने या नहुने विषय पनि हामीलाई जानकारी छैन,’ उनले भने, ‘छिमेकको गाम्भिर्य र आफ्नो मुलुक भित्रको अवस्थालाई समेत ख्याल गर्न आवश्यक छ । भ्रमण नै सबैथोक होइन । नीति पनि मन्त्रालय आफै बनाउदै छ लागू पनि आफै गर्दै छ कूटनीति संचालनको के कुरा गर्ने र ?’ प्रधानमन्त्री भ्रमणबारे बहस गर्ने र विभिन्न विषयमा कहिलेकाही परराष्ट्रले छलफल गर्ने गरेको भए पनि अहिले त्यस्तो देखिएको छैन । भारत र चीनको समस्याको विषयमा सरकारले आन्तरिक रुपमा बहस गरेकै छैन । विज्ञहरुको सुझाव लिने तयारी अवस्था र धारणा बनाउने काम नगरेको भन्दै केही विज्ञहरुले चिन्ता समेत ब्यक्त गरेका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले भ्रमणको विषयमा अहिले के गर्ने नगर्ने भन्ने निर्णय नभइसकेको बताए । ‘हामीले विज्ञहरुसँग छलफल गरेर सुझाव लिएर नै भ्रमणको एजेन्डा तथा अन्य तयारी अघि बढाउने हो । यसमा छलफल हुन्छ,’ उनले भने । पूर्व राजदूत जयराज आचार्यले भ्रमण गर्नै नहुने भन्ने नभएको, तर नेपालको तयारी के हो स्पष्ट हुन जरुरी रहेको बताए । नेपालको कूटनीतिक क्षमता खस्किएको अवस्था रहेको भन्दै उनले भने, ‘हामीले तटस्थता देखाउन सक्नुपर्छ । यसमा चुक्नु हुदैन ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com