एउटै चालक ४२ पटकसम्म कारबाहीमा


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

– दीपेन्द्र विष्ट

श्रावण ६, २०७४-

हिलटेक कम्पनीको नाममा रहेको को१क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लंघन गरे । कहिले लेन अनुशासन मिचेको त कहिले फरक किसिमका हेलचेक्र्याइँ गरेको अभियोगमा कारबाहीमा परे । चालक फेरिए पनि बस चलाउने तरिका फेरिएन । जो आए पनि कारबाहीमा परिरहे । सोविन्द तामाङले चलाएको माइक्रोबसले ठक्कर दिँदा २ वर्षअघि नयाँ बसपार्कमा पैदलयात्री ४ वर्षीय अनुष तामाङको मृत्यु भयो । प्रहरी विवरणमा दुर्घटनाको कारण चालकको लापरबाही भन्ने प्रस्ट छ । तिनै सोविन्दले ट्राफिक अनुशासन उल्लंघन गरेबापत २७ पटक जरिवाना तिरे । तर, गाडी चलाउने सरकारी अनुमति पाइरहे ।
अर्जुन सेवाले चलाएको माइक्रोबसले किच्दा १ वर्षअघि चिकित्सकद्वय सन्दीप सुवेदी र सोनी आनन्दको मृत्यु भयो । नयाँ बानेश्वरस्थित विद्या संस्कार विद्यालयको विद्यार्थी बोकेको बा१य ४३ नम्बरको हरियो प्लेटको माइक्रोबस अचानक ब्रेक फेल भएर दुर्घटना भएको थियो । यसमा तीन किसिमका कमजोरी भएका थिए, पर्यटक बसमा विद्यार्थी बोक्नु, अति जीर्ण गाडी चलाउनु र पटके उल्लंघनकर्ता चालक हुनु ।
प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार सेवाले लाइसेन्स लिएको ९ वर्षमै साना–ठूला गरी २६ दुर्घटना गराएका थिए । २०६३ मा वाग्मती अञ्चल यातायात कार्यालयबाट लाइसेन्स लिएको केही महिनामै उनले ठक्कर दिए र जरिवाना तिरेर निस्के । ट्राफिक प्रहरी महाशाखाका अनुसार लाइसेन्स लिएको ६ महिनाभित्र उनले तीनपटक जरिवाना तिरिसकेका थिए । २०६७ मा उनले १० पटकभन्दा बढी जरिवाना तिरे । २०७२ मा मात्र ५ पटक जरिवानामा परे । उनले २०६५ मा तनहुँको घाँसीकुवामा गाडी दुर्घटना गराउँदा एक जनाको मृत्यु भएको थियो । पुर्पक्षका लागि थुनामा रही छुटेको केही महिनामै उनले पुन:गल्ती गरेर जरिवाना तिरे ।
४ वर्षअघि बौद्धमा विष्णुबहादुर बलले चलाएको माइक्रोबसको ठक्करले मोटरसाइकल चालक भक्तबहादुर विकको घटनास्थलमै मृत्यु भयो । बल २० पटक कारबाहीमा परिसकेका व्यक्ति हुन् । बा१ज ९७६ नम्बरको ट्याक्सी चालक अष्टनारायण महर्जन ३४ पटक, बा२ख ९५ नम्बरको गाडीका चालक प्रकाश आचार्य ४२ पटक कारबाहीमा परे । प्रहरीले संकलन गरेको तथ्यांकका आधारमा आर्थिक वर्ष २०७३/७४ मा उपत्यकामा प्रत्येक दिन १५ सवारी दुर्घटना हुने गरेको देखिन्छ । चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, ओभरटेक, पैदलयात्रीको लापरबाही, तोडफोडबाट सवारी साधनको क्षति, सडकको अवस्था र मौसम तथा चौपायाका कारण प्रत्येक दिन उपत्यकामा सवारी दुर्घटना बढ्दै गएको प्रहरीले उल्लेख गरेको छ ।
सबैभन्दा बढी दुर्घटनाचाहिँ चालकको लापरबाहीले हुने गरेको छ । महाशाखाका डीआईजी मिङ्मार लामाले पछिल्लोपटक उपत्यकाको सडकको दुरवस्थाले गर्दा सवारी दुर्घटना बढेको दाबी गरे । ‘चालकले ओभर कन्फिडेन्टमा गाडी हाँक्छन्, तर सडकको अवस्था नाजुक छ,’ उनले भने, ‘सडकको अवस्था नबुझेरै गाडी हाँक्दा दुर्घटना बढेका छन् ।’ चालकको लापरबाहीले ५ हजार २ सय ५, तीव्र गतिले ४१, मादक पदार्थ सेवनले १ सय ६७ र यान्त्रिक गडबडीले गर्दा ५० दुर्घटना भएको प्रहरी तथ्यांकमा छ ।
‘दक्ष चालक पनि छैनन्, राजधानीका सडक पनि राम्रा छैनन्,’ डीआईजी लामाले भने, ‘त्यसकारण सडकको अवस्था पनि सुधार्नुपर्छ ।’ अस्वस्थ प्रतिस्पर्धाले गर्दा चालकले जथाभावी गाडी चलाउँदा दुर्घटनाको अनुपात बढेको उनको भनाइ छ । त्यसैगरी, ओभरटेकमा ३३ वटा, पैदलयात्रीको लापरबाहीले ४ वटा, सडकको अवस्थाले २१ वटा, मौसम तथा चौपायाका कारण ७ र सवारी साधनको तोडफोडले २ सवारी दुर्घटना भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com