न्याय खोज्दै गर्भवती बालिका सदरमुकाम


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

– विद्या राई

श्रावण ६, २०७४- अरुण गाउँपालिका–५, याकुकी ११ वर्षीया गर्भवती बालिका न्याय खोजीमा सदरमुकाममा भौंतारिँदै छिन् । उनी गत वर्ष पुसमा बलात्कारमा परेकी हुन् ।
बालिकाका अनुसार उनी गत पुस ९ गते पहिलोपटक ‘महिनाबारी’ भइन् । त्यसै महिनाको एक बिहान उनी खाना पकाउँदै थिइन् । आमाबुवा मेलापात गएका थिए । ३ वर्षको भाइ बाहिर खेल्न गएको थियो । घरमा एक्लै भएको दाउ छोपेर छिमेकी २० वर्षीय दुर्गाबहादुर श्रेष्ठले उनलाई यौन दुव्र्यवहार गरे । ‘खाना पकाउँदै थिएँ, ऊ आयो, मलाई नजिकैको खाटमा लगेर मुख थुन्यो, जबरजस्ती गर्‍यो,’ ती बालिकाले भनिन्, ‘कसैलाई भनिस् भने कुट्छु, तेरी आमालाई मार्दिन सक्छु भनेर धम्कायो, डरले कसैलाई भन्नै सकिनँ ।’
घटना गुपचुप रह्यो । पहिलोपटक महिनावारी भएकी छोरीको महिनौंसम्म रोकियो । केही समयपछि दोहोरिएला भन्ने आमाले ठानिन् । पहिलो महिनावारी भएको ६ महिना बित्नै लाग्दा, असार पहिलो साता आमाछोरी सँगै सुतेका थिए । ओढ्ने ओढाउने क्रममा आमाको हात छोरीको पेट छुन पुग्यो । पेट कडा भएको अनुभव भएपछि आमाले छोरीलाई सोधिन् ।
छोरीले दुर्गाबहादुरले गरेको हर्कत आमालाई सुनाइन् । भोलिपल्ट नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गर्दा पो थाहा भयो उनी गर्भवती भएकी रहिछन् । ६ महिना भइसकेकाले गर्भपतन गर्न नमिल्ने भयो । बालखा छोरी गर्भवती भएको सुन्दा आमा छाँगाबाट खसेजस्तै भइन् । गाउँमा केटा पक्ष र केटी पक्ष राखेर समाजको भेला बस्यो । जबरजस्ती करणी गरेको स्वीकारे पनि केटीको बुवा नेवार र आमा दलित समुदायको भएकाले केटा पक्षकाले दलितकी छोरी नभित्र्याउने चेतावनी दियो । केटीलाई गाउँमा नबस्न धम्की दियो । यसमा केटी पक्षमा रहेर न त महिला तथा बालअधिकारकर्मीले बोल्न सके न त प्रहरीले नै कानुनी दायरामा ल्याउन सके । असार १६ गते गर्भवती बालिका गाउँनिकाला भइन् । ‘गाउँको डरधम्कीकै कारण छोरीलाई घरमा राख्न सकेनौं,’ उनका बुवाले भने ।
गाउँनिकाला भएकी उनलाई केटाले नै धरान पुर्‍यायो । ‘धरान मैले कैल्यै देखेकी थिइनँ, उसले लिएर गयो, एउटा कोठामा दुईवटा खाट थियो, हामी बोलेनौं, खाना खाने बेला बोलाउँथ्यो, तीन दिनपछि बिहान हिँडेको ऊ अबेलासम्म नआएपछि म बाहिर निस्किएँ,’ उनले भनिन् । बिचल्लीमा परेकी उनी एकजना महिलाको सम्पर्कमा आइन् ।
काम विशेषले धरान गएका बालिकाका मामा–माइजूलाई ती महिलाले सम्पर्क गराएपछि केही सहारा त जुट्यो । तर गाउँ फर्कने अवस्था रहेन । मामा–माइजू महिला तथा बालबालिका कार्यालयको सम्पर्कमा आए । अधिकृत पुष्पलता उप्रेतीले बालिकालाई लिएर आउन आग्रह गरेपछि न्याय खोज्दै मंगलबार भान्जी लिएर सदरमुकाम आइपुगेका छन् ।
‘आमा दलित भएकै कारण हाम्री भान्जी बिचल्लीमा परेकी छन्, केटा पक्षले मात्रै होइन समाजले नै गाउँनिकाला गरिदियो, अन्यायमा परेका हामीलाई न्याय दिलाइनुपर्‍यो,’ केटा पक्षलाई कानुनी कठघरामा ल्याइनुपर्ने मामाले बताए । पीडितलाई न्याय र पीडकलाई सजाय हुनुपर्ने उनकी माइजू र बुवा बताउँछन् ।
आफू गर्भवती भएको चाल पाएपछि बालिका मानसिक तनावमा छिन् । उनी केटासँग बस्ने पक्षमा छैनन् । पढाइलाई निरन्तरता दिने उनको एउटै लक्ष्य रहेको सुनाइन् । केटा बेखबर छ । केटा पक्षले गाउँमा आतंक मच्चाएका छन् । गाउँमा बस्ने वातावरण छैन । उनका बुवाआमा डरधम्की सहेर बस्न बाध्य छन् ।
‘बालिकालाई सकुशल सदरमुकामसम्म झिकाउन सफल भएका छौं, उनलाई गाउँमा बस्ने वातावरण नभइसकेपछि र उनको पढाइ पूरा गर्ने चाहना भएकाले सहयोगी संस्थाको सम्पर्कमा ल्याएका छौं,’ महिला तथा बालबालिका अधिकृत उप्रतीले भनिन्, ‘केटाले केटीलाई बलात्कार गरेको सप्रमाण प्रस्ट छ, पीडकलाई कारबाहीका लागि जिल्ला प्रहरीमा उजुरीसहित केटी पक्षलाई पठाइएको छ ।’
जिल्ला प्रहरी कार्यालयका डीएसपी काजीकुमार आचार्यले उजुरी लिएका छन् । आचार्यले उजुरीअनुसार पीडित पक्षसँग बसेर सम्पूर्ण अनुसन्धान भइसकेको बताए । फरार पीडक धरानबाट पक्राउ परिसकेका छन् । ‘केही दिनमा जिल्लामा पीडकलाई ल्याइपुर्‍याउनेछौं, जबरजस्ती करणीअन्तर्गत मुद्दा चलिसकेको छ, बालिकाको स्वास्थ्य र भविष्यका सम्बन्धमा अब अदालतले फैसला गर्नेछ,’ उनले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com