उदांगिएको ब्याटिङ


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

श्रावण ६, २०७४- आईसीसी यू–१९ विश्वकप छनोटको एसिया क्षेत्रमा नेपालले पहिलो पराजय भोगेको छ । पहिलो दुई खेल सजिलै जिते पनि निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाली टिम त्यही नियति दोहोर्‍याएपछि बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको विशाल अन्तरले पराजित भयो ।
अफगानिस्तानको यो लगातार तेस्रो विजय हो । सिंगापुरमा भइरहेको प्रतियोगिताको डबल राउन्ड रोबिन लिग विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।
सिंगापुर क्रिकेट क्लबमा नेपालले टस जितेपछि आएको अफगानिस्तान ४९.४ ओभरमा १ सय ९० रनमै अलआउट भयो । तर जवाफमा आएको नेपालले २६ ओभरभित्रै ४९ रनमा समेटिएपछि लज्जास्पद हार बेहोरेको हो । अफगानिस्तानबाट दुई वान डे अन्तर्राष्ट्रिय खेलिसकेका नाभिन उल हकले ह्याट्रिकसहित ४ विकेट लिए । अफगानिस्तानको नवौं ओभरमा उनले दीपेन्द्रसिंह ऐरी, प्रनित थापामगर र अनिलकुमार शाहलाई लगातार बलमा आउट गरेका थिए ।
नेपालबाट पवन सर्राफले मात्र दोहोरो स्कोर बनाए । ५२ बल खेल्दै ३ चौका प्रहार गरी २६ रन बनाएका उनी नेपाली इनिङ्समा आउट हुने अन्तिम खेलाडी थिए । ओपनरद्वय सन्दीप सुनार २ र आसिफ शेख ६ रनमा आउट भए । आदिल खान र दीपेन्द्रले ४–४ रनमात्र बनाउन सके । त्यसपछि प्रनित, अनिल र रोहितकुमार पौडेल शून्यमा आउट भएपछि नेपालको ब्याटिङ हविगत प्रस्टिएको थियो ।
नाभिनका ओपनिङ बलिङ जोडी मुजिबले पनि ४ विकेट लिएका थिए । मुजिबले सन्दीप र आशिफलाई आउट गर्दा नेपालले ४ ओभर अन्तरमा सुरुको ६ विकेट गुमाएको थियो । ‘हामी निकै खराब खेलिरहेका छौं, जब १० ओभर खेल्नु अगाडि नै सुरुको ६ विकेट झरिसक्छ भने भन्नलाई केही बाँकी रहन्न,’ नेपालका प्रशिक्षक विनोद दासले भने, ‘हामीले निकै खराब ब्याटिङ गरिरहेका छौं ।’
उनले अगाडि भने, ‘४ बलको अन्तरमा हामीले शीर्ष ब्याट्सम्यान गुमायौं । त्यसमा विकेटको कुनै दोष थिएन । दोष हाम्रो खेल्ने तरिकाको थियो । ब्याट्सम्यानहरूले परिस्थितिअनुसार खेलेनन् । कसरी खेल्नुपर्छ भनेर हामीले प्रयास पनि गरेनौं ।’ अफगानिस्तानसँगको हारले नेपालको विश्वकपमा पुग्ने सम्भावना लगभग समाप्त भइसकेको छ ।
यसअघि अफगानिस्तानबाट ओपनरद्वय इब्राहिम जाद्रनले ४३ र नविद ओवाइदले ३३ रन बनाएका थिए । नेपालबाट शाहब आलमले ३, कप्तान सन्दीप लामिछाने र पवनले २–२ तथा दीपेन्द्र र किशोर महतोले १–१ विकेट लिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com