भाडा १ सय, बिचौलियालाई ४० हजार


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

– प्रशान्त माली

गोदावरी नगरपालिकाका एक व्यक्तिले पाटन दरबार स्क्वायर क्षेत्रमा भाडामा सञ्चालन गरेको पसल कबल सरकारी स्वामित्वको हो । ती व्यक्तिले उक्त क्षेत्रमा ४ वटा पसल कबल भाडामा लिएबापत मासिक ४० हजार रुपैयाँ बुझाउँछन् । पाटनकै अर्का व्यक्तिले पनि दरबार क्षेत्रमा २ वटा पसल कबल सञ्चालन गरेबापत मासिक ३० हजार रुपैयाँ बुझाउँछन् । उनीहरू जस्तै पाटन दरबारक्षेत्रमा पसल कबल भाडामा लिएबापत मासिक १० देखि ५० हजार रुपैयाँ बुझाउने थुप्रै छन् । उनीहरूले यसरी भाडा तिरे पनि गुठी संस्थानले भने मासिक भाडा १ सय रुपैयाँमात्र पाउँछ भन्ने सुन्दा पत्याउन गाह्रो पर्ला । सत्य यही हो । बाँकी रकम बिचौलियाले हात पारेका छन् ।

यो क्षेत्रको सञ्चालन गुठी संस्थान ललितपुर शाखा कार्यालयले गर्छ । बिचौलियाले भाडामा लगाएर वर्षौंदेखि अस्वाभाविक रूपमा मुनाफा कमाउँदै आएकोबारे संस्थानलाई जानकारी छ । संस्थानको लगतमा पनि बहालवालामध्ये धेरैजसोले आफूले लिएको पसल कबल अरूलाई बढी रकममा भाडामा दिएको उल्लेख छ । तर पनि संस्थानका हाकिम भने मौन छन् । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बिचौलियले भाडा बढाउन थालेपछि बहालमा बस्नेहरूले थप मर्कामा परेको गुनासो व्यक्त गरेका छन् । बहालमा बस्ने एक व्यक्तिका अनुसार संस्थान र बिचौलियाबीचको मिलेमतोका कारणले सरकारलाई अत्यन्त कम राजस्व भित्रिने गरेको छ ।

सरकारी स्वामित्वमा रहेको दरबार क्षेत्रमा भाडामा लिएका ५६ मध्ये ५१ जना बिचौलियाले त वर्षौंदेखि भाडा नतिरी आफूखुसी सञ्चालन गर्दै आइरहेका छन् । संस्थानका अनुसार २०५४ सम्ममा पाँच जनाले मात्र संस्थानसँग सम्झौता गरेका छन् । त्यसमाथि गुठी संस्थान ललितपुर शाखा मच्छिन्द्रबहालको लगतमा एउटा पसल कबलको भाडा वार्षिक १ सयदेखि एक हजार ८ सय २८ रुपैयाँ मात्र उल्लेख छ । ललितपुरको मुख्य व्यापारिक केन्द्र मंगलबजार क्षेत्रमा संस्थानले वर्षौंदेखि वार्षिक एक सय, २ सय ५०, तीन सय, पाँच सय रुपैयाँमा ५६ वटा कबल भाडामा दिइरहेको छ । अत्यन्त न्यून भाडा भए पनि बहालवालाहरूले संस्थानलाई भाडा नबुझाएको नै ८ वर्ष बितिसकेको छ ।

कानुनी प्रावधान अनुसार सम्झौता अवधि सकिइसकेकाले संस्थानले एकतर्फी रूपमा ठेक्का रद्द गर्न सक्छ । तर संस्थानले सम्झौता रद्द गरी चलनचल्तीको भाडा उठाउनेतर्फ कुनै प्रक्रिया सुरु गरेको छैन । संस्थानले सार्वजनिक सूचना प्रकाशित गरी लिलाम बढाबढमा आफ्ना पसल कबल भाडामा लगाउन सक्छ । यस्ता कुनै कदम नचाली संस्थान टुलुटुलु हेरेर बस्नु कर्मचारी र बिचौलियाबीचको मिलेमतो रहेको अर्को उदाहरण हो ।

गुठी संस्थानका निमित्त प्रमुख बैकुण्ठ आचार्यले बिचौलियाले बढी भाडा लिएर बहालमा दिइरहेको थाहा हुँदा पनि केही गर्न नसकेको दाबी गरे ।  ‘बहालवालाहरूलाई भाडा बुझाउन, नयाँ सम्झौता गर्न वर्षौंदेखि पटकपटक लिखित तथा मौखिक ताकेता गरिए पनि अटेर गरेको उनको भनाइ छ । पसल कबलहरू दरबारको ठूलो घण्टामुनि, भूकम्पले ध्वस्त हरिशंकर मन्दिर र मंगलबजार चारदोबाटो चोक वरिपरि छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com