रत्नपार्कदेखिको प्रेमयात्रा


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

– मधु शाही

एक दिन दयाहाङ राईले हात समाउँदै बेनुका राईलाई भने, ‘मलाई माफ गर है, तिमीलाई म धोका दिँदै छु ।’

‘धोका’ शब्द सुन्दा बेनुकाको अनुहारमा जुन निराशा छाउनुपर्ने थियो, छाएन । बरु दयाले घुमाएर आफूलाई प्रेम प्रस्ताव राखेको सुइँको उनको सिक्स्थ सेन्सले पाइसकेको थियो । करिब एक वर्षदेखि साथीको साइनोमा रहँदै आएका यी दुई नजानिँदो पाराले प्रेमजालमा फस्दै थिए । दयालाई लाग्थ्यो– ‘बेल फोरेकै राम्रो, मन खोलेकै राम्रो ।’
एक वर्षपछि दयाले मन खोले ।
‘थोरै याद छ, वानेश्वरतिरै हो कि भेटेर प्रस्ताव राखेको,’ दयाले सम्झिए, ‘साथी थिइन्, प्रेमी बनाउँछु भनेको थिएँ ।’
बेनुका चाहिँ त्यो बेला केही बोल्न सकिनन् । ‘हेरूँ, के हुन्छ’ भन्दै उनी घर पुगिन् । दया रंगमञ्चमा करिअर बनाउँदै थिए, बेनुका गायनमा । प्रस्ताव खेर पो जाने हो कि ? दया सशंकित थिए । केही समयमै फोनको घन्टी बज्यो । बेनुकाकै थियो फोन । घुमाएर लामो समय गफ गरेपछि पनि बेनुकाले औपचारिक स्वीकृति भने दिन सकिनन् ।
प्रेम शब्दमा भन्दा भावमा झल्किनुपर्छ भन्ने यी दुईको मान्यता थियो । दयाको प्रस्तावलाई बेनुकाले भावमै स्वीकार गरेकी थिइन् । यसपछि भेटहरूमा फरक अनुभूति हुन थाल्यो रे । सधैं साथी ठानेर हात समाउने दयाले प्रेमप्रस्ताव राखेपछि चाहिँ अलिकति छुँदा पनि फरक महसुस गर्न थालिन् बेनुकाले । दयाले पनि त्यति बेलाको झडका अझै भुल्न सकेका छैनन् ।
‘उनले छुँदा नर्भस भएकी थिएँ,’ बेनुकाले भनिन्, ‘उनी त झन् मभन्दा बढी नर्भस देखिन्थे ।’
बेनुका र दयाको प्रेमयात्रा रत्नपार्कबाट सुरु भएको थियो । तर, त्यो बेला कुनै योजना थिएन । न बेनुका दयालाई भेट्न आएकी थिइन्, न दया बेनुकालाई नै । आआफ्नै साथीहरूका झुन्डमा मिसिएका थिए उनीहरू । तिनताक रत्नपार्कमा रातो घर थियो, यो अहिले छैन । पहिलोपटक दयालाई बेनुकाले त्यही रातो घरको झयालमा चियाइरहेको अवस्थामा देखेकी थिइन् । अनामनगरस्थित दोभान रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गराउन तन्नेरीको झुन्ड रत्नपार्कबाट हिँडेको थियो । त्यो झुन्डमा दया र बेनुका दुवै थिए । रेकर्डिङ स्टुडियोसम्म पुग्दा सबै साथी हराए । मात्रै दया र बेनुका बाँकी रहे । त्यही बेला थियो, एकअर्कालाई नजिकबाट नियालेको ।
बिस्तारै सम्बन्धको डोरी कसिलो बन्दै गयो । संगीतमा राम्रो प्रगति गर्दै गएकी बेनुकालाई कला र संगीत बुझ्ने साथीको खाँचो थियो । दया उनको चाहना बुझेर संगीतमा करिअर बनाउने सल्लाह दिइरहन्थे । ‘दोस्रो भेटमै उनले गीत गाउन दिएको हिम्मत म कहिल्यै भुल्दिनँ,’ गायिकाको परिचय बनाइसकेकी बेनुकाले सोमबारको भेटमा सुनाइन् ।
‘फिटिक्कै डराउनुपर्दैन है, लामो सास फेरेर स्टेजमा जाऊ, त्यस्ता डर कता भाग्छन् कता,’ शालीन मुस्कान छर्दै दयाले यसरी हौसला दिएका थिए ।
भोजपुरका दयाहाङ काठमाडौंमा काकासँग बस्थे । खोटाङकी बेनुकाले दयासँग सात वर्षको प्रेम अनुभव बटुलेपछि बिहे गरिन् । आठ वर्षअघि मात्रै लगनगाँठो कँसेका उनीहरू यति बेला चारवर्षे छोराको अभिभावक बनेका छन् । दयाहाङ रंगमञ्चसँगै फिल्ममा स्थापित भएर नायकको छवि बनाए । बेनुका पनि गायिकाका रूपमा चिनिइन् । ‘पर्खाइ’ र ‘सा.. द फस्ट नोट’ गरी दुई एल्बम निकालेकी बेनुका गीतसंगीतमा सक्रिय छिन् ।
बिहेपछि बिहानै दयाले तातो चिया ओछयानमा पुर्‍याएको क्षण बेनुकालाई अहिले अतीत बन्दै छ । दयाको व्यस्तता हात्तै बढेको छ, जसको असर परिवारमा पर्न थालेको छ । बेनुका बेखुसी पनि छैनन् । ‘सेलिब्रिटी लाइफ यस्तै हुन्छ,’ उनले भनिन्, ‘उनको प्रगतिमा मेरो मुस्कान झल्किएको पाउँछु ।’
उनका अनुसार दया माछाका परिकार निकै मीठो पकाउँछन् । दयाबाटै बेनुकाले पनि माछाका परिकार बनाउन सिकेकी हुन् ।
पत्नीको सकारात्मक साथले नै रंगमञ्चदेखि फिल्म क्षेत्रमा खुलेर जम्न पाएको दया बताउँछन् । सेलिब्रिटीको जीवनशैली राम्रोसँग महसुस गर्न सक्ने क्षमता बेनुकामा भएको हुँदा दुवैको सम्बन्ध विश्वासिलो भएको दयाको दाबी छ ।
मण्डला थिएटर बनाउने सपनादेखि फिल्ममा सफल हुन बेनुकाको ठूलो भूमिका रहेको दया सुनाउँछन् । उनी पनि ससानो कुरा बेनुकासँगै सल्लाह लिन्छन् । दुवै एकअर्काका अभिभावक बन्न खोज्छन् । ‘यसले गर्दा सेल्फ डिसिजन गर्ने बानी हराउँदो रहेछ,’ दयाले सुनाए, ‘अचेल एक्लै निर्णय गर्न सिकेको छु ।’
३० भन्दा बढी फिल्म खेलिसकेका दयाको अभिनयप्रति चाहिँ बेनुका अझै आशावादी छिन् । ‘दयाले आफ्ना लागि कहिले फिल्म खेल्छन् कुन्नि ?’ उनी भन्छिन्, ‘उनीभित्र अनेक पात्र छन्, जुन कलामार्फत अझै निस्किन बाँकी छन् ।’
दिनभरिको सुटिङ र मिटिङको थकानबाट दया घरभित्र आउँदा चाहिँ मुस्कुराएकै हुन्छन् । उनी तनावमा छन् भने बेनुकाले थाहा पाइहाल्छिन् । दया भने हाँसेरै टार्छन्, अरूलाई दु:ख देखाउँदैनन् । ‘कहिलेकाहीँ रिस पनि उठ्छ, फेरि मुस्कान हेर्छु, माया लाग्छ,’ बेनुकाले भनिन्, ‘दु:ख सबै आफैंलाई भन्ने विचार छ उनको ।’
इमानदार, परिवारप्रति जिम्मेवार, सरल स्वभाव दयाका बेनुकालाई मन पर्ने बानी हुन् भने, अलि लथालिंग हुने, स्ट्रिक्ली बोल्न नसक्ने, साथीभाइ र आफन्तको कुरा टार्न नसक्ने स्वभाव अलि मन पर्दैन ।
त्यस्तै, बेनुकाको समझदारीबाट दया प्रभावित छन् । फ्यामिली म्यानेज गर्ने र लगनशील स्वभाव छ रे बेनुकाको । आवश्यक निर्णय लिन नसक्ने, एकोहोरोपन र बढी नै डिपेन्डेन्ट हुने बेनुकाको बानी चाहिँ दयालाई मन पर्दैन ।

दयाहाङलाई बेनुकाको
मन पर्ने बानी 
    समझदार
    फ्यामिली हेर्न सिपालु
    लगनशील

मन नपर्ने बानी
    निर्णय लिन नसक्ने
    एकोहोरोपन
    बढी नै डिपेन्डेन्ट

बेनुकालाई दयाहाङको
मन पर्ने बानी 

    इमानदार
    परिवारप्रति जिम्मेवार
    सरल स्वभाव

मन नपर्ने बानी
    लथालिंगेपन
    स्ट्रिक्ली बोल्न नसक्नु
    कुरा टार्न नसक्नु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com