अर्को जित, ब्याटिङ समस्या उस्तै


प्रकाशित मिति : श्रावण ४, २०७४ बुधबार

श्रावण ४, २०७४- ब्याटिङमा खासै सुधार नगरेको नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा लगातार दोस्रो विजय हात पारेको छ । खासै प्रतिस्पर्धा गर्नु नपरेको नेपालले मंगलबार मलेसियामाथि ५ विकेटको जित रच्यो ।

सिंगापुरमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपालले सोमबार घरेलु टोलीलाई ४ विकेटले हराएको थियो । सिंगापुरविरूद्ध ७४ रनको लक्ष्य पाउँदा ६ विकेट गुमाएको थियो । दोस्रो खेलमा पनि नेपालको ब्याटिङमा खासै चमक देखिएन । सिंगापुर स्पोर्ट्स क्लबमा नेपालले टस जितेपछि आएको मलेसिया २५.५ ओभरमै ५८ रनको झिनो स्कोरमा अलआउट भयो । १० ओभरभित्रै ६१ रन बनाएको नेपालले त्यस क्रममा ५ विकेट गुमाउन पुग्यो ।

‘स्ट्रोक प्रहार गर्न यहाँको पिच सहज छैन । केही समय जोगिन्छ भनेर हामी ५–६ ओभरभित्रै खेल सिध्याउने लक्ष्यसाथ ब्याटिङमा गएका थियौं । तर त्यो पनि सहज भएन,’ नेपालका प्रशिक्षक विनोद दासले सिंगापुरबाट भने । नेपालले बुधबार अफगानिस्तानसँग खेल्दै छ । ‘हामी हाम्रो समस्या पहिल्याउने प्रयास गर्नेछौं, त्यो निश्चय पनि ब्याटिङ नै हो । यो समस्यामा सुधार आउँछ भन्नेमा हामी आशावादी छौं,’ दासले भने ।

डबल राउन्ड रोबिन लिगमा हुने खेलको विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ । जारी प्रतियोगितामा अफगानिस्तानले भने लगातार दोस्रो खेल जितेको छ । दोस्रो खेलमा पनि विपक्षीलाई कुनै मौका नदिई अफगानिस्तानले मंगलबार सिंगापुरलाई ७ विकेटले हराएको हो ।

दिनको खेलमा कप्तान सन्दीप लामिछानेको बलिङ फेरि चर्चाको विषय रह्यो । उनले लगातार दोस्रो खेलमा ५ विकेट लिए । ८.५ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १७ रन खर्चे । अफ स्पिनर पवन सर्राफले ३ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर ३ तथा किशोर महतो र सन्दीप सुनारले १–१ विकेट लिए । पहिलो ओभरबाटै विकेट गुमाउन सुरु गरेको मलेसियाबाट कुनै खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन् । ओपनर साइफुल्लाह मलिकले ८ र त्यसपछि आएका कप्तान विरनद्वीप सिंहले ९ रन बनाए ।

नेपालको ब्याटिङ समस्या उस्तै थियो । ओपनर सन्दीप सुनार ६ रनमा हाइकल खायरको बलमा आउट भए । अर्का ओपनर आसिफ शेखले २० बल खेल्दै ५ चौकासहित २३ रन बनाए । नेपालले प्रकाश केसी ‘ड्रप’ गरेर आसिफलाई विकेटकिपिङको पनि जिम्मा दिएको थियो । प्रकाशको स्थानमा खेल्दै तेस्रो नम्बरमा ब्याटिङ गरेका आदिल खान ५ रनमै आउट भए ।

दीपेन्द्रसिंह ऐरी पनि ४ रनमै पवेलियन फर्किए । अनिल शाहले खाता खोल्न भ्याएनन् । प्रनित थापामगरले १२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै नटआउट १८ रन बनाए । रोहित पौडेलले विजयी चौका प्रहार हाने । मलेसियाका हफिजुद्दिनले ३ विकेट लिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com