‘चुनाव नरोके आर्थिक नाकाबन्दी’


प्रकाशित मिति : श्रावण ४, २०७४ बुधबार

श्रावण ४, २०७४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संविधान लेखनका लागि भेनेजुएलाको आसन्न संविधानसभा चुनाव नरोके कडा आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले प्रजातन्त्रका लागि संघर्ष गरिरहेको भन्दै भेनेजुएलाका विपक्षीहरूको प्रशंसा गरे । ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोलाई तानाशाही प्रवृत्तिका खराब नेताको संज्ञा दिए । ‘हिजोको जनमतले भेनेजुएलाका जनता प्रजातन्त्र, स्वतन्त्रता र कानुनी शासनको पक्षमा रहेको प्रस्ट भएको छ ।’

ट्रम्पले जारी गरेको वक्तव्यमा उल्लेख छ । ट्रम्पले भने, ‘अमेरिका निष्पक्ष चुनावका पक्षमा भेनेजुएलाका जनताको साथमा छ ।’ उनले भेनेजुएलामा संकट पर्दा अमेरिका चुप नलाग्ने बताएका छन् । भेनेजुएलाका राष्ट्रपति मडुरोले यही जुलाई ३० मा संविधानसभा निर्वाचन घोषणा गरेपछि राजनीतिक संकट उत्पन्न भएको हो ।

राष्ट्रपति मडुरोको संविधानसभा चुनाव प्रस्तावको विरोधमा विपक्षीहरूले आमहडताल गरिरहेका छन् । विपक्षी दलका नेता फ्रेडी गोएभाराले शान्तिपूर्ण रूपमा देशव्यापी हडतालमा उत्रन नागरिकहरूलाई आह्वान गरे । विपक्षी नेताहरूले गराएको अनौपचारिक जनमत संग्रहमा ७२ लाख मानिसले भाग लिएका थिए ।

राष्ट्रपति मडुरोले भने अनौपचारिक जनमत संग्रहलाई अवैधानिक र औचित्यहीन भनेका छन् । विपक्षी दलहरूको संसद्मा नियन्त्रण भए पनि सन् २०१९ मा कार्यकाल सकिनुअगावै नयाँ चुनावको घोषणा गर्न राष्ट्रपतिसँग माग गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com