ज्यान जोखिममा राखेर राजमार्ग खोल्दै कामदारहरु


प्रकाशित मिति : श्रावण ३, २०७४ मंगलबार

– बसन्तप्रताप सिंह

श्रावण ३, २०७४- गत हप्ता तमैल भीर नजिकै पहिरोले सडक बगाएपछि बन्द भएको जयपृथ्वी राजमार्ग खुलाउने प्रयास तीव्र पारिएको छ । माथिबाट पहिरो झरिरहँदा पनि जोखिम मोलेरै सडक खुलाउने काममा कामदारहरु लागिरहेका छन् ।

सडक बगेको ठाउँमा जाली भर्ने काम भइरहेको छ । खसिरहेको पहिरोमा काम गर्न निकै जोखिम हुने गरेको कामदारहरुको भनाई छ ‘२/४ जनाले पहिरो कतिबेला खस्छ भनेर माथि तिर हेरी राख्नुपर्छ । उनीहरुको काम नै त्यही हो,’ सडकमा जाली भर्ने काम गरिरहेका एकजना अमर बोहराले भने, ‘पहिरो झर्न थाले पछि उनीहरु कराउँछन् । हामी सबै दौडेर सुरक्षित ठाउँमा जान्छौं ।’

काम गर्दैगर्दा पनि निकै होसियार हुनपर्ने र कतिबेला पहिरो खस्छ भनेर डर लागिरहने गरेको अर्का कामदार गणेश बोहराले बताए । यो पहिरो खुलाउनका लागि ३० जना कामदार दैनिक खटिइरहेका छन् । पहिरो बेला–बेला खसिरहने भएकोले दिनभरी काम गर्न नपाइने गरेको उनले बताए ।

पहिरोमा काम गर्नेहरुलाई सामान्य हेलमेट बाहेक सुरक्षाका अन्य उपकरणहरु पनि नभएकाले ढुक्क भएर काम गर्न सक्ने अवस्था नरहेको कामदारहरुको भनाई छ । एकजना कामदार दलबहादुर बोहराले भने, ‘डरै डरमा काम गर्नु परिरहेको छ । भिर नै खसेर कुन बेला सबैलाई सेती नदीमा पुर्‍याउँछ भन्न सकिन्न ।’

पहिरो खसिरहेको बेला काम गर्न जोखिम हुने भएकोले राजमार्ग पुन: सुचारु गर्न ढिलाई भैरहेको निर्माण कार्यको जिम्मा लिएका ठेकदार शेरबहादुर बोहराले बताए । वर्षा र पहिरो आउने क्रम नरोकिएकोले काम गर्न निकै कठिनाई भैरहेको उनको भनाई छ ।

यता डिभिजन सडक कार्यालयले तमैल बाहेक अन्य ठाउँमा भएको सडकको अवरोध हटाइसकेको र तमैल भिरको अवरोध पनि दुई दिन भित्र हटाउनका लागी रात दिन लागिरहेको बताएको छ । सडक खुलाउने काममा कामदार र थप उपकरणको समेत व्यवस्था गरेर काम भैरहेको डिभिजन सडक कार्यालयका प्रमुख ललिजन खनालले बताए ।

लामो समयसम्म सडक नखुल्दा जिल्लामा अभाव चुलिँदै गएको छ । जिल्ला अस्पताल लगायत गाउँ तिरका स्वास्थ्य संस्थाहरुमा पनि औषधिको अभाव हुन थालेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com